लिङदेनको प्रस्ताव : तपाईँहरुकै नेतृत्वमा राज संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गर्नुभएको छ ।

ठूला दलहरुले अंगीकार गरेको दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्दै उहाँले अब राजसंस्थालाई अभिभावकीय भुमिका दिनेगरी अघि बढनुपर्ने प्रस्ताव गर्नुभयो ।

बुधवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हीतकर हुने पनि दोहो¥याउनु भयो । उहाँले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरुको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भने भारी मात्रामा कटौति गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । जनता खर्बौंको ऋणमा डुब्ने गरी जनप्रतिनिधिहरुको भार देशले थेग्न नसक्ने अध्यक्ष लिङदेनको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ । र, सुध्रन चाहनुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन । सुध्रनुहोस् । रक्तपात वा कुनै पनि बिद्रोह नगरीकन सल्लाहबाट तपाईहरु हिँडेको बाटो सच्याउनुस् । तपाईहरुले २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि खासगरी दिल्लीको १२ बुँदे सम्झौताको जो भरिया बनेर आउनुभयो । त्यो सम्झौताको बाटोबाट देशलाई हिँडाउनु भयो । यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईहरुलाई पनि लागेको छ । त्यो बाटो गलत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ । अब राजालाई कुनै न कुनै स्पेसको व्यवस्था गर्नुहोस् । त्यसकारण देशलाई दुर्घटनामा जानबाट जोगाउनका लागि नयाँ सम्झौता गरौं । त्यो तपाईहरुकै नेतृत्वमा होस् । अब राजालाई कुनै न कुनै प्रकारको स्पेसको व्यवस्था गर्नुस् । राजालाई अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔं । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरौं अब । नेपाल जस्तो सानो देशका लागि यति धेरै जनप्रतिनिधि भारी हुन्छ । जुनकुरा हामीले भनिराखेको छौं । संघीयता कार्यान्वयन भएपछि मात्रै कति खर्ब राष्ट्रिय ऋण बढ्यो । अहिले २४ खर्ब पुगिसक्यो । ऋण काढेर, जनतालाई ऋण थोपरेर यति धेरै जनप्रतिनिधि पाल्ने भन्दा उनीहरुको संख्या कटौति गरौं । यो संघीयता भन्ने चिज अधिकारसँग सम्बन्धित हो भने त्यसको नामसँग हामीलाई आपत्ति छैन । ’

अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई सचेत गराउनु भयो । गाई, गोरु मार्छु भन्नेहरुलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खल्बल पार्ने काम हुने भएकाले आफ्नो पार्टीले त्यसको प्रतिवाद गर्ने उहाँको चेतावनी थियो । अध्यक्ष लिङदेनले गिद्ध समेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेहरुलाई सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले धर्म निरपेक्षताको नाममा द्वन्द्वको बिजारोपण गर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष लिङदेनले धर्म परिवर्तनको बाटोमा नजान सिंगो देशबासीलाई पनि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रै देशमा गिद्ध समेत मार्न नपाईने व्यवस्था भइसकेको छ भने गाईगोरु मार्छु, खान्छु, के गर्छस् ? भन्नु त्यो कसैको लागि पनि हीतकर छैन । त्यो गलत काम हो । त्यो दण्डनीय काम हो । त्यसको हामी प्रतिवाद गर्छौंं, बिरोध गर्छौं । र, त्यो कुरा रोक्नुपर्छ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । सरकारले आफैँले निर्माण गरेको कानुनको पालना गराउनु पर्दछ । नत्र भए यसले द्वन्द्व ल्याउँछ । यसलाई कसैले रोक्न सक्दैन । यो द्वन्द्वको बीजको रुपमा यो काम गरिराखिएको छ । परम्परा छ भन्दैमा जे पनि गर्न पाइँदैन । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकारको सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र हाम्रो एकतामा खल्बल पार्ने कुनैपनि प्रयासको बिरुद्धमा छ । त्यतिमात्रै होइन, आज देशमा जुन प्रकारको धर्म निरपेक्षताको आडमा धर्मान्तरहरु बढिराखेको छ । त्यसतर्फ पनि आम देशवासीको म ध्यानाकर्षण गराउन चाहन्छु ।’

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन ठूला दलले मुलुकलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै त्यसको बिरोधमा आफूहरु उत्रनुपरेको बताउनुभएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?