सहकारीलाई स्वनियममा चल्न निर्देशन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियममा रहनुपर्ने बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले सदस्यको हित अभिवृद्धि गर्नु सहकारीको दायित्व भएको बताउनुभयो ।

शहरी क्षेत्रमा रहेका केही संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तविपरीत काम गर्दा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । ३२ हजार सहकारीमध्ये एक–दुई प्रतिशत संस्थामा समस्या उत्पन्न भए पनि आमजनमानसमा सहकारीप्रतिको बुझाइ र विश्वसनीयतामा गम्भीर विचलन आएको भन्दै सचिव दुवाडीले मुलुक संघीय संरचनामा गएसँगै कार्यक्षेत्रका आधारमा सहकारीहरू स्थानीय र प्रदेशमा हस्तान्तरण भए पनि संरचनागत व्यवस्था नहुँदा प्रभावकारी नियमन हुन नसकेको बताउनुभयो । सहकारी अभियानले सही बाटो समातेन भने राज्य चुप लागेर नबस्ने उहाँको चेतावनी थियो ।

सहकारी क्षेत्रको समस्या समाधानका लागि कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै जाने पनि उहाँले बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले जनताको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै सहकारी मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका केही सहकारीका कारण सिंगो अभियानमाथि नै विश्वसनीयताको प्रश्नचिहृन खडा भएको बताउनुभयो । सदस्यको बचत अपचलन गर्ने सहकारीलाई जोगाउनुपर्छ भन्ने पक्षमा महासंघ नरहेको उहाँको भनाइ थियो । कार्यदलले दिएका सुझाव कार्यान्वयन गराउन अभियानतर्फबाट प्रधानमन्त्री र मुख्यसचिवलाई समेत भेटेको अध्यक्ष कँडेलले बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफस्कुन)का अध्यक्ष परितोष पौड्यालले राज्यले सहकारी ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न नसकेकाले समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बचत तथा ऋण र उत्पादन तथा सेवामूलक सहकारीलाई नछुट्याउँदासम्म सहकारी क्षेत्रको समस्या समाधान हुँदैन । वित्तीय सहकारीलाई प्रभावकारी नियमन आवश्यक पर्छ भने अन्य सहकारीलाई राज्यले प्रवद्र्धन, अनुदान र सहुलियत दिनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?