आर्थिक परिवेश, जी–२० र वातावरण

मेघनाथ दाहाल
Read Time = 14 mins

विश्व परिवेशमा देखापरेको आर्थिक संकट दिनानुदिन गहिरिँदो छ । समग्र माग घट्दो छ, लगानिको मूल्य बढ्दो छ । मानिस क्रमशः बेरोजगार हुँदै जाँदा आय निरन्तर ओरालो लागेको छ । बैंक तथा वित्तीय संस्था आन्तरिक र बाहृय दुवै किसिमको अप्ठ्यारोका कारण कि त लगानी गर्न सकिरहेका छैनन् वा भएको लगानी उठाउन सकिरहेका छैनन् । व्यावसायिक वातावरण खल्बलिएको मात्र नभएर ग्राफ ओरालो लाग्दै जाँदा बजारमा निराशा व्याप्त छ । अफ्ठ्यारो सतही रूपमा कोभिडबाट सुरु भएको जस्तो देखिए तापनि सन् २००८ बाटै सुरु भएको हो ।

सन् २००८ तिरको मन्दीको स्वरूप विभिन्न कारणले विस्तारित रूपमा देखापरिरहेको छ । सन् २००८ मा भने वित्तीय संस्थाको अकर्मन्यताले सुरु भएको त्यो मन्दी सन् २०१९ पछि भने कोरोना विश्वव्यापी मार र सो को प्रभाव स्वरूप बदलियो । तत्कालीन समयमा रियल स्टेटमा गरिएको अन्धाधुन्ध किसिमको लगानीबाट अमेरिकी कम्पनीहरूमा देखापरेको समस्याले स्वयं अमेरिका, युरोप, दक्षिणपूर्वी एशिया, दक्षिण एशियालगायत स्थानमा समस्या देखापरेको थियो ।

स्वाभाविक रूपमा रियल स्टेटमा गरिएको लगानी साँघुरोसँगै निश्चित परिधिको हुने भएकाले रोजगार सिर्जनालगायत उपलब्ध स्रोतसाधनको उत्पादनमुखी प्रयोगको हैकमले काम गर्दैन । सीमित क्षेत्रका निश्चित व्यक्ति तथा समूहको भलो गर्दछ तर बिगार्नु प¥यो भने पूरापूर अर्थतन्त्र नै कोल्याप्स गर्ने क्षमता राख्दछ । कोरोनाको समयपछि विश्वका मजबुत भनिएका मुलुकहरू स्वयं वस्तु तथा सेवाको उत्पादनभन्दा व्यापार, प्रविधिको हस्तान्तरणतिर क्रमशः लागेपछि अचाक्ली किसिमको मूल्यवृद्धिका साथमा मन्दी देखापरेको छ ।

यो समस्याले उचाइ लिएको हो । यसलाई अर्थशास्त्रको भाषामा स्टाग्फ्लेसन भन्ने गरिन्छ । कोरोनापछि लगत्तै अप्रत्याशित रूपमा सुरु भएको युक्रेन रसिया युद्धले यस समस्यामा आगोमा घ्यू थप्ने काम गरेको छ । हालसालै बलिया तथा केही समय बाँच्न सक्ने भनेर चिनिएका अर्थतन्त्रबाहेक प्रायशः सबैको अवस्था नाजुक देखिन्छ । अझ विकासोन्मुख एवं गरिबीले छोपेको विश्व यो मन्दीको माहमारीविरुद्ध लुकेरै भए पनि आफ्नो लडाइँ लडिरहेको छ । भर्खरैमात्र दक्षिण एशियाको मोती भनेर चिनिने श्रीलंकाको अर्थतन्त्र टाट पल्टियो ।

+++++
कोभिडकै समयमा सुरु भएको चीन–अमेरिकी व्यापार युद्ध आजसम्म सुधार हुनसकेको छैन । विश्व बजारमा चीन उन्नत एवं प्राविधिक जनशक्ति र उत्पादन पूर्वाधारको हिसाबमा अगाडि छ भने अमेरिका लागानी तथा गुणस्तरीय उत्पादनस्तरको हिसाबमा अब्बल मानिन्छ ।

+++++

पाकिस्ताको अवस्था राम्रो छैन भनेर स्वयं विश्व बैंकले भनिरहेको छ । यो रोग अफ्रिकन महादीपमा सरेको छ । सन् उन्नाइसमा कोरोनाले उत्पादन एवं वितरणको चेन अफ कमाण्ड भत्काइदिँदा सुरु भएको समस्या केही निहित स्वार्थ भएका, छिट्टै धेरै धन कमाउने उद्देश्य भएकाको साँठगाँठले आजको अवस्थाबाट सिर्जना भएको हो । हाल विश्वामा देखापरेको आर्थिक समस्यामा धेरथोर सबैको योगदान तथा प्रभाव होला तर मुख्यगरी तलका पक्षहरू जिम्मेवार भएकाले यिनीहरू बढी उत्तरदायी हुनुपर्ने हुन्छ ।

