बुटवलका व्यवसायिक सटरको भाडादरसम्बन्धी मापदण्ड बनाउन व्यवसायीको सुझाव

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 7 mins

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यवसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यवसायिक सटरहरुको भाडादर अचाक्ली महंगो भएकोले भाडादरसम्बन्धी मापदण्ड बनाउन सुझाव दिएका छन् ।

उनीहरुले महंगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबैक्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै लगानी गरेका व्यवसायीहरु मर्कामा परेको उनीहरुले बताएका छन् ।
सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजनाहरु समयमै सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाईमा सडकमा आउन समेत तयार रहेको भन्दै संघ र प्रदेशका योजना समयमै सम्पन्न गर्नका लागि दबाबमूलक कार्यक्रम जरुरी रहेको बताए ।

यस्तै, सहकारी क्षेत्रमा बुटवल उपमहानगरपालिकामा दर्ता नभएका सहकारीहरुका कारण सहकारीमाा बेथिति देखिएको र त्यसको दोष सबै सहकारीकर्मीहरुले खेप्नुपरेको सहकारी क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

उनीहरुले बुटवलभित्रका सहकारीहरुलाई एउटै मापदण्डमा ल्याउन र एकरुपता गर्नका लागि समान व्याजदर कायम गर्ने र त्यसको नियमन, अनुगमन बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सुझाव दिए ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले आयोजित छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

उहाँले सहकारी क्षेत्रका समस्याहरु समाधानका लागि विज्ञहरुसमेतको सहभागितामा आवश्यक ऐनकानून बनाउने बताउनुभयो ।
उहाँले सहकारीहरुले आफ्ना सदस्यहरुको लगानी सुरक्षित गर्दै सामाजिक क्षेत्रमा समेत लगानी गर्न र सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गर्नुभयो । सहकारीहरुले सहकारीका सदस्यहरुभन्दा बाहिरका उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै बुटवललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले बुटवलको व्यवसायिक क्षेत्रका समस्याका बारेमा बुटवल उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै नै यसबारे आवश्यक निर्णय गर्ने बताउनुभयो ।

बुटवलको बजार विस्थापित हुन नदिन र थप चलायमान बनाउनका लागि नीतिगत तहमा र संघ तथा प्रदेशस्तरमा समेत छलफल गरेर आवश्यक कदम चाल्ने नगरप्रमुख पाण्डेयले बताउनुभयो ।
उहाँले बुटवललाई देशकै अगुवा शहर बनाउने उदेश्यका साथ आफुहरु अगाडि बढेको बताउँदै हरेक क्षेत्रको साथ र सहयोगले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।

चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।
यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?