नमागिएको सल्लाह :
कोटेश्वरमा आफ्नी पत्नी चढेको सवारीसाधन रोकेर साइड लगाउन लगाई प्रहरीले सामान्य सोधपुछ गरेको सन्दर्भलाई लिएर काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले सरकारलाई ‘चोर भन्दै सिंहदरबार जलाइदिने धम्की’ दिएको विषयको चर्चा सेलाएको छैन । यसले हिजो मतदानका बेला बालेनबाट विकासको नयाँ शैली, सुन्दर शहर, सुशासन र शालीनताको अपेक्षा गरेर मतदान गरेका मतदाता त क्षुब्ध भएका छन् नै वर्तमानका ठूला भनिएका पार्टी र तिनका नेताको कार्यशैलीबाट वाक्क भएर वैकल्पिक शक्तिको विजारोपणको अपेक्षामा रहेका धेरै नेपालीहरू दुःखी भएका छन् । उनको अभिव्यक्तिबाट खुशी हुने अन्धभक्त फ्यान र अराजकता रुचाउने समूह पनि नभएको भने होइन ।
तीसको दशकमा चलिरहेका यी युवा मेयरको युवा जोशको कथा सेलाउँन नपाउँदै असीको दशकमा हिँडिरहेका पाका नेता शेरबहादुर देउवाले कर्मचारीको एक भेलामा भन्नु भएको विषयले पनि धेरैको मानस पटललाई घुमाएको हुनुपर्छ । देउवाले कर्मचारीको एउटा भेलामा भन्नु भएछ ‘म गृहमन्त्री भएको बेलामा फूर्ति गर्ने प्रहरीलाई मैले निकालिदिएँ’ । यसो भन्दै गर्दा वयोवृद्ध नेताले के बिर्सिनु भएछ भने गृहमन्त्री त के प्रधानमन्त्रीलाई पनि मन नपरेका कारणले कुनै कर्मचारीलाई निकाल्न सक्ने व्यवस्था तत्कालीन वा अहिलेको कानुनमा थिएन र छैन ।
उहाँ गृहमन्त्री भएको समयमा व्यवस्था नै परिवर्तन भएको कारण तत्कालीन सरकार बढी जनसमर्थन प्राप्त थियो । देउवालगायत सबै नेताहरू आस्थाका प्रतीक थिए । तत्कालीन प्रहरी महानिरीक्षकहरूले गृहमन्त्रीको आदेश तामेल नगर्दा बलिको बोको बन्नुपर्ला भनेर देउवाले भनेको प्रहरीलाई कुनै अभियोग लगाएर निष्काशन गरेको हुनसक्दछ ।
देउवा र वालेन दुवैको अभिव्यक्तिको कारण पत्नी मोह हो । यसमा दुवै नेताको समानता छ । बुढा नेता त बुढेसकालमा पत्नीले भनेको मानिएन भने बेसहारा बनिएला भनेर पत्नीको बसमा परे होलान् भनेर बुझ्न सकिन्छ ।
उहाँको भनाइ छोरी कुटेर बुहारी तर्साउँनेतिर लक्षित पनि हुनसक्दछ । प्रहरीको अनुसन्धान आफ्नी पत्नी र आफूसम्म नआइपुगोस् भनेर प्रहरी कर्मचारीलाई तर्साएको भन्ने विषय त धेरैले बुझेकै छन् । सरुवा त गराएँ, सरुवामात्र होइन जागिर पनि खाइदिने हैसियत भएको हुँ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले पनि देउवाको भनाइ आएको हुनसक्दछ ।
देउवा- बालेनको पत्नीमोह :
देउवा र बालेन दुवैको अभिव्यक्तिको कारण पत्नी मोह हो । यसमा दुवै नेताको समानता छ । बुढा नेता त बुढेसकालमा पत्नीले भनेको मानिएन भने बेसहारा बनिएला भनेर पत्नीको बसमा परे होलान् भनेर बुझ्न सकिन्छ तर भर्खर राजनीतिक जीवन सुरु गरेका युवा वयका मेयर बालेन यथार्थ कुरा नबुझी पत्नी र चालकका कुरा सुनेर अराजक र हिंसक देखिनु चाहिँ अत्यसालाग्दो पक्ष भएको छ ।
देउवा आफ्नो स्वार्थका लागि जोसँग जे पनि सम्झौता गर्ने स्वभावका नेता भएकाले उहाँबाट कुनै आदर्श, नयाँपन र सुशासनको अपेक्षा गर्नेमा उहाँका अन्ध अनुयायी बाहेक शायद नै होलान् तर बालेनबाट त्यस्तो अपेक्षा गरिएको होइन । उनीबाट पारिवारिक प्रभावबाट आफूलाई अलग राखेर महानगरका मतदातालाई परिवार मानेर अघि बढ्लान् भन्ने अपेक्षा गरिएको हो । भावनात्मक नै सही-आदर्शका बिम्ब हुनेछन् भन्ने अपेक्षा गरिएको हो ।
