स्कुल टु ओलम्पिकको प्रशंसा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई तेस्रो वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा गत शनिबार र आइतबार भएको दुईदिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेका संघका गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले बताउनुभएको छ । फोरममा अन्य देशका सहभागीले पनि आ–आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराउनुभएको थियो ।

‘हामीले संघले पछिल्लो दुई वर्षमा गरेका स्कुल टु ओलम्पिक, ओलम्पियन्स रियुनियनलगायत अन्य कार्यक्रमलाई समेटेर तयार पारिएको भिडियो कार्यक्रमका दौरान प्रस्तुत गर्ने अवसर मिलेको थियो,’ विष्टले भन्नुभयो, ‘त्यसमा स्कुल टु ओलम्पिक अभियानलाई सबैले प्रशंसा गर्दा खुसी लागेको तथा थप प्रेरणा मिलेको छ । हामीले सही कामको सुरुवात गरेको महसुस गरेका छौँ ।’

देशभित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गर्नुपर्नेमा फोरममा जोड दिएको जनाउँदै विष्टले भन्नुभयो, ‘हामीले नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, प्याब्सन, एनप्याब्सनसँग सहकार्य गर्दै स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ, त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौँ ।’

फोरममा विश्वका १५० भन्दा बढी ओलम्पियन्स संघका प्रतिनिधिको सहभागिता रहेको विष्टले बताउनुभयो । सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र सबैबाट सकारात्मक प्रतिक्रिया पाएको विष्टले जनाउनुभयो । वल्र्ड ओलम्पियन्स एसोसिएसनका अध्यक्ष जोय बोउजोउले आफूहरूको संघको उच्च मूल्यांकन गर्दै तारिफ गरेको उल्लेख गर्दै विष्टले नेपाल आउन निमन्त्रणासहित उहाँलाई मायाको चिनोका रूपमा संघका तर्फबाट मयुर अंकित काठको आँखीझ्याल हस्तान्तरण गर्नुभएको थियो । वल्र्ड ओलम्पियन संघका अध्यक्षले समय मिलाएर नेपाल आउने वाचासमेत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?