समाजवादका भाषण गरेर मात्रै हुँदैन, जनताको परिवर्तन जरुरी छ : नेता खनाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेतृत्वले आवश्यकताअनुसारको काम गर्न नसक्दा जनता आक्रोशित बनेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनता नेतृत्वबाट काम नभएपछि बिद्रोही हुँदै गएको र निराश भएको बताउनु भयो ।

उहाँले सिंहदरबारमा आगो लगाउँछु भन्नेहरुलाई जनताले साथ र स्याब्बासी दिँदै आएको बताउनु भयो । उहाँले देशको नेतृत्व अकर्मण्य भएको बताउनु भयो । समाजवादका भाषण गरेर मात्रै नहुने भन्दै आम जनताको परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेतृत्वमा देखिएको विकृतिका कारण राप्रपा र रास्वपा पार्टीतिर जनताहरु आकर्षित हुन थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता निराश हुँदैछन् । जनता आक्रोशित हुँदैछन् । जनता बिद्रोही हुँदैछन् । जनतामा कस्तो भावना आउन थाल्यो भन्दा एउटाले पागलपनका साथ के भन्छ भन्दा मलाई यस्तो गर्ने, म तेरो सिंहदरबारमा आगो लगाउँछु भन्छ । आधा घण्टामा ३० हजारले लाइक गरे । कस्तो अचम्म । स्याब्बास गर्छन् सिंहदरबार जलाउँछु भन्दा । कस्तो मनस्थिति पैदा हुन थाल्यो देशमा । यो कसले गर्दा भएको ? के बालेनले गर्दा हो ? त्यो खुकुरी नचाउनेले गर्दा हो ? होइन । त्यस्ता चिजहरु किन जन्मिँदैछन् भन्दा यो देशको नेतृत्व अकर्मण्य भयो । दिशाहीन भयो । यसले यो देशलाई दिशा दिन सकेन । आम जनताको परिवर्तन गर्न सकेन । समाजवादका भाषण गरेर मात्रै त हुँदैन नि । नीतिमा ल्याउनुपर्छ, कार्यक्रममा आउनुपर्छ । योजनामा आउनुपर्छ । अहिले यस्तै कारणले विकृति फैलिरहेका छन् । मान्छेले भोट हाल्नु भन्दा राप्रपालाई पो हाल्न थाले । हिजो ३० वर्ष तानाशाही शासन गरेको होइन, उनीहरुले । ३० वर्ष तानाशाही शासन गर्नेलाई अहिले मान्छेले माया पो गर्न थाले । अनि त्यो रास्वपा भन्ने के हो के हो कसैले चिनेको पनि छैन । मान्छेले त्यतैतिर भोट हाल्न थाले । किनभने मेजर पार्टीले गरेनन् । स्थापित पार्टीले नगर्दा मानिसहरु त्यतातिर गइरहेका छन् ।’

पूर्वप्रधानमन्त्री खनालले अहिले देखिएका सबै समस्यालाई समाधानतर्फ लैजाने भनेको समाजवाद मात्रै भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?