देउवा अपेक्षाकृत रूपमा कमजोर मानव विकास सूचकांक भएको जिल्लाका मतदाताबाट निर्वाचित भएकाले धन बल, डन बल, उनको जिल्लाप्रतिको लामो लगावको कारण पनि उनले बोलेका आममानिसलाई मन नपर्ने कुराले पनि खासै असर पर्दैन । अहिलेसम्म परेको पनि छैन । सुरुदेखि अहिलेसम्म विजय माला पहिरिने अवसर मिलेको छ ।
मेयर बालेनको चुनाव क्षेत्र त्यस्तो होइन । सचेत नागरिक बसेको क्षेत्र भएकाले उनले आफ्नो कार्यकालमा गरेको काम बनाएको व्यक्तित्वले मात्र उनी राजनीतिमा जीवित रहने हुन् । मतदाताले उनले गरेका काम, लेखेको लेखाइ, बोलेका कुरा आफ्नो दिमागमा राखेर बसेका छन्, समय आएपछि त्यो मतदानमा देखिने हो । बालेन आफ्नै कथनी र करनीको कारण विवादमा परिरहेका छन् । आफ्नै कारणले आफ्नो लोकप्रियताको पारोलाई कमजोर बनाइ रहेका छन् ।
सडक किनार, सार्वजनिक स्थानमा बसेर व्यापार गर्ने, नाङ्ले, झोले व्यापारीहरू उनीसँग रुष्ट भइसकेका छन् । बालेनलाई लागेको होला यिनीहरू काठमाडौंका मतदाता होइनन् के फरक पर्ला तर बुझ्नु के पर्छ भने बालेन/बालेन भनेर सडकमा माहौल सिर्जना गर्ने ती सडकमा व्यवसाय गर्ने निमुखा व्यवसायी पनि हुन् । यसो भनिरहँदा सबैले सडकमा पैदलमार्ग र सडक मिचेर व्यवसाय गर्न पाउनुपर्छ भन्न खोजिएको होइन । तर, जे जस्तो तरिकाले उनीहरूलाई हटाइन्छ वा व्यवहार गरिन्छ, त्यो आलोचनाको विषय हो । सबैले व्यवसाय गर्न राजधानीमै आउनुपर्छ भन्ने पनि होइन । राजधानी जस्तै सुविधा सम्पन्न अरू शहर पनि बनाउनुपर्छ भन्नेमा विमति पनि होइन ।
अब मध्यमवर्ग र उच्च वर्गको कुरा गरौं । बालेनले सडक राम्रो बनाएकोमा, राजधानीलाई सुन्दर बनाउँन प्रयोग गरेकोमा यो वर्ग खुशी नै थियो तर पछिल्ला उनका अपरिपक्व भनाइ र काम गराइ, हिंसालाई प्रेरणा दिने अभिव्यक्तिको कारण यो मानिस त उत्ताउलो र गैरजिम्मेवार रहेछ भन्ने भान पर्न थालेको छ । धरानमा सामाजिक सञ्जालप्रेमी मेयरको सामाजिक सद्भाव खलल पार्ने र जातीय विभाजन ल्याउने किसिमको हर्कतको कारण आजित भएका जनतामा बालेनको ‘सिंहदरबार जलाइदिने’ अभिव्यक्तिको कारण यी नयाँ ठिटाहरूले त सामाजिक सद्भाव र भाइचारालाई नै खलल पुर्याउने रहेछन् भन्ने भावना विकास भइरहेको विषयलाई नकार्न सकिँदैन ।
पुराना पार्टीको कमसेकम एउटा सीमा छ । यहाँभन्दा तल गिर्न सक्दैनन् भन्ने विश्वास छ । जेजस्तो भए पनि पुरानै ठीक भन्ने परिस्थितिमा जिम्मेवार मतदाताहरू पुगे भने पुराना स्वार्थी र बोझिला नेताहाट उन्मुक्तिको चाहना झन् कमजोर बन्दै जान्छ । नेता बालकृष्ण खाँण पक्राउ परेपछि आफ्नो नजिकको नेतालाई संरक्षण गर्न नसकेको भन्ने आरोप खेपिरहेका देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपीहरूलाई पुनः बयान गराएर आरजु देउवासँग भएको भनिएको डिलको पर्दाफास होला भन्ने पिरलो रहेको बुझ्न सकिन्छ । थुनामा रहेका केही आरोपीको श्रव्य सन्देशबाट पनि उनीसँग भएको डिलको विषयमा कतिपय कुरा सार्वजनिक भइसकेका छन् । नेता खाँणलाई संरक्षण गर्न नसक्दा उनीबाट पनि गोप्य विषयहरू सार्वजनिक हुन सक्ने भय रहेको चर्चा नभएको होइन ।
फूर्ति गर्नेलाई हटाइदिने भनाइ :
