‘तिमी’ प्रयोग औपचारिकदेखि लैंगिक भाषासम्म

हिमालय टाइम्स
Read Time = 15 mins

✍️ शर्वराज आचार्य

वर्तमान औपचारिक समाचार प्रसारणका भाषामा उच्च र मध्यम गरी दुई प्रकारका आदरार्थी देखिएका छन् । यीमध्ये उच्च आदर प्रयोग गर्ने भाषामा समान्यतः आदर प्रयोगसम्बन्धी विश्लेषण आवश्यक देखिँदैन तर मध्यम आदर (तिमी) प्रयोगको विश्लेषण आवश्यक रहेको छ । मध्यम आदर प्रयोग गर्ने प्रकाशन र प्रसारण गृहले औपचारिक प्रसारणमा तिमी, उन, यिन, तिन जस्ता सर्वनाम र तिनले संगति लिने भने, भनिन्, गरिन् जस्ता मध्यम आदरार्थी क्रियापद प्रयोग गरेका छन् । यस्तो प्रयोग गरिरहेका प्रकाशन र प्रसारण गृहका भाषालाई औपचारिक, व्याकरिणक, संवैधानिकदेखि लैंगिकसम्म चारवटा दृष्टिले विश्लेषण गर्न सकिने देखिन्छ । प्रस्तुत लेख यही विश्लेषणसँग सम्बन्धित छ ।

पहिलो औपचारिक भाषाका दृष्टिले मध्यम आदरको प्रयोग हेरौं । औपचारिक भनेर सभा, समारोह, गोष्ठी आदि औपचारिक कार्यक्रममा प्रयोग गरिने भाषालाई भनिएको हो । यस्ता कार्यक्रममा उच्च आदर (तपाईं) को प्रयोग गरिन्छ, मध्यम आदर (तिमी) को प्रयोग गरिँदैन । सभाहरूमा जुन आदर वा शैली (तपाई) को प्रयोग गरिन्छ, त्यही आदर वा शैलीको भाषा प्रयोगगरिएको समाचार औपचारिक हुन्छ । यदि उच्च आदर प्रयुक्त सभा गोष्ठीका विषयवस्तुलाई पत्रकारले आफ्नातर्फबाट मध्यम आदरमा ढालेर समाचार प्रसारण गरे, त्यो समाचार अनौपचारिक हुनपुग्छ । प्रसारण अनौपचारिक नहोस् भनेर नै सरकारी वा गैरसरकारी कार्यालयका बुलेटिन, सूचना आदिका भाषामा उच्च आदर प्रयोग गरिएको देख्न सकिन्छ ।

आदररहित शैलीसमेत देखाएर बोल्न र लेख्न सकिने हुन्छ । वक्ताको संवेग अनुसारआदरको एकात्मक वा मिश्रित शैली नेपाली बोलीचालीको सामाजिक विशेषता हो । भाषिक समुदायका वक्ताका बोलीचालीमा यो विशेषताको अन्तर्घुलन देखिन्छ । यस्तो सामाजिक अन्तर्घुलनबाट पत्रकारहरू पृथक् हुँदैनन् । 

सबै प्रकाशन र प्रसारण गृहका आन्तरिक कारोबार, सूचना र आआफ्ना कर्मचारी वा पत्रकारबीच वार्तालापमा पनि अनौपचारिक प्रयोग गरेको देखिँदैन र सुनिँदैन । हुनत प्रकाशन वा प्रसारण गृहले हरेक स्तम्भमा औपचारिक वाअनौपचारिक के कस्तो भाषा प्रयोग गरेर भाषिक एकरूपता दिने भन्ने निर्णय स्वयं गर्दछन् । किन्तु शिष्टता र सभ्यताका दृष्टिले समाचार, अन्तर्वार्ता, प्रत्यक्ष प्रसारण, स्थलगत रिपोर्ट र सम्पादकीयमा भने औपचारिक भाषाको प्रयोग अपेक्षित रहन्छ । मध्यम आदरमा प्रसारण गरिएको समाचारको भाषा अनौपचारिक हुन्छ । बोलीचालीको अनौपचारिक भाषामा आदरहरू (तपाईं, तिमी, तँ) मिश्रित पनि हुन्छन् ।

आदरमा मानवीय संवेगको अभिव्यक्ति रहने हुँदा यसको प्रयोग शिथिल देखिन्छ । यसमा आदररहित शैलीसमेत देखाएर बोल्न र लेख्न सकिने हुन्छ । वक्ताको संवेग अनुसारआदरको एकात्मक वा मिश्रित शैली नेपाली बोलीचालीको सामाजिक विशेषता हो । भाषिक समुदायका वक्ताका बोलीचालीमा यो विशेषताको अन्तर्घुलन देखिन्छ । यस्तो सामाजिक अन्तर्घुलनबाट पत्रकारहरू पृथक् हुँदैनन् ।

