ललितपुरको मतया दीप जात्रा

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ इन्द्रबहादुर शाक्य

प्राचीन कालमा काठमाडौं उपत्यका पानीको ताल भएको बेला यसलाई स्वयम्भू दहः भनिन्थ्यो । दहः(ताल)मा ज्योति पनि आइरहेको थियो । यो ताल हेर्न अथवा स्वयम्भू ज्योति दर्शन गर्न सत्य युगमा भगवान शिव पनि आएका थिए । उनले कहाँ बूढानीलकण्ठ, बाघद्वारमा बसेर दर्शन गरेका थिए । शिव बसेर दर्शन गरेको ठाउँलाई शिवपुरी पहाड भनिन्छ । यहाँ वर्षको एकचोटी नयाँ वर्ष वा वैशाख १ गते मेला लाग्दछ । शिवजीले एउटा ठूलो ढुंगामा बसेर स्वयम्भूको दर्शन गरेको हुनाले हरेक साता यहाँ यस ढुंगामा पूजा, दीप बाली पूजा गर्ने गरिन्छ । त्यस ठाउँबाट हेर्दा उपत्यका राम्रोसँग देखिन्छ ।

त्रेतायुगमा सीता माता आएर स्वयम्भू ज्योति दर्शन गरेको ठाउँ अथवा पाइला टेकेको डाँडालाई सीतापाइला डाँडा भन्ने गरिएको छ । यहाँ पनि वर्षको एक चोटी पूजा गरी पर्व मनाइन्छ । सरस्वती माताले आएर स्वयम्भू दहः ज्योति दर्शन र तर्पण गरेको ठाउँलाई सरस्वती कुण्ड भनिन्छ । यो ललितपुर जिल्ला लेले डाँडामा छ । त्यस ठाउँमा प्रत्येक वर्ष श्रीपञ्चमीको दिनमा मेला लाग्दछ ।

मञ्जुश्रीले स्वयम्भू दह ज्योति दर्शन गरेको ठाउँ साँखुको वज्रयोगिनी डाँडा हो । यो उपत्यकाको उत्तर भागमा पर्दछ । मञ्जुश्रीले यो स्वयम्भू दहः देवभूमि भएकोले यस ठाउँलाई बस्ती बसाल्ने उद्देश्यले यहाँको पानी सबै बाहिर पठाउने विचार गरी चारैतिरका डाँडा हेरेपछि होचो भएको सानो डाँडोबीचको भागलाई काटेर पानी बाहिर पठाएका थिए भन्ने किंबदन्ती छ । उनले भैंसीपाटी र चोभारको डाँडाबीचको भागलाई काटेर पानी बाहिर पठाएका थिए । यसलाई नेवारीमा न्हुसे काप भल्सी भनिन्छ । यो समय त्रेतायुगको अन्त र द्वापर युगको सुरुतिर हो भन्ने अनुमान रहेको छ ।

लिच्छवि काललाई सुवर्ण युग भनिन्छ । स्वयम्भू दहः भित्र उपत्यकामा तीन जिल्लामा जात्रा चाडपर्व चलिआइरहेका मध्ये ललितपुर जिल्लामा एउटा ‘मतया’ नाममा दीप पूजा जात्रा पनि लिच्छवि राजाले चलाएका हुन् । यो जात्रा अहिलेसम्म चलिआइरहेको छ ।

स्वयम्भू दहःको पानी बाहिर पठाएपछि यहाँ मानिसको बसोवास सुरु भयो । पहिला साँखु डाँडामा बस्ने मानिसहरू आए, पछि पूर्वपश्चिम उत्तर दक्षिण सबैतिरका मानिस आएर बसे । विभिन्न वर्गको मानिस आएर बस्ती बसाले । मन्जुश्रीले सबै वर्गको मानिसहरूलाई नियम पालन गरी काम र व्यवसाय गरी बस्नु भनेर आज्ञा दिनुभयो । यहाँ बस्ने सबै मानिस नियममा बसेर काम गर्न थाले । नियममा बस्ने मानिसहरूलाई नेपालीको संज्ञा दिनुभयो । नियम पालना गरेर बस्ने ठाउँ नेपाल भयो र नेमपाल शब्दबाट विस्तारै नेपाल भयो । पछि नेवार भनी नामकरण भयो ।

