विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रंगशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

लगातार तेस्रो जितका साथ नेपाल समूह ‘ए’को शीर्षस्थानमा उक्लिएको छ । यससँगै छ अंक जोडेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३ दशमलब दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भुटानका लागि अञ्जली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो ।

भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिनुभयो भने कविता कुँवर, खुसी डंगोल र रुविना क्षेत्रीले समान एक-एक विकेट झार्नुभयो ।

नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपाल तीन खेलमा शीर्षस्थानमा छ । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुईमध्ये एक खेलमा जिते सेमिफाइनल पुग्न पर्याप्त हुनेछ । दुवै खेलमा पराजित भए पनि नेट रनरेटको सम्भावना रहन्छ । युएई दुई खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै, समूह ‘बी’मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?