दोस्रो व्याकरणिक दृष्टिले समाचारमा देखिने मध्यम आदरलाई हेरौं । सामान्यतः आदर मानवीय संवेग, शिष्टता र सामाजिक मान्यतासँग आबद्ध भएकाले आदरका कारण भषिक शुद्धता अशुद्धताका सीमा कोरिन्न । तर सामाजिक मान्यता अनुसार असल आचरण, स्वभाव भएको र कार्य गर्ने व्यक्ति वा जुनसुकै पदमा आसीन व्यक्ति वा सामान्य व्यक्तिका निम्ति उच्च आदरको प्रयोग गरिन्छ । झन् प्रजातान्त्रिक व्यवस्थामा व्याकरिणक दृष्टिले पनि भाषाभित्र समानता जनाउन उच्च आदरको प्रयोग आवश्यक ठानिन्छ । केही प्रकाशन र प्रसारणले भने उच्च आदरको प्रयोगबाट औपचारिक रूपबाट सामाजिक समानता देखाउन खोजेको पाइन्न, मध्यम आदरलाई औपचारिकता र समानता जनाउने शैली बनाउन खोजेको देखिन्छ ।

तर, यो शैली व्याकरणिक दृष्टिले असमान र अनौपचारिक हुन पुगेको छ । सभा समारोहमा प्रयक्त उच्च आदरका औपचारिक भाषामा लिंग व्यवस्था हुन्न तरअहिले प्रकाशन र प्रसारणको भाषाको मध्यम आदरका भाषामा लिंग व्यवस्था देखिन्छ । व्याकरणले औपचारिक भाषाभित्र राष्ट्रपति, मन्त्री, सभामुख, उपसभामुख, अध्यक्ष, वकिल, शिक्षक, प्राध्यापक, पत्रकार आदिको लिंगलाई स्त्रीलिंग र पुलिंग भनेर चिन्दैन । अर्थात् नेपाली व्याकरणले औपचारिक भाषाको प्रयोग गर्दा यस्ता नामसँग लिंग नछुट्टिने क्रियापदको प्रयोग गर्छ । अनौपचारिक भाषाको प्रयोग गर्दा भने व्याकरणले उपर्युक्त शब्दको लिंग चिन्दछ । प्रत्यक्ष समाचारमा लिंग छुट्टिने भाषाशैलीको प्रयोग व्याकरणिक दृष्टिले औपचारिक मानिन्न ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्राध्यापक, वकिल, सचिव आदि पदको पछाडि व्यक्तिवाचक नाम (रामचन्द्र पौडेल, विद्यादेवी भण्डारी आदि) राखेर समाचारमा मध्यम आदर प्रयोग गरिएको देखिन्छ । यस्ता व्यक्तिवाचक नाममा मध्यम आदरको प्रयोग गर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्राध्यापक जस्ता औपचारिक पद गौण बनेका हुन्छन् । गौण नहुँदा वा औपचारिक भाषामा यस्ता व्यक्तिवाचक नाम टाँसिए पनि उल्लिखित पदहरू स्त्रीलिंगी वा पुलिंगी बनेर छुट्टिँदैनन् । कानुनी भाषा वा औपचारिक भाषामा व्याकरणले राष्ट्रपति र मन्त्री जस्ता शब्दको मात्र होइन व्यक्तिवाचक नाम (रामचन्द्र पौडेल र विद्यादेवी भण्डारी)को पनि लिंग चिन्दैन ।

तेस्रो संवैधानिक दृष्टिले मध्यम आदरको प्रयोग हेरौँ । नेपालको संविधानको धारा ७ मा सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा हुने छ, भनिएको छ । मौलिक हकहरूमध्ये समानताको हक उल्लेख भएको धारा १८ को उपधारा २ र ३ मा लिङ्गको आधारमा कुनै पनि नागरिकलाई भेदभाव गरिने छैन भनिएको छ ।

औपचारिक प्रयोगमा नारी र पुरुष छुट्टिने अभिव्यक्ति लैंगिक दृष्टिबाट उपयुक्त मानिन्न । लैंगिक दृष्टिले उपयुक्त मानिने औपचारिक समाचार उच्च आदरबाट प्रसारण गर्न सकिन्छ । तर अहिले मध्यम आदरलाई औपचारिक बनाउन खोज्दा समाचार प्रसारणको भाषाले नारी र पुरुषमा विभेद देखाएको छ ।

