पाँचथरमा लागुऔषध कसुर र फरार अभियुक्त गरी चार जना पक्राउ

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 3 mins

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले लागु औषध कसुर र लामो समयदेखि फरार रहेका चार जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

लागू औषध कसुरमा फरार अभियुक्त पाँचथरको फिदिम नगरपालिका वडा न. १० याङनाम घर भई फिदिम बजारमा बस्ने २६ वर्षिय संगम थाम्सुहाङ र यस्तै फिदिम नगरपालिका वडा न. ८ घर भएका फिदिम बजारमा बसोबास गर्दै आएका संजय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

थाम्सुहाङलाई आफ्नै घरबाट र नेम्बाङलाई फिदिम ४ गढीका डेबिड लिम्बुको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शोभित कुसहवाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको कुसहवाले बताउनुभयो । थाम्सुहाङ र नेम्वाङ एउटै मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाबाट गत ०७९ साउन २ गते १४ ग्राम लागु औषध (ब्राउन सुगर) मुद्धामा फरार रहेका ती दुवै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय पाँचथरबाट गत ०७१ वैशाख ४ गते अभद्र ब्यवहार मुद्धामा दश हजार रुपैयाँ जरिवाना भई फरार रहेका ताप्लेजुङ सिनाम ५ घर भई हाल फिदिम बजारमा बसोबास गर्दै आएका विवेक थेवेलाई फिदिम १ शनिबारेबाट पक्राउ गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय पाँचथर बाट गत ०७१ असार १३ गते अभद्र ब्यवहार मुद्धामा ५ हजार जरिवानाको फैसला भई फरार रहेकोमा फिदिम नगरपालिका वडा न. १ बस्ने आशिष यवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुलाई थप आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

लागू औषधक कसुर र फरार अभियुक्तहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?