माओवादी केन्द्रीय समिति बैठक : मंसिरमा विधान महाधिवेशन प्रस्ताव, तीन महिनासम्म पार्टी अभियान चलाउने

माओवादी केन्द्र पार्टीजस्तो नभएको अध्यक्षको टिप्पणी

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमा पार्टीको विधान महाधिवेशन पेस गर्न प्रस्ताव गर्नुभएको छ । बुधबारदेखि सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मंसिरमा विधान महाधिवेशन र त्यसको तीन महिनापछि विशेष महाधिवेशनको प्रस्ताव गर्नुभएको हो । राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा छलफलका लागि पाँचवटा एजेण्डा प्रस्तुत गरिएको छ । जसमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्मेलन, अभियान सञ्चालन, पार्टी सदस्यता बढाउने रहेका छन् । एक वर्षपछि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र पार्टीका १० प्रदेश पदाधिकारी एक सय गरी ७५८ जनाको सहभागिता छ ।

बैठकको उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीजस्तो नभएको टिप्पणी गर्नुभएको छ । केन्द्रीय कमिटीको चौथो बैठकमा सुरुवाती सम्बोधन गर्नुभएका प्रचण्डले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गर्दै भन्नुभयो, ‘मैले हाम्रो पार्टीको सन्दर्भमा विगतमा बेला मौकामा भन्ने गरेको छु, हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति त छ तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन । यसलाई साँचो अर्थमा एउटा कम्युनिष्ट पार्टी निर्माण, पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नुछ ।’ अध्यक्ष प्रचण्डले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय कमिटी बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । उहाँले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षासमेत गरेको बताउनुभयो ।

‘जनतामा सरकारप्रति आशा बढेको दाबी’
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले जनतामा सरकारप्रति आशा बढेको दाबी गर्नुभएको छ । मुलुकको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको उहाँको भनाइ छ । आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमी र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी देशको राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा छौँ । अहिले देशको राजनीतिक जुन विन्दुमा छ, र जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे जस्ता आशा र अपेक्षाहरू राखेका छन्, त्यसलाई हाम्रो पार्टीको नेतृत्वको सरकारले व्यवहारमा लागू गर्ने प्रयास गरिरहेको छ । पछिल्लो समय हाम्रो पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि सरकारका काम कारबाहीबाट जनतामा नयाँ आशा पलाएको छ । जनतामा सरकारप्रतिको भरोसा र विश्वास बढेको छ ।’

‘नेपालमा भूराजनीतिक प्रभाव पर्ने संकेत’
प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय र क्षेत्रीय ध्रुवीकरणको भूराजनीतिक प्रभाव नेपालमा पर्न थालेको बताउनुभएको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गरेर लानुपर्ने चुनौती खडा भएको उल्लेख गर्दै भन्नुभयो, ‘अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रक्रिया देखापरेका छन्, युद्ध र द्वन्द्व, प्रतिस्पर्धा र द्वन्द्वका सिलसिला नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ । अगाडिका दिनमा अझ बढी पर्ने संकेत प्रष्ट देखिएका छन् । त्यस्तो स्थितिमा राष्ट्रियतालाई सुदृढ गर्नका लागि केन्द्रीय समितिको बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नु पर्नेछ ।’

भ्रष्टाचारविरोधी र सुशासनको अभियान नछोड्ने स्पष्टोक्ति
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको तर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको ब्रिफिङ पार्टीको केन्द्रीय कमिटी बैठकमा गर्नुभएको छ । जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले भन्नुभयो, ‘गठबन्धन बलियो हुँदै गएको छ । सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।’ अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताउनुभएको छ । सरकारले भ्रष्टाचारविरोधी र सुशासनको अभियान चलाइरहेकाले र यो अभियान नरोकिने उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न । छोड्न परे तयार छौँ, तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न,रोकिन्न ।’

यस्तै, बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेस गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि तीन महिनासम्म संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । अध्यक्ष प्रचण्डले पेस गर्नुभएको सांगठानिक प्रतिवेदनमा भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने उल्लेख छ । त्यसपछि विधान सम्मेलन गर्ने र विधान सम्मेलनपछि पनि फेरि तीन महिने अभियान चलाएर विशेष महाधिवेशनको तयारी गर्ने प्रतिवेदनमा उल्लेख छ । अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरूले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ । उक्त समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डको प्रस्तावमा उल्लेख छ । प्रस्तावमा माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने रहेको छ । यसैबीच, अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले असहमति जनाउँदै बिहीबारको बैठकमा फरक मत राख्ने तयारी गर्नुभएको छ ।

