एसिया कपमा नेपाललाई जुरेको अवसर

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार श्रीलंका पुगिसकेको छ । बुधबार आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । सो खेललगत्तै नेपाली टोली श्रीलंकाका लागि प्रस्थान गरेको थियो । नेपालले भारतसँग भदौ १८ मा खेल्नेछ । खेल श्रीलंकाको क्यान्डीमा हुनेछ । यसअघि विश्व नम्बर १ टोली पाकिस्तानसँग खेल्दै नेपाली टोलीले धेरैको ध्यानाकर्षण गरिसकेको छ ।

नेपालले कुल स्कोर २५ रन छँदा पाकिस्तानका दुवै ओपनरलाई आउट गरिसकेको थियो । उक्त अवस्थामा बुधबार मुल्तान रंगशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर, नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन । पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुवातमै दुई विकेट हात पारेपछि त्यही रंगशालामा रहेका नेपाली समर्थक भने निकै उत्साहित देखिन्थे ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले मंगलबार भन्नुभएको थियो, ‘हामी पाकिस्तानभन्दा अनुभवबाहेक कुनै अर्थमा कम छैनौँ । भयो पनि त्यस्तै, पाकिस्तानको मुल्तानमा बुधबारदेखि सुरु भएको एसिया कपअन्तर्गत उद्घाटन खेल नेपालले पाकिस्तानसँग अनुभवकै कारण गुमाउन बाध्य हुनुप¥यो । आफ्नो पक्षमा खेलको परिणाम आउन नसके पनि नेपाली खेलाडीको प्रदर्शनबाट भने विश्वका सम्पूर्ण क्रिकेटप्रेमीको ध्यान नेपालतर्फ तानिएको छ । सायद नेपालको विजय यही नै हो ।

साहित्यकार, कलाकार तथा क्रिकेट प्रशंसक रमेश रञ्जनको प्रतिक्रिया छ, ‘बुधबार पाकिस्तानसितको खेल प्रदर्शनपछि नेपाली खेलाडी विश्वमा फरक ढंगले चिनिने अवसरको निर्माण भएको छ ।’ उहाँको भनाइ छ, ‘खेलमा जित र हार सामान्य प्रक्रिया हो । मूल कुरा हो समर्पण र कौशल, त्यो भने नेपालले सम्पूर्ण विश्वलाई देखाउन सफल भएको छ ।’

टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानको सुरुवात राम्रो थिएन । प्रारम्भमै चार विकेट गुमाउन पुगेको पाकिस्तानले सायद नेपालबाट यो अपेक्षा गरेको थिएन । त्यसो त खेल सुरु हुनुभन्दा पहिले, विश्वको पहिलो वरीयतामा रहेको क्रिकेट टोलीका कप्तान बाबर आजम जो स्वयं पनि खेलाडीको विश्व वरीयतामा पहिलो स्थानमा हुनुहुन्छ, उहाँले नेपाललाई कम आँक्न नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो । तर, स्कोर बोर्डमा ३० ओभरमा १३० रन र चार विकेटको क्षति देखिएला भन्ने पाकिस्तानी कप्तान आजमको अनुमान सायदै पनि थिएन ।

आफ्नो पहिलो वरीयता कायमै राख्नुपर्ने कप्तानको दायित्वबोधले हुन सक्छ आजमलाई उत्प्रेरित गर्‍यो । उहाँले झर्दै गएको पाकिस्तानी विकेटको क्रमलाई रोक्नुभयो र अन्ततः पाकिस्तानलाई निकै फराकिलो विजय दिलाउनुभयो । पूरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा विजयका लागि ३४३ रनको लक्ष्य प्रस्तुत गरेको पाकिस्तानका बलरको धारिलो प्रहारका कारण नै नेपालले निर्धारित सम्पूर्ण ओभरसम्म आफूलाई टिकाउन सकेन । र, नेपाल २३ ओभर चार बलमा कुल एक सय चार रनमा सीमित रहन पुग्यो ।

क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी अनिलनाथ ढुंगाना भन्नुहुन्छ, ‘नेपाली खेलाडीले प्राप्त गरेका अनेकौँ अवसरको लाभ लिन सकेनन् । केही क्याच छुटे भने केही खराब फिल्डिङका कारण स्कोर बोर्डमा पाकिस्तानको पक्षमा रनको संख्या थपिँदै गयो ।’ ढुंगानाको भनाइ छ, ‘प्रारम्भमा नेपालले महत्वपूर्ण सुरुवात गरेर आशा जगाए पनि पछिल्ला ओभरमा संयम गुमाएकोजस्तो देखियो । तर, यस खेलबाट नेपालले धेरै कुरा सिकेको हुनुपर्छ । अनुभव संगालेको हुनुपर्छ । अब आगामी खेलमा यही अनुभव र सिकाइलाई प्रयोग गर्न सक्नुपर्छ ।’