चीन अमेरिकी व्यापार युद्ध: कोभिडकै समयमा सुरु भएको चीन–अमेरिकी व्यापार युद्ध आजसम्म सुधार हुनसकेको छैन । विश्व बजारमा चीन उन्नत एवं प्राविधिक जनशक्ति र उत्पादन पूर्वाधारको हिसाबमा अगाडि छ भने अमेरिका लागानी तथा गुणस्तरीय उत्पादनस्तरको हिसाबमा अब्बल मानिन्छ । विगत दुई दशकमा चीनको आर्थिक क्षेत्रको चामत्कारिक प्रगतिले पश्चिमालाई सोच्न बाध्य हुने अवस्थामा पु¥याएको छ । विश्व बजारमा प्रविधि, वस्तु सेवाको हकमा प्रत्यक्ष–परोक्ष रूपमा यी दुई मुलुकले मात्र २५ प्रतिशत भन्दा माथिको कारोबार गर्ने गरेको पाइन्छ ।

यही हिसाबमा जब यी दुईबीचको व्यापारिक सम्बन्ध राम्रो हुन सक्दैन । स्वाभाविक रूपमा विश्व बजारमा समस्या देखिन थाल्दछ । चीन र अमेरिकी व्यापारमा आधारित उत्पादन बजारमा मात्र पनि २५ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । त्यसैगरी २५० देखि ३५० अर्ब डलरसम्मको वार्षिक कोरोबार यी दुई मुलुकबीच भइरहेको छ । विश्वमा भइरहेको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा ठूलो हिस्सामा दुई मुलुकबीचको तिक्तताले समस्यामाथि मलजल गरेको छ । पछिल्लो समय चिनियाँ युवाहरूमाझ देखिएको बेरोजगारी दर र सोले सिर्जना गरेको फ्रस्टेसनको अवस्थाप्रति विचार पु¥याउनुपर्नेछ । किनभने अमेरिकी युवाहरूभन्दा चीनियाँ भविषयप्रति धेरै आशावादी देखिन छाडेका छन् ।

जी–२० लगायत बलिया मुलुकको अवस्था: विश्व बजारमा कोभिडको झड्कासँगै वातावरणलगायत समग्र प्राकृतिक प्रणालीमा देखापरेको समस्याले विश्वका औद्योगिक रूपमा सम्पन्न २० मुलुकहरूको उत्पादन प्रणाली विथोलिन पुगेको छ । साथै रसिया र युक्रेनको अप्रत्याशित युद्धले समग्र युरोप, अमेरिकालगायत क्षेत्र भित्रभित्रै फसिरहेका छन् । विश्व वातावरणीय प्रणालीमा विकसित नराम्रा स्वरूपले प्रकृतिमा आधारित उत्पादनमा धेरै धक्का पुगेको छ । विश्वका धनी तथा मध्यम आय भकाहरूको आम्दानीमा आएको कमीले समग्र मागमा कमी छ ।

बजारको समग्र उत्पादनलाई असर पु¥याएको छ । उच्च मूल्य वृद्धिको साथमा देखापरेको बढ्दो बेरोजगारीलाई कसरी सम्बोधन गर्ने भन्ने कुरामा विश्वका धेरै मुलुकले घनीभूत छलफल गरे तापनि ठोस निष्कर्ष निकाल्न सकिरहेका छैनन् । यसै मेसेमा चीनले कर्पोरेट बैंक लोनको ब्याजदरमा धेरै कटौती गरेको छ तर पश्चिमा अझ कस्ने विचारमा छन् । पुँजीवादी कित्ता र समाजवादी कित्ता विस्तारै छुट्टिँदो छ । हुन त पश्चिमाहरू चीनलाई समाजवादी भन्न रुचाउँदैनन् ।

+++++
भर्खरै भारतको नयाँदिल्लीमा सम्पन्न जी–२० समूहको भेला वातावरणीय मुद्दामा केन्द्रित हुँदै अबको विश्व भनेको सबैको साझा हो भन्ने घोषणापत्रका साथ सम्पन्न भएको छ । के यो भनाइ वास्तविकतामा देखिन सक्छ त ?
+++++

उनीहरू चीनको आर्थिक स्वरूप र प्रणालीलाई राज्यद्वारा सञ्चालित पुँजीवादी प्रणाली भन्न रुचाउँछन् । भारत, इण्डोनेशिया, ब्राजिल, मलेशिया, केही युरोपेली मुलुकलगायत यसै समूहमा पर्ने अन्य धेरैको आर्थिक कारोबार तथा अवस्था हालका दिनमा त्यति राम्रोसँग चल्न सकेको छैन । यसले समग्र विश्व परिवेशको रोजगारीस्तर, उत्पादनको परिमाणमा असर पु¥याइरहेको छ । औद्योगिक रूपमा सम्पन्न मुलुकहरूको स्तरोन्नतिले अझ समस्या बढाउने हो कि भन्ने आशंका छ ।

