नेम्वाङको कुर्सीमा माला राखेर सचिवालय बैठक थालेको एमालेले भन्यो : सुवास नेम्वाङको निधनले देश नै शोकमग्न

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले देश नै शोकमग्न भएको बताएको छ ।

मंगलबार बिहान हृदयघातबाट नेम्वाङको निधन भएपछि दिउँसो बसेको एमाले सचिवालय बैठकले उहाँको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै एमालेमात्र नभएर देश नै शोकमग्न भएको बताएको हो ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको हो । बैठकपछि कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले बैठकले नेम्वाङको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो।

‘मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नु्भएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । बैठकले उहाँको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ । दुई–दुईपटक संविधानसभाको अध्यक्ष बन्ने दुर्लभ अवसर उहाँले पाउनुभएको हो,’ ज्ञवालीले भन्नुभयाे, ‘पार्टी परिवारमात्र होइन, सिंगो देश शोकमग्न भएको छ ।’

साथै बैठकले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय गरेको छ ।

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औपचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिनुभयो ।

यसअघि मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि छ ।

नेम्वाङ बस्ने कुर्सीमा फूलको माला राखेर एमालेको सचिवालय बैठक सुरू भएको थियो ।

शोक वक्तव्य

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको आज बिहान १.५० बजे उपचारको क्रममा भएको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको छ । उहाँको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी पार्टीका जनप्रिय नेता सुवासचन्द्र नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

वि.सं. २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट ईलाम नगरपालिका– ७ मा जन्मनुभएका कमरेड सुवास नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गर्नुभएको छ ।

संविधानसभाका अध्यक्षका रुपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रुपमा स्थापित छ । उहाँले पुनस्र्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको छ । २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा (एमाले)को सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ ।
२०५६ सालमा प्रतिनिधिसभा सदस्यको रुपमा ईलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रुपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।

आदर्श स्कुल, ईलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्ररत्न क्याम्पस, ईलाममा बी.ए. पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो । नेपाल ल क्याम्पस, काठमाडौंमा बी.एल. अध्ययन गर्दा सरकारविरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२÷६३ मा शान्तिपूर्ण जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा उहाँ पटक–पटक हिरासतमा पर्नुभएको थियो ।

२०३३ साल असार ३ गते जेलमैं रहँदा तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो ।  छैटौं महाधिवेशन (२०५४) र सातौं महाधिवेशन (२०५९) बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दसौं राष्ट्रिय महाधिवेशन (२०७८) बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँका योगदानहरुको पार्टी उच्च मूल्याङ्कन गर्दछ ।

२०३६ सालबाट नेपाल ल क्याम्पसमा प्राध्यापन सुरु गर्नुभएका उहाँले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य (२०४१) तथा महासचिव (२०४३) का रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।

मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका माननीय सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरुसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो । अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।

कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उहाँ बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।

श्रीमती कलावती नेम्वाङसँग छुट्टीभिन्न भइसकेपछि विशालनुमा नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएका उहाँहरुका दुई छोरा– मिङ्सो नेम्बाङ र सुहाङ्ग नेम्वाङ तथा दुई छोरीहरु– डा. सुसाङनुमा नेम्वाङ र सम्याङ नेम्वाङ हुनुहुन्छ ।

सामाजिक आर्थिक रुपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रुपमा उभिनुहुने सुवासचन्द्र नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा (एमाले) पार्टीपङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको छ । शोकको यस घडीमा सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी कमरेड सुवासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको असल गुणहरुबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं । शोकाकुल परिवारमा यस पीडालाई सहन गर्नसक्ने सामर्थ्य हासिल हुन सकोस् भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रदीप ज्ञवाली
कार्यबाहक महासचिव

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?