माओवादीको विशेष रुपान्तरण अभियान भोलिदेखि शुरु, प्रचण्ड चन्द्रागिरी-२ को कार्यक्रममा सहभागी हुने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिवार(भोलि)देखि शुरु गर्ने भएको छ ।
माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी शनिवार नै दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्ने बताउनु भयो । अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रिय कमिटी सदस्यहरुलाई कार्यक्षेत्र तोकिसकेको छ । अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरु खटिइसकेको उहाँले बताउनु भयो ।

जस अनुसार अध्यक्ष पुष्पकमल दाहाल चन्द्रागिरी नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानुहुने भएको छ । उपाध्यक्षहरुमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसाल ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका ८ भोटेओडार लमजुङको जिम्मेवारी लिनुभएको छ भने उपमहासचिवहरु गिरीराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका ४ काठमाडौं, वर्षमान पुनले काठमाडौँ महानगरपालिका १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरी नगरपालिका वडा नं. २ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतको जिम्मेवारी लिनुभएको छ ।

त्यसैगरी सचिवहरुमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका १२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका २० कास्की, लिलामणि पोखरेललाई बर्दिवास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका १० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका ६ रुकुमपूर्व, हितराज पाण्डेलाई पालुङटार नगरपालिका ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्धशान्ति गाउँपालिका ४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरी नगरपालिका २ काठमाडौंको जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा त्यस्तै नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखिएको जनाइएको छ । अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?