तर, औपचारिक भाषा प्रयोग हुने स्तम्भ जस्तै, समाचार, सम्पादकीय र अन्तर्वार्ता आदि र विद्युतीय कार्यक्रममा लिंगको आधारमा पुरुष र महिलाबिच भेदभावयुक्त क्रियापद प्रयोग गरेको देखिन्छ । त्यसैले औपचारिक भाषा उपयोग गर्नुपर्ने समाचार, अन्य स्तम्भ र कार्यक्रमकामा अनौपचारिक भाषा प्रयोग गरेर संवैधानिक दृष्टिले मौलिक हक उल्लंघन भएको छ । अर्थात् व्याकरणले लिंग चिन्न सक्ने भेदभावयुक्त मध्यम आदरमा औपचारिक समाचार सम्प्रेषण हुन पुगेको छ ।

चौथो लैंगिक आधारबाट पनि मध्यम आदरको प्रयोग हेर्न सकिन्छ । यहाँ लैंगिक भनेर महिला र पुरुषलाई भनिएको हो । औपचारिक प्रयोगमा नारी र पुरुष छुट्टिने अभिव्यक्ति लैंगिक दृष्टिबाट उपयुक्त मानिन्न । लैंगिक दृष्टिले उपयुक्त मानिने औपचारिक समाचार उच्च आदरबाट प्रसारण गर्न सकिन्छ । तर अहिले मध्यम आदरलाई औपचारिक बनाउन खोज्दा समाचार प्रसारणको भाषाले नारी र पुरुषमा विभेद देखाएको छ । अर्थात् भाषिक प्रयोगमा विभेद देखिएको छ । त्यसकारण सञ्चार गृहले समाचार वा कार्यक्रम प्रसारणको औपचारिक अभिव्यक्तिमा लैंगिक समानता देखाउन छोडेर लैंगिक असमानता देखाउनु प्रजातान्त्रिक र शिक्षित समाजले गौरव गर्ने विषय होइन ।

उल्लिखित विश्लेषणले समाचार प्रकाशन र प्रसारणमा औपचारिक, व्याकरिणक, संवैधानिक र लैंगिक व्यवस्था नसुहाउँदा मध्यम आदर र शैली उजगार गरेको छ । यसलाई थप पुष्टि गर्न यहाँ स्थापित पत्रिकाको नाम उल्लेख नगरी केही वर्षपूर्वका उदाहरण उद्धृत गरिएका छन्, जस्तै :-
(क) राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको सुरुवात गरेकी हुन् । राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् ।

(ख) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्धिको आधार भ्रमण वर्ष रहेको बताए । उनले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

(ग) वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँदिल्ली प्रस्थान गरेका छन् । थप उपचारका लागि नयाँदिल्ली जानुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

माथिका ‘क’ देखि ‘ग’ सम्मका उदाहरणमा संगति सापेक्ष अनौपचारिक भाषाका वाक्य छन् । किनभने औपचारिक भाषाका वाक्यमा कर्ता र क्रियापदबीच लिंग संगति निरपेक्ष हुन्छ । यी उदाहरणहरूमध्ये नम्बर ग मा मध्यम आदर र उच्च आदर (उहाँ) मिश्रित प्रयोग देख्न सकिन्छ । यहाँ राष्ट्रपतिलाई स्त्रीलिंग, मन्त्री र वरिष्ठ नेतालाई पुलिंग बनाइएको छ, जबकि नेपाली व्याकरणले औपचारिक भाषामा यस्ता शब्दहरूलाई पुलिंग वा स्त्रीलिंग भनेर चिन्दैन । यिनका पछाडि मानवीय लिंग बुझाउने व्यक्तिवाचक नाम छन् तर अनौपचारिक प्रायोगमा मात्र व्याकरणले पुलिंगी र स्त्रींलिगी व्रिmयापद चिन्छ ।

उदाहरणमा प्रयुक्त भाषाप्रति वर्तमान नेपालको संविधानको समानताको हक रहेको धारा १८ आकर्षित भएको छ । यहाँ देवनागरी लिपिमा लेखिएका माथि ‘क’मा स्त्रीलिंगको आधारमा तथा ‘ख’ र ‘ग’ मा पुलिंगको आधारमा भेदभाव जनाउने अलग अलग भाषिक क्रियापद प्रयुक्त छन् । यी उदाहरणलाई लैंगिक दृष्टिले हेर्न सकिन्छ । लैंगिक दृष्टिले नारी र पुरुष दुवैलाई समान भाषा प्रयोग गर्नुपर्ने आग्रह राख्छ । अहिलेको औपचारिक जगत्मा पुरुष र नारी जनाउने अलग–अलग शब्दहरू बहिष्कृत हुँदै गएका छन् । तर, माथिका उदाहरणमा नारीलाई छुट्टै र पुरुषलाई छुट्टै क्रियापद प्रयोग भएका छन् । तसर्थ यस्तो मध्यम आदरको प्रयोगले लैंगिक वा नारीवादी दृष्टिकोणलाई समेत सम्मान गर्न सकेको देखिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?