कलाकार संघले मनायो ३५औँ स्थापना दिवस

पाँच जनालाई मानार्थ सदस्यता प्रदान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघले ३५औँ स्थापना दिवसका मनाएको छ । काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरी संघले स्थापना दिवस मनाएको हो । विसं २०४५ भदौ २३ गते स्थापना भएको संघको दुईदिने कार्यक्रम अन्तर्गत शनिबार सम्मान, मानार्थ सदस्यता प्रदान, अवधारणापत्र प्रस्तुति र त्यसमाथि टिप्पणी लगायतका कार्यक्रम सम्पन्न गरेको थियो । यस्तै, आइतबार योगगुरु राम पाण्डेद्वारा योग अभ्यास, डा. विकासानन्दद्वारा मोटिभेसन लेक्चर र डा. श्याम खड्काद्वारा चिकित्सकीय परामर्श कार्यक्रम राखिएको थियो

‘हामीले स्थापना दिवसलाई सिर्जनात्मक गतिविधिमार्फत सम्पन्न गरेका छौँ । यसले हाम्रो संघलाई दीर्घकालीन रूपमा फाइदा पुग्नुका साथै आगामी कार्यदिशा तय गर्न मदत गर्छ,’ संघका अध्यक्ष मोहन निरौलाले भन्नुभयो । कार्यक्रममा संघको तर्फबाट संविधानविद् भीमार्जुन आचार्य, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्यञ्जु, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा. सुवास घिमिरे, खेलकुदकर्मी विष्णु गोपाल श्रेष्ठलाई मानार्थ सदस्यताको परिचयपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रमुख अतिथि रहनुभएको थियो । उक्त अवसरमा संघलाई आर्थिक तथा भौतिक सहयोग गर्ने ध्रुव देवकोटा, मनोज खत्री, राजीव गिरी, डा. रूपक घिमिरे, प्रकाश पुरी र श्रीदेव बीएललाई आभारपत्र प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज नेपाल च्याप्टरको अध्यक्ष चयन भएकोमा चलचित्रकर्मी तथा साहित्यकार राजेन्द्र केसीलाई बधाई पत्र प्रदान गरिएको थियो ।

उक्त अवसरमा ‘नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भूमिका’ विषयक अवधारणापत्रलाई शान्तिप्रियले प्रस्तुत गर्नुभएको थियो । उक्त अवधारणापत्रमाथि अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँ, फिल्म लेखक अभिमन्यू निरवी र निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?