नेता देउवाको फूर्ति गर्ने कर्मचारीलाई हटाइदिएँ भन्ने विषय नियम कानुन हातमा र मुखमा भएको शासकले भन्ने किसिमको भनाइ हो । हाम्रोजस्तो लोकतान्त्रिक परिपाटी भएको देशमा कुनै पनि कर्मचारीको सेवा शर्त कानुनद्वारा निर्धारित हुन्छ । नियुक्ति अवकाशलगायत विषयहरू प्रचलित कानुन बमोजिम गरिन्छ । सरकारी कर्मचारीको आफ्नै कानुन छ, प्रहरी कर्मचारीको आफ्नै । कुनै नेता वा मन्त्रीले भनेकै कारणले वा देउवाको भाषामा फूर्ति गरेकै कारणले जागिरबाट हटाउन सकिने व्यवस्था छैन ।
असीको दशक पारगरेका र वानप्रस्थ आश्रम जान पनि ढिलो भइसकेका नेतामा त यस्तो अहंकारको राप देखिन्छ भने युवाजोस भएको बालेनको अहंकारको आगोले ‘चोर सरकारको सिंहदरबार जलाइदिन्छु’ भन्ने भनाइ के नै अनौठो भयो । फरक यत्ति हो बालेनले अभिव्यक्ति स्वतन्त्रताको सीमा नाघ्यो ।
देउवाकै भनाइमा हटाइएका कर्मचारीले पनि कानुनविपरीत र बोल्नै नमिल्ने कुरा बोलेका रहेछन् । यस्ता मन्त्री आउँछन् जान्छन् भनेका रहेछन् । यतिमात्र भनेको हो भने त सत्य कुरा बोलेका रहेछन् । जीवनमा जन्मेपछि मर्नुपर्छ भन्ने भनाइ जत्तिकै सत्य हो-मन्त्री आएपछि जान्छन्, ढिलो चाँडोमात्र हो । यति भनेकै आधारमा उन्को जागीर गएको हो भने त अन्यायपूर्ण काम उहाँबाट भएको रहेछ होइन, अहिले र हिजोका दिनमा सी.आइ.बी.मा भएका वा भविष्यमा हुनेहरूलाई तर्साउन भनिएको हो भने अलग विषय भयो ।
अहिलेको अवस्थामा त्यस्तो सनकको भरमा कसैलाई हटाउन सकिँदैन । केही समय जिम्मेवारी नदिइ राख्न सकिएला, दुःख दिन सरुवा गर्न सकिएला त्योभन्दा बढी गर्न सकिँदैन । असीको दशक पार गरेका र वानप्रस्थ आश्रम जान पनि ढिलो भइसकेका नेतामा त यस्तो अहंकारको राप देखिन्छ भने युवाजोस भएको बालेनको अहंकारको आगोले ‘चोर सरकारको सिंहदरबार जलाइदिन्छु’ भन्ने भनाइ के नै अनौठो भयो । फरक यत्ति हो बालेनले अभिव्यक्ति स्वतन्त्रताको सीमा नाघ्यो ।
कसरी जिम्मेबार बनाउने
नेता र ठूला भनिएकाहरूमा देखिने यस्तो सनक अक्सर एशिया, अफ्रिकाका गरिब र कमजोर देशहरूमा बढी देखिन्छ । विकसित र प्रजातान्त्रिक देशहरूमा यस्तो विरलै सुनिन्छ । ट्रम्पजस्ता सनकी शासक आएको समयमा संयुक्त राज्य अमेरिकामा यस्तो अहंकारी प्रवृत्ति नदेखिएको होइन तर त्यो अहंकारबापत पूर्वअमेरिकी राष्ट्रपति जडोनाल्ड ट्रम्पको अदालत र कारागारको आवागमन वाक्लिँदो छ । उनी जमानतमा छुटेपनि कैदी नम्वर पाएका छन्, कैदीको रूपमा उनको फोटो कारागारमा टाँसिएको छ । तरिका त ट्रम्पलाई जस्तै सबैलाई कानुनी दायरामा ल्याउने नै हो । नेपालमा यस्तो गर्ने संरचनागत व्यवस्था नभएको होइन तर कार्बाही गर्दा भइरहेको सरकारको अस्तित्व नै संकटमा पर्ने भएका कारण समस्या भएको हो ।
अहिलेको सरकारको इच्छाशक्तिलाई हेर्दा केही गर्न खोजेको जस्तो देखिँदैछ । हालैका दिनमा प्रधानमन्त्रीको पार्टीकै नेता कार्यकर्ता पनि तस्करीजस्तो अपराधमा आरोपितको रूपमा मुद्दा खेपिरहेका छन् । अन्य सत्ताघटकका नेताहरू पनि कानुनको दायरामा आएका छन् । तर समस्या छ-सरकार टिक्न चाहिने न्यूनतम सांसद् संख्याको । त्यो संख्याका लागि देउवाजस्ता यथास्थितिवादी नेतासँग सम्झौता गर्नुपर्ने अवस्था रहेको छ । जसले सबै अग्रगमनका प्रक्रियाहरूलाई बाधा पुर्याइरहेको छ । देउवा र बालेनहरूको अहंकारको आगो निभाउन कानुनी सजाय रूपी पानी खन्याउनुपर्ने हुन्छ । यसका लागि सरकार दृढरूपमा अगाडि बढ्नुको विकल्प छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच