इलाममा पनि मनाइयो रोपाइँ जात्रा

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । परम्परागत रुपमा निकालिदै आएको रोपाई जात्रा आइतबार इलाममा भव्यताका साथ निकालिएको छ । रोपाई जात्राको कारण बजारमा बिहानैदेखि चहलपहल बढेको थियो । इलाममा नेवारको बसोबाससँगै थालिएको यो चलन हेर्न इलाम जिल्ला र बाहिरबाट पनि इलामा बजारमा धेरै मानिसहरु सहभागी भएका थिए ।

पञ्चेबाजाको मधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर नेपाल भाषा तथा संस्कृति समाजले यसपल्ट मनाएको रोपाईजात्रामा सैयौं मानिसहरु इलाम सदरमुकाम आएका थिए । अघि–अघि गोरु, हली र बाउसे अनि पछि–पछि रोपाहारले धान रोपेझैं रोपाईको झल्को दिने रोपाई जात्रामा दुई सय भन्दा बढीले रोपाईको अभिनय गरेका थिए । परम्परागत रुपमा युवकहरु युवतीको भेषमा रोपाइँ गर्ने चलन भएपनि एक दशक यता युवक युवतीहरु समान रुपमा रोपाईमा सहभागी हुँदै आएका छन् । विगतका वर्षहरुमा लिम्बु समूदायका युवाहरु रातभर धान नाच्ने चलन भएपनि द्वन्द्वकाल यता सो चलन पनि मासिएको छ ।

जमिन्दारले बेठी लगाएर पञ्चेबाजाको धुनमा रोपाईं गर्ने पूरानो चलनको सिको गरी राणाकालदेखि सदरमुकाममा रोपाई जात्रा मनाउन थालिएको इतिहास छ । खेतमा छमछम रोपाई गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाको भेषमा पुरुषले धान रोपेको अभिनय नियाल्न मानिसहरु धुइरिने गर्छन् ।

हातमा धानको बिउ बोकेर, बेठी बाजाको तालमा नाच्दै सदरमुकामको मालापथ, इलाम चोक, नविन चोक, चियाबारी, बसपार्क हुँदै टुँडिखेलसम्म र त्यहाँ देखि पुनः फर्काएर प्रकाशपथ हुँदै नारायणस्थानसम्म झाँकी घुमाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?