सरकारको भ्रष्टाचारविरोधी अभियानबाट केही अत्तालिएका छन् : प्रधानमन्त्री

‘माओवादीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ’

हिमालय टाइम्स
Read Time = 4 mins

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताउनुभएको छ । शहीद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुग्नुभएका प्रधानमन्त्रीले भच्चेकमा योङ कम्युनिष्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु,’ माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ ।’

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयोे । अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उहाँले चुनौतीपूर्ण अवसरको रूपमा लिएको पनि बताउनुभयो । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको उहाँको भनाइ छ ।

भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको उहाँले बताउनुभयो । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरुवात गरिएको बताउनुभयो । छिट्टै चीन भ्रमण जान लागेको बताउँदै नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेण्डा रहेन पनि बताउनुभयो ।

नेकपा माओवादी केन्द्र अहिले तीन महिने अभियानमा छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नाराका साथ भदौ १६ गतेदेखि सुरु भएको अभियानमा माओवादी केन्द्रका नेताहरू खटेका छन् । अभियानमा माओवादी नेता-कार्यकर्ताहरूले सरसफाइ गर्नुको साथै किसानसँग खेतमा काम गर्ने, रक्तदान, स्कुलमा गएर पढाउने, सिँचाइका लागि नदीमा बाँध बाँध्नेसम्मको कार्य गरिरहेका छन् । वडा तहबाट सुरु गरिएको सो अभियानमा माओवादीहरू जनताको घरघरमा पुग्ने प्रयास गरिरहेका छन् । त्यही भएर जनताले गर्ने हरेक काममा सहयोग गर्ने काम माओवादी नेता-कार्यकर्ताहरूले गरिरहेका छन् ।

अभियानकै क्रममा गोरखा पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनर्निर्माणको अभियानमा लागेको बताउँदै ठूलो त्याग र तपस्याबाट प्राप्त यो उपलब्धिलाई रक्षा गर्नका लागि यो अभियान सफल बनाउन जरुरी रहेको बताउनुभयो । जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने कुराको बोध गराउन नेता तथा कार्यकर्तालाई उहाँले निर्देशन पनि दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?