सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति

आन्दोलनका कार्यक्रम फिर्ता

नारायण भण्डारी
Read Time = 4 mins

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । हेटौँडामा चिकित्सकमाथि आक्रमण भएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारी टोलीबीच आइतबार भएको वार्तामा उक्त सहमति भएको हो । सरकार र चिकित्सकबीच भएको सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका चारजना र पक्राउ पुर्जी जारी भएका अरू पाँच जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । यसैगरी, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिबद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन मासिक बैठक बस्ने व्यवस्था मिलाउने विषय सहमतिपत्रमा लेखिएको छ

यस्तै, स्वास्थ्य क्षेत्रको संवेदनशीलता मनन् गरी सचेततामूलक कार्यक्रमहरू स्वास्थ्य मन्त्रालय र चिकित्सक संघको सहकार्यमा यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने, चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति रोक्न तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने र चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो । आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न सरकारले आइतबार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।

गत बुधबार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको थियो । तर, माग सम्बोधन नभएको भन्दै संघले आइतबार एकदिन अस्पताल, पोलिक्लिनिक, क्लिनिक लगायतमा ओपिडी सेवा रोकेका हुन् । गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौँडाको सञ्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरूले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सञ्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टरमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

डाक्टरहरूलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामी भने उपचार पाउनबाट वञ्चित भएका छन् । डाक्टरले ओपिडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल पुगेका बिरामी उपचार सेवा पाउनबाट वञ्चित भएका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?