पाल्पामा एमालेको विरासत भत्काउन कांग्रेस गठबन्धनको कसरत

Read Time = 6 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । पाल्पामा कांग्रेससहितको गठबन्धन एमालेको एकछत्र राज तोड्ने कसरतमा अगाडि बढेको छ । २०४७ यता पाल्पामा नेतृत्व तहमा एमालेको हालीमुहाली हुँदै आएको छ । २०४८ सालमा भएको संघीय निर्वाचनमा तीनवटै सिटका साथै नगर प्रमुख र जिल्ला विकास समिति आफ्नो वर्चस्व राखेको नेपाली कांग्रेसले २०७४ सम्मका संघीय र स्थानीय निर्वाचनमा आफ्नो शाख गुमाएको थियो । एमालेको विरासत भत्काउँदै कांग्रेसले आफ्नो शाख फर्काउन गठबन्धनको साथ लिएर चुनावी मैदानमा उत्रिएको छ ।

यहाँका दलहरूले विगतका नारालाई नै निरन्तरता दिएका छन् । सत्ता गठबन्धन दल नेपाली कांग्रेसले केही नयाँ योजना ल्याए पनि अधिकांश पुरानै छन् । एमालेले पनि उही पुरानै योजना र कार्यक्रमलाई प्राथमिकता दिएको छ । नेपाली कांग्रेसले शिक्षा, स्वास्थ्य र पर्यटनको पहिचान बोकेको पाल्पालाई नमुना जिल्ला बनाउने योजनाका साथ अगाडि बढेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठ बताउनुहन्छ ।

स्थानीय तहको निर्वाचनका लागि पाल्पाका १० पालिकामध्ये ६ प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस, दुई प्रमुख र उपप्रमुखमा नेकपा माओवादी, दुई प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले सिटको भागबण्डा गरी उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । गठबन्धनले २०७४ सालमा जितेका वडाहरू सोही पार्टीलाई, एमालेले जितेका स्थानमा दोस्रो स्थानमा रहेको पार्टीलाई दिने गरी भागबण्डा मिलाएका छन् ।

गठबन्धनका कारण भागबण्डा मिलाउँदा केही पालिकाहरूमा नेपाली कांग्रेसका नेताहरूले असन्तुष्ट जनाएका छन् । लामो समय पार्टीमा योगदान पुर्‍याएका केही नेताहरूले पार्टीले आफूहरूलाई पाखा लगाउँदै नयाँ व्यक्तिलाई टिकट दिएको भन्दै स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेका केही व्यक्तिहरूले पनि पार्टीमा असन्तुष्ट जनाउँदै पालिका प्रमुखदेखि वडा सदस्यसम्म स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले पाल्पाले स्वास्थ्य, शिक्षा, पर्यटन तथा कृषि पशु रोजगारीमा केन्द्रित गर्दैै घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य सडक, खानेपानीलगायत जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयहरू निर्वाचित जनप्रतिनिधिहरूले सम्बोधन गर्ने नेकपा एमालेका युवा नेता ठाकुर गैरेले बताउनुभयो ।

आगामी स्थानीय निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता भए तापनि पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ । वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता गरेपछि राजनीतिक दलहरू प्रचार-प्रसारका लागि पालिकादेखि वडा-वडामा घरदैलो अभियानमा जुटेका छन् । मतदातालाई रिझाउनका लागि यहाँका राजनीतिक दलहरूले विगतमा जस्तै यसपटक पनि घोषणापत्रलाई निरन्तरता दिएका छन् । तर, विगतमा निर्वाचन जितेका दलहरूले घोषणापत्रअनुसार काम नगर्दा मतदाता भने असन्तुष्ट छन् ।

पाल्पामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकाको ८१ वडामा ४२५ जना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिका लागि एक हजार १३३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा १० पालिकाको ६ वटा प्रमुख र सातवटा उप-प्रमुखमा नेकपा एमाले, चार प्रमुख, तीन उप-प्रमुखमा नेपाली कांग्रेस, ८१ वडामध्ये, ४१ वटा वडामा नेकपा एमाले, ३६ वडामा नेपाली कांग्रेस र चार वडामा नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । यहाँका नौवटा स्थानीय तहमा सत्ता गठबन्धनले आ-आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् भने तानसेन नगरपालिकामा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले कांग्रेसको निर्वाचन चिन्हमा रूखबाट उम्मेदवारी दिएका छन् । एक लाख ९९ हजार ६९० जना मतदाता रहेको पाल्पामा ११८ मतदानस्थल र २४७ मतदान केन्द्र रहेका छन् ।

मतदाताहरू स्थानीय तहको पहिलो निर्वाचनमा जति उत्साहित देखिएका थिए, अहिले भने त्यो उत्साह जिल्लामा देखिँदैन । निर्वाचनका बेला मात्र दलहरूले आश्वासन दिने तर पूरा नगर्ने प्रवृत्तिका कारण यहाँका मतदाताहरू अहिलेको चुनावमा उत्साहित नदेखिएका हुन् । मतदाताहरू उत्साहित नदेखिए पनि दलहरू भने आफ्नो पक्षमा मत बढाउन लागिपरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?