मुगुमा कांग्रेसले फर्कायो विरासत

हिमालय टाइम्स
Read Time = 3 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । हिमाली जिल्ला मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांगे्रसका उम्मेदवार ऐनबहादुर शाही फराकिलो मतान्तरले विपक्ष एमाले उम्मेदवारलाई पछि पादै विजयी हुनुभएको छ । शाहीले एमाले उम्मेदवार राजबहादुर कार्की (राजु) भन्दा तीन हजार ९९४ मत बढी ल्याएर विजय हुनुभएको हो ।

कुल १४ हजार ७०७ मत ल्याएर शाही विजयी हुँदा निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार कार्कीले १० हजार ७०८ मत ल्याउनुभएको थियो । प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको मुगुमा ३५ हजार ४८५ मतदाता रहेकोमा २६ हजार ६१५ मतदाताहरू मतदानमा सहभागी भएका थिए ।
२०४८ र २०५१ को प्रतिनिधिसभा सदस्यमा कांगे्रसका नेता तथा पूर्व–शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल विजयी भएपछि त्यसपछिका चारवटा निर्वाचनमा कांगे्रसले जित हासिल गर्न सकेको थिएन । निर्वाचित शाहीले नेपाली कांग्रेस मुगुको २३ वर्ष अघिदेखि गुमाएको विरासत फर्काउनुभएको छ ।

यसैगरी दुईवटा प्रदेशसभा सदस्य क्षेत्र रहेको मुगुमा प्रदेश क्षेत्र १ मा नेकपा एमाले उम्मेदवार जितबहादुर मल्ल र प्रदेश क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दिलबहादुर बर्देवाका अनुसार प्रदेश १ मा खसेको कुल मत १२ हजार ९८९ मध्ये एमाले उम्मेदवार मल्लले पाँच हजार ४३० मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपालबहादुर बमले चार हजार २२३ मत ल्याउनुभएको थियो । बम सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । उहाँ निवर्तमान प्रतिनिधिसभाका सदस्य पनि हुनुहुन्छ । २०७४ को प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित बम २०७९ को निर्वाचनमा एमालेका उम्मेदवारबाटै पराजित हुनु पर्‍यो ।

प्रदेश क्षेत्र २ मा नेकपा माओवादीका उम्मेदवार मंगलबहादुर शाहीले कुल खसेको १३ हजार ६२६ मतमध्ये आठ हजार ४२९ मत ल्याई विजयी हुनुभयो । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्लले चार हजार ८८४ मत ल्याउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?