नेताहरूको कार्यविभाजन प्रस्ताव
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक सांगठानिक प्रतिवेदनमा केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । कार्यविभाजन प्रस्तावबारे जानकारी दिँदै नेता गणेश शाहले भन्नुभयो, ‘पार्टी केन्द्रीय अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको कार्यविभाजनको मोडालिटी प्रस्तावमा छ । पार्टी अध्यक्षले समग्र पार्टीको हेण्डलिङ गर्ने भनिएको छ ।’ त्यस्तै, उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी दिने,महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरूलाई प्रदेशको समन्वय गर्ने गरी प्रस्ताव गरिएको छ । साथै, केन्द्रीय सदस्यहरूलाई केन्द्रदेखि वडातहसम्म समन्वय गर्ने र पार्टी संगठन सुदृढ गर्ने उल्लेख छ ।

केन्द्रीय सदस्यको संख्या ४०९ पुग्यो
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन् । जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा महिला प्रतिनिधित्व र छुटेका नेता समेट्न विधान संशोधन गर्ने निर्णय गरेको हो । यसअघि, बुधबार बसेको पार्टी पदाधिकारी बैठकले विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

डा. बाबुरामका तीन दस्ताबेज छलफलमा
बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सहभागी केन्द्रीय सदस्यहरूबीच पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईको दस्ताबेज वितरण भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा सहभागी सदस्यहरूलाई नेपाल समाजवादी पार्टीको सचिवालयबाट डा.बाबुरामको दस्ताबेज इमेलमार्फत छलफलका लागि पठाइएको हो । माओवादी बैठकमा छलफलका लागि भनेर पठाइएको डा.बाबुरामको दस्ताबेज इमेलमा प्राप्त भएको केन्द्रीय सदस्यहरूले बताएका छन् । अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न डा.भट्टराईले माओवादी नेताहरूलाई आग्रह गर्नुभएको छ । माओवादी आन्दोलन कहाँ चुक्यो ? भन्ने विषयमा पनि बाबुरामले दस्ताबेजमा उल्लेख गर्नुभएको छ ।

साढे सात लाख पार्टी सदस्य रहेको दाबी
नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या सात लाख ५२ हजार ९५६ रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गर्नुभएको हो । अध्यक्ष प्रचण्डका अनुसार माओवादीका सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा छन् । बागमतीमा एक लाख ४७ हजार ३५३, मधेशमा एक लाख १६ हजार ९७५, लुम्बिनीमा एक लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ । त्यस्तै, सम्पर्क कमिटीहरूमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा पाँच हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

केही गर्न सकिन्छ भन्ने सन्देश लिएर वडा-वडामा जान्छौँ : पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारबाट भएका केही कामहरू देखाएर केही गर्न सकिन्छ भन्ने सन्देश दिन जनतामाझ पुग्न लागेको बताउनुभएको छ । सरकारले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन, ललितानिवास प्रकरण, सुन तस्करीका घटनालाई छानविन गर्नेलगायत महत्वपूर्ण काम गरेको उल्लेख गर्दै पुनले भन्नुभयो, ‘सरकारले, नेतृत्वले केही काम गर्छ भन्ने संकेत देखिएका छन् । सकिन्छ, सम्भव छ, दलहरू सच्चिएर, परीक्षणमा बस्न तयार छ, माओवादी केन्द्र तयार छ भन्ने सन्देश लिएर, जनताका आलोचना र सुझावहरू सुन्छौँ ।’

नेताहरूको सम्पत्ति छानविन गर्न माग
बैठकमा नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने माग उठेको छ । पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरिसकेपछि बोल्न सुरु गरेका केन्द्रीय सदस्यहरूले माओवादीकै नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने माग गरेका हुन् । पहिलो दिन बुधबार बोलेका १८ जनामध्ये अधिकांशले पार्टी नेतृत्व भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै सबै नेताहरूको सम्पत्ति खोज्नुपर्ने माग उठाएका छन् । सरकारसहित विभिन्न सार्वजनिक लाभका पदमा अवसर पाएका नेताहरू पुँजीवादी जस्ता भएकाले उनीहरूको सम्पत्ति छानविन हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका छन् । केन्द्रीय सदस्यहरूले भ्रष्टाचारविरुद्ध पार्टीबाटै शुद्धीकरण अभियान थाल्नुपर्नेमा जोड दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?