प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदै हुनुहुन्छ । उतैबाट असोज ५ गते प्रधानमन्त्रीको चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ।

यस अघि आजै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा समेत भ्रमणबारे जानकारी गराउनु भएको थियो ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो यो तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै उहाँले कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताउनु भएको थियो । “नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ”, उहाँले भन्नुभयो, “भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।”

चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । सङ्घीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा आफूले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् आगामी असोज ५ गते चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । “संयुक्त राष्ट्रसङ्घमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो”, उहाँले भन्नुभयो ।

नेपाल र चीनबीच सदियौँदेखि सौहाद्र्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको र हालैका वर्षमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको उहाँको भनाइ छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासका प्रयासमा सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । हाङ्जाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको जानकारी उहाँले दिनुभयो । प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी दिनु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?