नेपालका लागि पहिलो विकेट करण केसीले लिँदा उहाँ सामाजिक सञ्जालमा छाउनुभएको थियो । उहाँले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिनुभयो । त्यतिबेला पाकिस्तानको कुल स्कोर मात्र २१ रन थियो । पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमायो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उहाँलाई कप्तान पौडेलले रन आउट गर्नुभयो । पाकिस्तानले २३ दशमलब चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटका रूपमा गुमायो । उहाँलाई सन्दीप लामिछानेको बलमा दीपेन्द्रसिंह ऐरीले रन आउट गराउनुभएको थियो ।

एसिया कपअन्तर्गतको पहिलो खेलमै स्टम्पमाथिका दुईवटा जोडदार प्रहार (रन आउट) नेपालले देखाएको उत्कृष्ट प्रदर्शन नै एक सशक्त नमुना थियो । तर, दुखद्, उत्कृष्टताको यो क्रम खेलको पूरै अवधिभरि रहन सकेन । जुन कुशलताका आधारमा स्टम्पमा प्रहार गरेर नेपालले दुईवटा विकेटको सफलता पाएको थियो, पछिल्ला ओभरमा नेपाली खेलाडीबाट फिल्डिङका सन्दर्भमा त्यस्तो कुशल प्रदर्शन हुन सकेन ।

पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमायो । उहाँलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराउनुभएको थियो । पाकिस्तानविरुद्ध नेपालले जित पनि निकाल्न सक्छ कि भन्ने सम्भावनातर्फ नेपाली क्रिकेटका प्रशंसक सोच्न थालिसकेका थिए । तर, नेपाली क्रिकेटप्रेमीको सपना पाकिस्तानी कप्तान बाबर र इफ्तिखार अहमदले चकनाचुर पारिदिनुभयो । दुवै खेलाडीले नेपालविरुद्ध शतक प्रहार गर्नुभयो । बाबरले आफ्नो उत्कृष्ट खेल प्रदर्शन जारी राख्नुभयो । एक सय तीन एकदिवसीय खेल खेल्नुभएका २८ वर्षीय कप्तान बाबरले बुधबार १३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा १५१ रन बनाउनुभयो । नेपालविरुद्धको शतकसँगै बाबरले हालसम्म पाँच हजार दुई सयभन्दा बढी रन बनाइसक्नुभएको छ । यस अवधिमा उहाँले पाकिस्तानका लागि २८ अर्धशतकसमेत प्रहार गरिसक्नुभएको छ ।

अनुभवको कमी देखिएको नेपाली टोलीको कमजोर फिल्डिङका कारण बाबरले पाकिस्तानलाई त विजयी बनाउनुभयो नै आफ्नो व्यक्तिगत कीर्तिमानी तथ्यांकमा पनि सुधार गर्नुभयो । १९औँ शतक, तेस्रो सबैभन्दा ठूलो रन र पाँचौँ विकेटका लागि इफ्तिखारसँगको ठूलो साझेदारी । बाबर र इफ्तिखारले पाँचौँ विकेटका लागि २१४ रनको साझेदारी निभाउनुभएको थियो । यही नै पाकिस्तानका लागि जितको बलियो आधार बन्यो । अर्कोतर्फ इफ्तिखारको पक्षमा पनि कीर्तिमान बन्यो-खेल जीवनकै पहिलो शतक । यस्तै, पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाउनुभयो ।

२८ ओभरसम्म संयमित भएर खेलेको नेपाल त्यसपछि भने खराब प्रदर्शन गर्न पुग्यो । नेपालले कमजोर बलिङ र फिल्डिङ गरेकै कारण पाकिस्तानले विशाल स्कोर बनाउन सकेको हो । बाबर वा इफ्तिखारमध्ये कुनै एकको पनि विकेट समयमै लिन सकेको भए नेपालले धेरै ठूलो रनको चुनौती पछ्याउनुपर्ने थिएन । बलिङ र फिल्डिङमात्र होइन नेपालले ब्याटिङतर्फ पनि आफ्नो विगतको खेल प्रदर्शनलाई कायम गर्न सकेन ।

नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिनुभयो । उहाँले कुशल भुर्तेल र कप्तान पौडेलको विकेट लिनुभयो । भुर्तेलले चार बल खेल्दै दुई चौका हिर्काउँदै आठ रन बनाउनुभयो । यस्तै, पौडेल रन नबनाइकन आउट हुनुभयो । यस्तै, नेपालले तेस्रो विकेटका रूपमा दोस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमायो । उहाँलाई नशिम शाहले आउट गर्नुभयो ।

क्रिकेट समीक्षकहरूका अनुसार नेपालले गल्तीबाट सिक्ने चेष्टा गरेन । फिल्डिङ त प्रभावकारी रहेन नै, बलिङ पनि परिणाममुखी हुन सकेन । त्यस्तै, ब्याटिङ क्रम पनि चल्न सकेको देखिएन । सोमपाल कामी (२८), आरिफ शेख (२६) र गुलसन झा (१३) बाहेक कसैले पनि दोहोरो अंकमा स्कोर बोर्डमा योगदान पु¥याउन सकेनन् ।

एसोसिएट राष्ट्रको हैसियतबाट पहिलोपटक खुड्किला उक्लिएको नेपालले एकैपटक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेष्ट क्रिकेटमा राम्रो अनुभव संगालिसकेका देशसँग खेल्न पाउनु अत्यन्तै महत्वपूर्ण उपलब्धि हो । यस आधारमा नेपालको पाकिस्तानसँगको पराजय धेरै बढी अनपेक्षित र अस्वाभाविक होइन । तर, यति धेरै अन्तरले पराजय बेहोर्नुपर्ने स्थिति पनि होइन । क्रिकेट समीक्षक विश्वमणि दाहाल भन्नुहुन्छ, ‘नेपाल सायद मनोवैज्ञानिक रूपमा पो कमजोर भयो कि ? सीप र क्षमताका आधारमा नेपाललाई कमजोर टोली मान्न सकिन्न ।’

नेपाली खोलाडीमा उत्साह त थियो तर त्यस उत्साहका भरमा आफ्नो पक्षमा परिणाम रूपान्तरण गर्न आवश्यक पर्ने अनुभवको कमी थियो । र, यही अनुभवजन्य सीपमा नेपाल पछि पर्दा पाकिस्तान विजयी भएको क्रिकेटका विश्लेषक बताउँछन् ।

नेपालले सन् २००२ मा भएको आइसिसी यू-१९ वल्र्डकपमा पाकिस्तानलाई पराजित गरेको थियो । नेपालले उक्त खेलमा पाकिस्तानलाई ३० रनले हराएको थियो । नेपालले त्यो बेला पाकिस्तानलाई हराएर विश्वमै सनसनी मच्चाएको थियो । त्यो खेललाई नेपाल र पाकिस्तानका खेलाडी सम्झिरहेका थिए । त्यसैले मंगलबार सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै पाकिस्तानका कप्तान बाबरले नेपालसितको खेललाई सहज रूपमा नलिने बताउनुभएको थियो ।

नेपालको विगतको प्रदर्शन सम्झिँदै कप्तान पौडेलले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभएको थियो । तर, खेल हो, जहाँ सधैँ जितैजित मात्र पनि हुँदैन । सधैँ पराजय मात्र पनि भोगिँदैन । अब नेपाल पाकिस्तानसितको खराब प्रदर्शनलाई बिर्सिदै भारतसितको खेलमा फेरि लयमा फर्किने योजनाका साथ मैदानमा उत्रिन चाहन्छ । र, पक्कै पनि नेपाली टोली आफ्ना प्रशंसकलाई निराश बनाउन चाहँदैन ।

क्रिकेटमा नेपालका तीनवटा सपना छन् । एउटा एसिया कप क्रिकेट, दोस्रो विश्वकप क्रिकेट प्रतियोगिता तथा तेस्रो टेष्ट राष्ट्रका रूपमा मान्यता प्राप्त गर्नु । बुधबार पाकिस्तानसित खेलेर नेपालले एसिया कप खेल्ने सपना पूरा गरेको छ । अब बाँकी दुई सपना पूरा गर्नबाट पनि नेपाल टाढा छैन । निकट भविष्यमै नेपाल ती दुवै लक्ष्य पूरा गर्ने बाटोमा अग्रसर भएर लागेको छ । भनिन्छ, लक्ष्य पछ्याउँदै गए एक न एक दिन पक्कै पूरा हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?