गुल्मीमा ‘दियो’ सिनेमा हल सञ्चालनमा ल्याउने तयारी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा पहिलो पटक ‘डिजिटल डल्बी साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित सिनेमा हल सञ्चालनमा आउने भएको छ । यस अघि सञ्चालनमा रहेको सिनेमा बन्द भएको आठ वर्ष पछि ‘दियो’ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

सञ्चालक श्रेष्ठका अनुसार यस जिल्लामा सिनेमा क्षेत्रमा अत्याधुनिक प्रविधि र सुविधालाई एकै ठाउँमा ल्याउन करिब एक करोड लगानी गरिएको छ । लक्जरी सिट सहितका १०४ जना क्षमताको हल निर्माण गरिएको छ । सम्भवतः भदौको तेस्रो साता बिहीबार देखि हल सञ्चालनमा ल्याइने तयारी थालिएको हो ।

सदरमुकाम तम्घासमा यस अघि सञ्चालनमा रहेको शिवशक्ति चलचित्र मन्दिर बन्द भएको ८ वर्ष पछि पुनः निजि लगानीमा अत्याधुनिक सुविधा सहित सिनेमा हल सञ्चालमा ल्याउन लागिएको उहाँले बताउनुभयो । पहिले बन्द रहेको सिनेमा हलमा करिब १ करोड लगानी थप गरी अहिले अत्याधुनिक सिनेमा हल निर्माणको तयारी अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सिनेमा हलभित्र उच्चस्तरको डिजिटल साउण्ड, अत्याधुनिक फोरके लेजर प्रोक्जेसन, सिलभर स्क्रिन, लक्जी एस सलाइडिङ चियर जडान गरिएको छ । सिनेमा हलभित्र आफ्नै चमेनागृहको समेत व्यवस्था मिलाइएको छ । दिनमा पहिलो चरणमा दुई सो देखाइने छ । भने दर्शकहरुको माग अनुसार सो बढाइनेछ । सिनेमा हलमा नेपाली तथा विदेशी चलचित्र प्रर्दशन गरिनेछ ।

गुल्मी जिल्लामा वि. सं. २०४७ मा प्रथम पटक तम्घासको बाख्रेछेडामा पशुपति चलचित्र मन्दिर सञ्चालनमा ल्याइएको थियो । त्यो चलचित्र मन्दिर पछि वि.सं. २०६२ तिर बन्द भएको थियो । तम्घासकाे पुतलीबजारमा २०५३ सालमा शिवशक्ति चलचित्र मन्दिर सञ्चालमा ल्याइएको थियो । पछि आधुनिक प्रविधि युटुबको प्रयोगसँगै, तत्कालिन समयमा गरिएका नेपाल बन्द, हाम हड्ताल जस्ता गतिविधिहरुका कारण त्यो चलचित्र मन्दिर २०७२ सालमा आएर बन्द भएको थियो ।

त्यसपश्चात् तम्घासमा कुनै पनि सिनेमा हल सञ्चालमा रहेका थिएनन् । अहिले पुरानो सिनेमा हल शिवशशिक्त चलचित्र मन्दिर भएको स्थानमा नयाँ प्रविधिको प्रयोगसँगै नयाँ व्यवस्थापनका साथ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । यो सिनेमा हल सञ्चालमा आए पाँच जना भन्दा बढीले प्रत्यक्ष रोजगार समेत प्राप्त गर्नेछन् ।

सिनेमा हललाई दिगो रुपमा सञ्चालनका लागि आफुहरु लागिपरेको उहाँको भनाई छ । पाँच करोड भन्दा बढी मुल्य रहेको पुरानो सिनेमा हललाई थप व्यवस्थापन गरी अत्याधुनिक बनाउन पछिल्लो पटक झण्डै एक करोड लगानी गरिएको सञ्चालक बद्रीप्रकाश श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?