द्वापर युगमा मेपुु, सापुले शासन चलाएको थिए र पछि किराती राजाले चलाएको हो । किराती वंशका पहिलो राजा यलम्बर थिए । किराती छि लिच्छवि वंशले शासन चलाएको इतिहासमा उल्लेख । किराती राजा यलम्बरले राज्य गरेको बेला उनको नामबाट यल भन्ने नगर बनाए, त्यस्तै य भन्ने नगर पनि उनको नामबाट बनाइएको थियो । यलम्बर राजाले जनताको लागि धेरै काम गरेर जानुभएको थियो । यी राजा देखेर भगवान कृष्ण पनि डराउनु हुन्थ्यो । किरात राजासँग भएको तीन बज्र वाण अर्जुनले तपस्या गरी वरदान पाएर लिएका थिए । तीनवटा वाण वरदान दिइसकेपछि महाभारत सुरु भयो ।

कृष्णले किराती यलम्बरसँग सोधपुछ गरेर कुन पक्षमा बस्ने, महाभारतको लडाइ सुरु हुन लाग्यो भनी कुरा गर्दा यलम्बरले हारेको पक्ष (कौरव) को पक्षमा बस्दछु भनेर जवाफ दिएका थिए । उनको जवाफ आउने बित्तिकै कृष्णले उनको टाउको काटेर आकाशमा बसेर हेरिराख भनेका थिए । यलम्बरको शिर भनेको आकाश भैरब हो । अहिले इन्द्रचोकको आकाश भैरव मन्दिरमा उनको टाउको राखेको हो भनिन्छ ।
किरातीको पालामा पनि कृषि र कलाकृतिको विकास भएको थियो र किराती राजाले विहारहरू बनाएका थिए । किरातपछि लिच्छवि वंशले शासन गरे । लिच्छवी वंश भारतको वैशालीबाट शाक्य वंश कपिलवस्तुबाट र कोलिया वंश रामग्रामबाट स्वयम्भू दहः (उपत्यका) भित्र आएका हुन् । किरात वंशले जति विकास गरेको हो त्यसभन्दा धेरै कलाकृति, मन्दिर, विहार, पाटी पौवा, मठः र जात्रापर्वहरूको विकास लिच्छविहरूले गरेका थिए । जसले त्यसबेलाको आर्थिक अवस्था बलियो बनाएको थियो ।

त्यसैले लिच्छविको समयलाई सुवर्ण युग भनिन्छ । स्वयम्भू दहः भित्र उपत्यकामा तीन जिल्लामा जात्रा चाडपर्व चलिआइरहेका मध्ये ललितपुर जिल्लामा एउटा ‘मतया’ नाममा दीप पूजा जात्रा पर्व पनि लिच्छवि राजाले चलाएका हुन् । यो जात्रा अहिलेसम्म चलिआइरहेको छ । यो १९०० वर्षअघिदेखि चलिआइराखेको छ । विभिन्न विद्वानहरूको भनाइनुसार वैशालीका लिच्छवी वंश राजाको तेइस पुस्तापछि प्रथम जयदेव उपत्यकाका राजा भएदेखि चलिआएको हो भन्ने गरिएको छ ।

मतया पर्व गाईजात्राको भोलिपल्ट मनाइन्छ । यस तिथिमा दीप बालेर पूजा गरेमा चिताएको काम पूरा हुन्छ, दुःखबाट सुख मिल्छ, अँध्यारोबाट उज्यालो मिल्दछ, काममा सफल भइन्छ भन्ने मान्यता राख्नुका साथै स्वर्गवास भएका व्यक्तिले राम्रो ठाउँमा जन्म लिन सकून् भने कामना गरिन्छ । 

