चलचित्र पत्रकार संघको ‘तीज उत्सव तथा सम्मान’ कार्यक्रम सम्पन्न

शशिकला र सुचित्रालाई तीज विशेष सम्मान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपाल, महिला विभागको ‘तीज उत्सव तथा सम्मान’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच विभागले ‘तीज उत्सव तथा सम्मान’ कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा नेपाली चलचित्र पत्रकारितामा योगदान पुर्‍याएका दुई व्यक्तिलाई सम्मान गरिएकोे थियो । कार्यक्रममा नेपालकै पहिलो महिला चलचित्र पत्रकार शशिकला मानन्धर र पूर्वचलचित्र पत्रकार (चपसंघ संस्थापकक सदस्य) एवं नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई ‘तीज विशेष सम्मान’ गरिएको थियो ।

तीसको दशकबाटै रंगमञ्च, साहित्यलगायत कला क्षेत्रमा सक्रिय रहेर नेपाली कला क्षेत्रमा योगदान पुर्‍याउँदै नेपाली चलचित्र पत्रकारिताको क्षेत्रमा पहिलो पाइला राख्ने शशिकला मानन्धरले यस सम्मानले आफुलाई निकै खुशी मिलेको बताउनुभयो । मानन्धरले ‘इनाप’, ‘कामना’ ‘गोरखापत्र’ लगायत पत्रपत्रिकामा काम गर्नुभएको थियो ।

चलचित्र पत्रकारको रूपमा करियर सुरु गरेर चलचित्र पत्रकार संघको संस्थापक सदस्य भएर नेपालकै पहिलो महिला निर्देशक हुन सफल सुचित्रा श्रेष्ठले पनि यस सम्मानले आफ्नो कर्मलाई अगाडि बढाउन झनै प्रेरणा मिलेको बताउनुभयो । उहाँ चलचित्र ‘प्रेम युद्ध’ निर्देशन गरेर नेपालको पहिलो महिला निर्देशक बन्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेत्री आदरणीय बसुन्धरा भुसालले चलचित्र पत्रकारले इतिहासलाई खोतल्नुपर्ने भन्दै यो सम्मान निकै ओझपूर्ण भएको जिकिर गर्नुभयो । उहाँले चलचित्र पत्रकार संघ नेपालको महिला विभागलाई धन्यवाद दिँदै तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।

समारोहमा चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समिर बलामी, वरिष्ठ चलचित्र पत्रकार एवं कोरियोग्राफर जयन सुब्बा मानन्धर, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं पत्रकार गीता अधिकारी, सञ्चारकर्मी सबि कार्की लगायतले तीजको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सभाध्यक्ष गर्नुभएकी चलचित्र पत्रकार संघको महिला विभाग संयोजक दीपज्योति थापाले तीजलाई एउटा पर्वको रूपमा मात्र नमनाएर चलचित्र पत्रकारितामा योगदान पुर्‍याउनुहुने अग्रजलाई पनि सम्मान मिलोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले चलचित्र पत्रकारितालाई अझै सुदृढ बनाउनुपर्ने र समयानुसार सञ्चारकर्मीहरू पनि अपडेट हुनु जरुरी रहेको जिकिर गर्नुभयो । कार्यक्रमलाई सञ्चारकर्मी सुष्माश्री कार्कीले सहजीकरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?