आइएमईद्वारा प्रवद्र्धित तिप्ल्याङको पिपिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ–कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ-कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणमा आयोजित एक कार्यक्रमबीच पिपिएमा हस्ताक्षर गर्नुभएको हो । हाल ५८ मेगावाटको पिपिए भए पनि आयोजनाको क्षमता बढाएर ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकाले बाँकी क्षमताको पनि छिट्टै खरिदबिक्री सम्झौता गरिने कम्पनीले जनाएको छ ।

उक्त आयोजना म्याग्दीको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा रहेको छ । आयोजनास्थलमा सडक पहुँचका साथै प्रसारण लाइनसमेत निर्माण भइसकेको छ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुक्खायाम ८.४० रुपैयाँ प्रतियुनिट, वर्षायाम ४.८० रुपैयाँ प्रतियुनिट र व्यापारिक उत्पादन सुरु मितिबाट वार्षिक तीन प्रतिशतका दरले आठपटकसम्म मूल्यवृद्धि गरी खरिद गर्नेछ । आइएमई समूहबाट प्रवद्र्धित हाइड्रो सपोर्ट प्रालिले ६६.३ मेगावाट क्षमताको माथिल्लो मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको पिपिए यसअघि नै भइसकेको छ ।

दुवै आयोजना २०८६ साल असारभित्र निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ । आयोजनाको कुल लागत ३३ अर्ब १४ करोड रुपैयाँ रहेकोमा स्वपुँजी लगानी आइएमई समूहलगायतबाट हुनेछ भने वित्तीय व्यवस्थाका लागि नबिल बंैकको अगुवाइमा प्रक्रियामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?