लिच्छवी राजाहरूले ‘मतया’ किन चलाए ? नेपाल देशको उत्तर हिमाल पहाडमुनि एउटा शशिपटन भन्ने नगरमा राजा सिंहकेतुले शासन गरिराखेका थिए । सिंहकेतुकी श्रीमती महारानी सुलक्षणादेवी थिइन् । दुवै धर्मात्मा थिए तर राजा चाहिँ मासु नभई खाना खाँदैनथे ।
राजारानीको मृत्यु भयो । राजा एउटा ब्राहृमणको घरमा भैंसी भएर जन्मिए । रानीले पनि त्यही घरमा ब्राहृमणकी छोरी भएर जन्म लिइन् । उनको नाम रूपवती थियो । छोरी ठूली भएपछि उनले विचार गरिन् । पूर्वजन्म अनुसार रानी (छोरी) ले पहिलेको लोग्ने पाउनुपर्ने, कहाँ छ, थाहा भएन । धर्मात्मा रूपवतीको स्मरण शक्तिअनुसार उनको श्रीमान् आफ्नै घरमा भैंसी भएर जन्मिएको थाहा पाइन् । भैंसीलाई आफ्नै लोग्ने सम्झेर स्याहार सुसार गरिन् ।

एकदिन भैंसी जंगलमा चर्न गयो र भीरबाट खसेर मर्‍यो । त्यस भैंसीको मासु सबै जनावरहरूले खाए, हड्डी र सिङमात्र बाँकी भयो । भैंसी घर नआएको देखेर रूपवती भैंसीलाई खोज्न जंगलतिर लागिन् तर कही देखिनन् र पछि नदीको किनारमा भैंसी मरेको देखिन् । उनले राम्रोसँग हेरिन् तर चिन्न सकिनन् । पछि भैंसीको सिंङ राम्ररी हेरेर सिङबाट पहिचान गरिन् । मरेको भैंसीका हड्डी सबै जम्मा गरी बालुवाले छोपी एउटा चैत्य बनाइन् । एउटा सिङको गजुर बनाई बाँकी अर्को सिंगबाट नदीको पानी ल्याएर सफा गरी पूजा गरिन् ।

त्यो पानी ल्याएको सिङलाई प्वाल पारी बाजा बनाई फुकेर रूपवतीले आफ्नो स्वामी समक्ष दिनदिनै दीप बाली पूजा गरिन् । उनको भक्तिभाव र त्याग तपस्याबाट उनको लोग्नेको पुनर्जन्म भयो । उनीहरूको पुनर्मिलन भयो र उनीहरूले सुखका साथ जीवन बिताए । त्यो कथा सुनेर लिच्छवी राजाले पनि आफ्ना स्वर्गवास भएका सन्तानहरूको सम्झनामा बुद्धको चैत्य बनाएर दीप बालेर पूजा गर्ने परम्परा चलाए । चैत्य र स्तुपा सिद्धार्थ गौतम शाक्य (बुद्ध) को पालामा प्रदुर्भाव भएको होइन । त्यसअगाडिदेखि चलन थियो ।

यो मतया पर्व गाईजात्राको भोलिपल्ट मनाइन्छ । यो तिथिमा दीप बालेर पूजा गरेमा चिताएको काम पूरा हुन्छ । दुःखबाट सुख मिल्छ । अँध्यारोबाट उज्यालो मिल्दछ । काममा सफल भइन्छ । स्वगवास भएका व्यक्तिले राम्रो ठाउँमा जन्म लिन सकोस् भने कामना गरिन्छ । यो दीप पूजा चलाउन १० स्थान अथवा टोललाई जिम्मा दिएको थियो । यो अहिलेसम्म पनि लिच्छविका सन्तानहरूले मिलेर आलो पालो गरी यो मतया पर्वको राम्रोसँग जगेर्ना गर्दै आइरहेका छन् ।

ती १० स्थानमा १) मंगल (मंगलबजार), २) सौगल, ३) नुग (सुन्धारा), ४) चक्रबहिल, ५) हौगल, ६) इखालखु, ७) गावहाल, ८) नकबहिल, ९) कोवहाल, १०) इखाछें पर्दछन् । यस दिन संगीतको पनि प्रदर्शनी हुन्छ । नौ बाजा बजाएर गीत गाउने गर्दछन् । यो जात्रा संसारमा कहि पनि छैन र यस्ता बाजा बजाउने चलन पनि अरू ठाउँमा छैन । यो ललितपुरको गौरव हो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
nepal tht center
nepal tht center
2023-09-06 7:30 am

यस्मा विशेष अद्द्यन गरेर या प्रमान सहित को लेख लाई मात्र मान्यता दिनु हुन अनुरोध छ ।महादेव ले स्वयम्भू ज्योती रुप दर्सन गरेको कुन स्लोक अनि कुन पुरान मा उल्लेख छ ।त्यो पनि लेखी दिनु होला ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?