पौवादुङमा गाउँपालिकामा गोल्डकप फुटवल तथा माघी मेला हुने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा आगामी माघ एक गतेबाट पौवादुङमा गोल्डकप फुटवल तथा माघी मेला आयोजना गरिएको छ ।

पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद क्षेत्रको बिकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक गोल्डकप फुटवल प्रतियोगिता आयोजना गरिएको हो । गाउँपालिकाको केन्द्र वडा नम्वर तीनमा रहेको रंगशालामा हुने प्रतियोगिता अन्तर्गत पुरुष तर्फको बिजेता टिमले नगद तीन लाख र उपबिजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै महिला तर्फको बिजेता टिमले नगद ६० हजार र उपबिजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । अध्यक्ष आलेका अनुसार प्रतियोगितामा पुरुष तर्फ आयोजकसहित १६ टिम र महिला तर्फ आयोजकसहित आठ टिमले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनही पाँच हजारका साथमा ट्रफी र उत्कृष्ट खेलाडीले नगद १५ हजार साथमा ट्रफी पाउने आयोजक समितिका सचिव देउमान राईले बुधवार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

प्रतियोगिता तथा मेलाले पालिकाको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले पौवादुङमा गोल्डकप सञ्चालन गर्न लागेका हौ ।” अध्यक्ष राईले भन्नुभयो ।

मेलामा गाउँपलिकाले रेडिमेड खानाहरुलाई निरुत्साहित तथा विक्री वितरणमा रोक लगाउदै स्थानीय स्तरमा उत्पादन भएका परिकारलाई प्रोत्साहन तथा पवर्द्धन गर्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो ।

गाउँपालिकाको केन्द्रमा नै पुरुष तथा महिला गोल्डकप फुटवल र माघी मेला हुने भए पछि स्थानीयमा समेत उत्साह थपिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?