मुख्यकारण साना तथा आर्थिक रूपमा कम विकसित मुलुकमा बेरोजगारीलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्ने अवस्था छ । अन्यथा भोलि राजनीतिक रूपमा सुरु भएको समस्याले विकराल रूप लिन सक्छ र अन्तत्वगत्वा कुनै पनि मुलुक विशेषको आर्थिक समस्यालाई नै बढावा दिने हो ।

वातावरणीय मुद्दा र गरिब मुलुक: भर्खरै भारतको नयाँदिल्लीमा सम्पन्न जी–२० समूहको भेला वातावरणीय मुद्दामा केन्द्रित हुँदै अबको विश्व भनेको सबैको साझा हो भन्ने घोषणापत्रका साथ सम्पन्न भएको छ । तर, के यो भनाइ वास्तविकतामा देखिन सक्छ त ? आर्थिक फाइदा एवं सामरिक उचाइको अगाडि यस किसिमको मानवीय एवं आदर्शले अर्थ राख्न सक्लान् त भन्ने आशंका व्याप्त छ । अघिल्ला मिटिङहरूमा अमेरिका वातावरणीय मुद्दाभन्दा आर्थिक वृद्धिलाई जोड दिँदै आएको देखिन्थ्यो भने हालका वर्षमा यो काम हाम्रा निकट छिमेकीहरूको काँधमा आएकाले आगामी वर्षमा कस्तो रणनीति अपनाउने हुन् भन्ने विषयले अर्थ राख्दछ ।

वातावरणीय मुद्दामा खासगरी जी–२० समूहका मुलुकहरू अलि संवेदनशील हुनुपर्ने छ । मुख्य गरेर यिनीहरूले हाल भइरहेको उत्पादनको ८० प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशत, विश्व जनसंख्याको ६५ प्रतिशत र भूगोलको ६० प्रतिशत हिस्सा ओगटेको पाइन्छ । यिनीहरूको समग्र उत्पादन तथा वितरण प्रक्रिया वातावरणमैत्री हुनसके सजिलै गरिब मुलुक पनि लाभान्वित हुने थिए । विश्वमा हालका दिनमा भइरहेको वातावरणीय क्षति हुन सहयोगी हुने सबै किसिमका ग्यास, तरल एवं ठोस वस्तुहरूको उत्सर्जनमा यी मुलुकहरूको भूमिका लगभग ९० प्रतिशत माथि रहेको छ ।

विश्व बैंक, आइएमएफ, ब्रिक्सलगायतको भूमिका: अविकसित मुलुकहरूको स्तरोन्नतिको हकमा अन्तर्राष्ट्रियस्तरका धेरै बैंक तथा वित्तीय संस्थाहरूको भूमिकामा कसैले पनि अनावश्यक लान्छना लगाउन सक्दैन । फरक के मात्र हो भने जसले राम्रो काम गर्न सके उनीहरूको ऋण तथा अनुदानको प्रयोग सही किसिमले भएको छ भने हामी जस्ताको हकमा वार्षिक ऋणको भारी बढ्दो छ । आगामी दिनमा यी र यस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघसंस्थाको प्राथमिकतामा लगानीको साथै वातावरणीय पक्षमा विशेष ध्यान पु¥याउनुपर्नेछ । हुन त दिगो विकासको सत्रवटा लक्ष्यहरूको साथमा पन्धौं योजना सम्पन्न गर्ने तरखरमा छौं तर आशातीत काम हुन सकेको छैन । विकासको नाममा विनाश निम्त्याइरहेका छौं । सबै किसिमको आर्थिक सहयोगप्रति आभारी हुँदै परियोजना छनौटको अधिकार हामी आफैंले लिने हो भने केही सहज वातावरण हुनसक्छ । नेपालजस्ता मुलुकहरूको समस्या भनेको ठूला किसिमका पूर्वाधारजन्यलगायत विकास परियोजनाका लागि आवश्यक रकम आफैं जुटाउन सक्ने हैसियत नहुँदा परनिर्भर हुनुपर्नेछ ।

अन्त्यमा, विकास, वातावरण र मानवीय जनसंख्याको त्रिकोणात्मक सहज सम्बन्ध र सहकार्यले नै आजको वातावरण र मानव समाज भोलिका लागि रहने भएकाले सबै मुलुक बोलीमा मात्र नभएर नीतिगत व्यवस्थामा उत्तिकै सबल र काबिल हुनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?