कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका कोटवाडास्थित सुनथराली विमानस्थलमा दोस्रोपटक सफल परीक्षण उडान गरिएको छ । ३८ वर्षदेखि निर्माणाधीन विमानस्थल आइतबार बिहान ९ः४५ बजे तारा एयरको विमान अवतरण गरेर दोस्रोपटक परीक्षण उडान गरिएको हो । २०७३ माघमा पहिलोपटक कच्ची धावनमार्ग हुँदा तारा एयरको विमान अवतरण गरेर परीक्षण गरिएयता उडान भएको थिएन । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नागरिक उड्डयनमन्त्री सुदन किराती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीलगायत विमानस्थल उद्घाटनमा आउने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनपूर्व आइतबार तारा एयरको ट्विनअटर विमान नेपालगञ्जबाट आएर प्रोभिन फ्लाइट गरेर फर्किसकेको छ ।
विमानस्थल ०७९ माघ ११ गते कालोपत्रे सकिए पनि जहाज आएको थिएन । सोमबार पुनः तारा एयरकै जहाजले प्रधानमन्त्रीसहितको टोली ल्याएर उद्घाटन कार्यक्रम रहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर नेपालीले जानकारी दिनुभयो । ०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गर्नुभएको थियो । ०४२ बाट निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्र गरिएको थियो ।
सशस्त्र द्वन्द्वको असरले कामले गति लिन नसकेको यो विमानस्थल कालोपत्र भएर पनि उडान नहुँदा कालीकोटवासीले जहाज चढ्न पाएका छैनन् । विमानस्थल बने पनि त्यहाँ पुग्ने पक्की सडक, सदरमुकाम मान्मबाट कोटवाडा जोड्ने केबुलकार निर्माण भएपछि मात्र विमानस्थल पुग्न सहज हुने भएकाले अझै थप प्रयास गर्नुपर्ने कालीकोटका प्रदेश सांसद हिक्मतबहादुर विष्टले बताउनुभयो ।
केबुलकार निर्माणका लागि एक अर्ब १४ करोड लागतको डिपिआर बने पनि स्रोत नहुँदा काम गर्न कठिनाइ छ । सुरुमा कर्णाली प्रदेश सरकारले ५० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत र अन्य निकायबाट २५ प्रतिशत रकम जुटाउने योजना बनाए पनि मुख्यमन्त्री शाही हटेपछि योजना पनि अलपत्र परेको सासंद विष्टको भनाइ छ ।
एक वर्षमा सातपटक सरेको थियो उद्घाटन मिति
पटकपटकको उद्घाटनकै विषयलाई लिएर चर्चामा आउने कालीकोटको एकमात्र सुनथराली विमानस्थलको उद्घाटन मितिमात्रै एक वर्षमा सातपटक सरिसकेको छ । ०४२ बाट निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको चिलगाडी चढ्ने सपना पूरा हुनसकेको थिएन । ०७३ माघ २९ मा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज भने कहिल्यै फर्किएन । तर विमानस्थल उद्घाटनको मिति भने पटकपटक फर्कियो त्यो सम्भव भएन ।
०५८ को संकटकालमा सेनाले ३६ जना मजदुरको हत्या गरेको विमानस्थलमा सोमबार प्रधानमन्त्री प्रचण्डसहितका सरकारी अधिकारी पुगेर उद्घाटन गरिने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिमालय टाइम्ससँग बताउनुभयो । ‘प्रधानमन्त्रीको सोमबार समय फिक्स भएको छ,’ उहाँले भन्नुभयो, ‘उद्घाटन भएपछि जहाज नियमित गर्न पहल गरिनेछ ।’
विमानस्थलको कालोपत्रे सकिएपछि गतवर्ष विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्ने भन्दै पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभा समेत यहीँ विमानस्थलमा आयोजना गरिएको थियो । त्यसपछि चैत १५, वैैशाख १, वैशाख १५, जेठ १५, असार १५, साउन १०, भदौ २५ गते उद्घाटनको मिति तोकेर स्थगित हुँदै आएको थियो ।
विमानस्थल निर्माणकै क्रममा ३६ जनाले ज्यान गुमाएका थिए
विमानस्थल निमार्णका क्रममा ३६ जना मजदुरले ज्यान गुमाएका थिए । ३६ जना मजदुरलाई नेपाली सेनाले एकैपटक एकै चिहान बनाएको थियो । नेपालमा चलेको १० वर्षे सशस्त्र युद्धका बेला अछाम आक्रमणपछि आएको सेनाको टोलीले विमानस्थलमा काम गरिरहेका ३६ जना मजदुरको हत्या गरेको थियो । विमानस्थल निर्माणका क्रममा धादिङ जोगिमारा स्थायी घर भई विमानस्थल निर्माणको सिलसिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारलाई २०५८ सालमा तत्कालीन राज्यपक्षको शाही सेनाद्वारा विमानस्थलमै गोली हानी हत्या गरिएको थियो ।
उद्घाटनपछि नियमित होला त उडान ?
कालीकोटवासीले गाउँमाथिको आकाशमा हवाइजहाज उडेको देख्न नपाएको ३८ वर्ष भयो । जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति बुढा भए त कतिले त्यहाँबाट नभएर काठमाडौंबाट जहाज चढेर देशै छाडेर विदेशिए । तर करिब चारदशकयता कालीकोटको आकाशमा कुनै जहाज उडेको थिएन ।
कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलको निर्माण विसं ०४२ सालमा सुरु भएको हो । ३८ वर्ष लगाएर विमानस्थल त बन्यो तर ०७३ माघ २९ गते कच्ची धावनमार्गमा पहिलोपटक जहाज परीक्षणका लागि उडानसमते गरियो । नियमित हवाइजहाज चढ्ने कालीकोटवासीको सपना भने छिनभरमै निराशामा परिणत भयो । परीक्षण उडानको भोलिपल्ट समेत स्थानीयनले विमानस्थलमा जहाज देख्न पाएनन् । त्यसयता आठ वर्षसम्म कालीकाटको आकाशमा जहाजनै आएन ।
भौगोलिक रूपमा विकट यो जिल्लामा हवाई सेवा एकमात्र भरपर्दो विकल्प हो । हालसम्म उडान सुरु नहुँदा स्थानीयवासी पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र आइतबार दोस्रोपटकको परीक्षण उडानसमेत सफल भइसकेकाले जहाज नियमित उडान हुन्छ या हुँदैन भन्नेमा यहाँका नागरिकले सम्बन्धित निकायसँग प्रश्न छ ? ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच