गाउँ गाउँमा फस्टाउँदै कृषि : व्यावसायिक कृषकको रोजाइमा आधुनिक प्रविधि

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी (दरबाङ) । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरुमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् ।

गाउँका टोलै पिच्छे प्लाष्टिकका टनेल मात्रै टल्किएका होइनन् टनेल भित्र लटरम्मै तरकारी फलेका छन् । टनेल भित्र लगाएका र फलेका तरकारीको रेखदेख,गोडमेल र विक्रि वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरुले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन् । अधिकाँश टनेलमा गोलभेडा फलिरहेका छन् भने केही टनेल भित्र सिमी,बोडि,साग,मुला र अन्य धेरै थरिका तरकारीहरु झुलिरहेका देखिन्छन् ।

व्यवसायिक तरकारी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएपछि घर–घरमा टनेल टल्किएका हुन् ।

म्याग्दीका ज्यामरुककोट,अर्मन,बाबियाचौर,तोरीपानी,सिंगा,पात्लेखेत,खबरा,बगरफाँट लगायतका गाँउमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् ।

प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेंडा कृषकहरुले सदरमुकामसम्म ल्याएर प्रतिकिलो ६० देखि ८० रुपियाँसम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका २ खबराका कृषक शोभित शर्मा सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्लाष्टिकको टनेलभित्र गोलभेंडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकहरुले राम्रै आम्दानी लिएका छौं ।’ जिल्लामा नै अगुवा कृषकको रुपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकहरुले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । एउटा टनेल राख्न ३० देखि ४० हजार रुपियाँसम्म खर्च हुने उहाँ बताउनुहुन्छ ।

एउटा टनेलले एक सिजनमा ५०÷६० हजार रुपियाँसम्म आम्दानी हुने र दोस्रो बर्षदेखि राम्रो कमाई हुने कृषक सापकोटको भनाई छ ।

छैन बजारको अभाव

पछिल्लो समय मानिसहरुमा आग्र्यानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूल भन्दा जिल्लाका ग्रामीण भेगका कृषकहरुले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ ।

पश्चिम म्याग्दीका कृषकहरुको उत्पादन दरबाङ,बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा विक्रि हुने गरेको बावियाचौरका किसान रामहरि पौडेलले बताउनु भयाे ।

त्यसैगरी उत्तरी म्याग्दीका कृषकहरुले फलाएको तरकारी र फलफूल पोखरेबगर,भूरुङ तातोपानी,गलेश्वर लगाएतका बजारमा विक्रि हुने गरेको छ ।

ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार नै रहँदै आएको छ । ‘व्यापारीहरुको पहिले नै अडर आउछ, गाँउमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाई दिन्छु,’ पाँच वटा टनेलमा तरकारी खेती गर्दै आएका खबराका कृषक चन्द्रबहादुर कार्कीले भन्नुभयो ‘बिक्री गर्न कुनै समस्या छैन, कमाई पनि राम्रै हुँदै आएको छ ।’

जिल्लाका ६ वटै स्थानीयले कृषकहरुलाई अनुदान र निशुल्करुपमा समेत कृषि औजार र विऊ विजनहरु उपलव्ध गराउन थालेपछि कृषि पेसामा धेरैको आकर्षण बढेको बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो ।

जिल्लामा क्रियासिल विभिन्न गैर सरकारी सङ्घ सस्थाले कृषकहरुलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बिउबिजन उपलब्ध गराएपछि गाँउगाँउमा प्लाष्टिकको टनेल भित्रिएको हो । केही बर्ष पहिलेसम्म काम बिशेषले सदरमुकाम बेनीबजार जाँदा प्लाष्टिकको झोलामा एक÷दुइ किलो गोलभेडा किनेर ल्याइ छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेल भित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको सानालेखका हरिप्रसाद शर्माले बताउनुभयो ।

गाँउगाँउमा यातायातको पँहुच पुगेसँगै कृषकहरुको प्लाष्टिकको टनेल भित्रको बेमौसमी तरकारी खेती प्रति आकर्षण बढेको उहाँको बुझाई छ ।
सदरमुकाम बेनीबजारमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेंडा लगायतको तरकारी आयात हुँदै आएकोमा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारीहरु बताउछन् ।

जिल्लाका स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार विगत दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका २ सय भन्दा बढी युवाहरुले अहिले व्यवसायिक कृषि पेसा अपनाएका छन् । उनीहरुले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर व्यवसायिकरुपमा कृषिमा लागेका मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?