सडकको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा

फाइल तस्बिर

रासस
Read Time = 4 mins

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरा सँग जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे-सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

मर्दी हिमाल पदयात्रामार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले बन्द हुँदा स्थानीयसहित पर्यटकले समेत सास्ती व्यर्होनुपरेको हो । पहिराले माछापुच्छे्र गाउँपालिका-८ र ९ दुई वडाका नागरिक प्रभावित बनेका हुन् । यी दुई वडा यहाँका पर्यटकीय क्षेत्रसमेत हुन् ।

लुम्रे-सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो । ठूला ढुङ्गासहित माथिबाट खसेको पहिराले सडक पूर्णरूपमा बन्द भएको छ । माछापुच्छ्रे-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जेसिबी लगाएर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि सफल नभएको बताउनुभयो । सो पहिरो पन्छाउन ठूलो चेनवाला मेसिन चाहिने भएको र गाउँमा उपलब्ध नभएकाले बाटो खुलाउन समय लागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूला-ठूला ढुङ्गा खसेर सडक अहिले पूरै बन्द छ । खुलाउने प्रयास गरेका थियौँ तर जेसिबीबाट पन्छाउन सम्भव भएन । पोखराबाट ठूलो मेसिन लिएर गएर सडक खुलाउनुको विकल्प छैन ।” सडकको पहिरोमात्र पन्छाउनका लागि गाउँपालिकाले रु ७५ हजार लागत अनुमान गरेको छ । तर गाउँमा ठूलो मेसिन उपलब्ध नहुँदा बजारबाट लैजानुपर्ने बाध्यता रहेकाले लागत बढ्ने अनुमान गरिएको छ ।

“पोखराबाट ठूलो मेसिन गाडीमा राखेर ल्याउन/लैजानमात्र भाडा रु एक लाख हाराहारी लाग्छ । लागत अनुमानमा त्यो रकम समावेश छैन । त्यसैले बजेट अभावमा समेत पहिरो पन्छाउन ढिलाइ भएको हो”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

पहिराले घलेल, कालिमाटी र सिदिङका स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका छन् । स्थानीयवासीसहित मर्दी पदयात्रामा जाने केही पर्यटकले समेत बाटोका कारण दुःख पाएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले पदयात्रा पर्यटनको अहिले ‘अफसिजन’ रहेकाले पर्यटक आगमन न्यून रहेको बताउनुभयो । पर्यटकलाई दुःख नहोस् भनेर सैँतीघट्ट हुँदै जाने/आउने व्यवस्था गरिएको र सोहीअनुसार सूचना गरिएको उहाँले जानकारी दिनुभयो ।

सो स्थानमा यसअघि पनि पहिराले दुःख दिने गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा रु १० लाख लागतमा पहिरो नियन्त्रणको काम गरिए पनि यस वर्षको पहिराले क्षति पुर्‍याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?