अतिवादको चपेटामा फस्दै देश

इन्द्रबहादुर बराल
Read Time = 14 mins

केही समय पहिले धरानमा भएको घटनाका कारण नेपाल झडै जातीय एवं धार्मिक हिंसाको नजिक पुगेको आवास भयो । मन्दिरको आमुन्नेसामुन्ने चर्च बनेपछि त्यसले धार्मिक सहिष्णुतामा खलल पुगेको छ । गौबधको घटनाले कट्टर हिन्दुहरू संविधानमा टेकेर त्यसको (गौबधको) चर्को विरोध गरिरहेका छन् जुन स्वाभाविक हो । कानुनले बर्जित गरेको विषयलाई खुला चुनौती दिनु चरम अराजकता हो । समाजमा यसले ठूलो चिन्ता र चासो बढाएको छ । हामीलाई थाहा भएकै कुरा हो नेपाली समाजका केही समुदायका मानिसले मरेका गाई–गोरु खाने गरेका थिए तर मारेर होइन । यो अहिलेको घटनाले देशमा जातीय तथा धार्मिक द्वन्द्व सन्निकट देखिन्छ ।

यसले त के स्मरण गराउँछ भने मध्यअफ्रिकी देश रुवाण्डा र बुरुण्डीमा भएको हुतु र तुस्सी जातिबीचको कहालीलाग्दो नरसंहारको पुनरावृत्ति गराउन खोज्दै छ । यो त भयो सन् १९७२, १९९३, १९९४, १९९५ को दर्दनाक घटना जहाँ लाखौं मानिसले आफ्नो अमूल्य जीवन गुमाउनुपरेको थियो । अहिले आएर छिमेकी मुलुक भारतको मणिपुरमा त्यस्तै दुःखद् घटना भयो र अझै त्यो राम्रोसँग मत्थर भएको पनि छैन । यस्तो अवस्था विद्यमान देख्दादेख्दै हामीले चेतेनौं भने निसन्देह ठूलो दुर्घटना व्यहोर्नु पर्ने निश्चित जस्तै छ जसलाई टार्न मुस्किल हुनेछ । त्यसैले विश्वमा भएका घटनाबाट पाठ सिकेर सम्भावित दुर्घटनाबाट जोगिनेतिर लाग्नु बुद्विमानी ठहरिन्छ ।

राज्य वा सरकार यसतर्फ अलि बढी सचेत हुनु अनिवार्य छ । निरपेक्ष बस्नु वा नजानिदो ढंगले कुनै एकको पक्ष लिन खोजियो भने यो घटनाले देशलाई ठूलै अनिष्टबाट रोक्न सक्ने क्षमता यो राज्य वा सरकारले राख्न सक्दैन । हेर्नुहोस् नेपाल यस्तो देश हो विसं २०३६ सालमा पकिस्तानमा त्यहाँका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई सैनिक कु गरेर जियाउल हकले मृत्युुदण्ड दिएको घटनाले नेपालमा आन्दोलन चर्किएर अन्ततः जनमत संग्रहको घोषणा गर्न बाध्य गराएको तथ्य ताजा छ ।

जनमत संग्रह गराउन जसरी प्रजातन्त्रवादीहरू सडकमा निस्केका थिए आज त्यसरी नै सिंगो प्रणालीलाई आत्मसात गर्न नसकेका हिन्दु अतिवादी र राजतन्त्रका पक्षधर शक्ति अहिलेको यो परिस्थितिको भरपुर राजनीति लाभ लिन उद्धत छन् जुन कुरा कहिकतैबाट छिपेको छैन । यो यथार्थतालाई राम्रोसँग अध्ययन विश्लेषण गरी उचित कदम नचाले यो नेपालको संविधान २०७२ जोगाउन जो आए पनि सक्ने छैन र पुनः देश ठूलो संकटमा फस्ने प्रायः निश्चित देखिन्छ ।

नेपालमा विस्तारै धार्मिक एवं सामाजिक सद्भावमा खलल पुग्न गई ठूलो मानवीय क्षति हुने टड्कारो रूपमा देखिएको छ जसलाई टार्न यहाँ गतिशील नेतृत्व यो देशले खोजिरहेको छ । यसै पनि नेपालमा विश्वका सबै खाले शक्तिको चलखेल भइरहेको छ ।

त्यसैले हरेक कुराको समाधान ठीक/ठीक समयमा गर्नु नै गतिशील नेतृत्वको क्षमता हो । नेतृत्व कति गतिशील छ वा छैन त्यसको परीक्षण उसको निर्णायक क्षमतामा भर पर्छ । अहिले बेला आएको छ गतिशील नेतृत्वले आफ्नो परिचय दिने वा स्थापित हुने । होइन भने भीरबाट लडेको गोरु वा गाईलाई राम राम भन्नुबाहेक अर्को विकल्प रहने छैन ।

हाम्रो नेपाली समाजमा एउटा पुरानो भनाइ छ ‘सुखका बेला सबै आफ्ना दुःखका बेला सबै बिराना’ । यस्तो भनाइ त्यसै आएको होइन । यसर्थ प्रधानमन्त्री प्रचण्ड मैले धेरै राम्रो गरेको छु जनताले मलाई साथ दिने छन् भन्ने भ्रममै बस्नुभयो भने मान्नु हो तपाईंका दिन अब सकिँदै छन् । त्यसले प्रधानमन्त्री प्रचण्ड आँखा खोल र भ्रम तोड । अनिमात्रै देशमा निकट भविष्यमा उत्पन्न संकट टार्न सकिएला नत्र ‘नरहे बाँस नबजे बाँसुरी’ पक्का छ । हामीलाई इतिहासले जानकारी गराएको छ कि दुई तिहाइ बहुमतको सरकार जोगाउन नसकेको बीपी कोइराला जस्ता डाइनामिक लिडरसमेत कहीँ न कहीँ चुकेका थिए भन्न सकिने ठाउँ छ ।

तसर्थ तपाईं त पुतली सरकार हो प्रचण्ड यत्ति कुरा ख्याल राख्नु होला अब पनि द्वन्द्वकालमा उठाएका मुद्दालाई औजार बनाएर जान्छु भन्ने धङधङीमा देखिनुभयो भने देशको मात्रै होइन सिंगो पद्धति नै समाप्त हुने खतरा घाम जस्तै छर्लंगै छ । यो एउटा गम्भीर खतराको संकेत हो । यसलाई सामान्य रूपमा लिनु भुल हुनेछ । मंगोल अर्गनाइजेसनका चुनौती त्यत्तिकै भयाबह छन् भने हिन्दु धर्मका विद्वान पुराण वाचिका राधिका दासीजीले दिएको अभिव्यक्तिले एउटा धार्मिक अतिवादी समुदायलाई उद्वेलित गराएको छ । के धर्मका पण्डित (विद्वान विदुषी)ले दिने प्रवचन त्यस्तै हुनुपर्ने हो त ? एक मिनेटमा धरान ध्वस्त पारिदिन्छु भन्ने ?

नेपाल धार्मिक, सामाजिक, भाषिक, सांस्कृतिक आदि विविधतामा अडेको देश हो । एउटै धर्मभित्र विभिन्न सम्प्रदाय पाइन्छन् । कसैकसैले अलि बढाइचढाइ आफ्नो धर्म सबैभन्दा महान् भनाउन खोज्छन् । त्यो पनि एउटा समस्याको जड हो ।

त्यसैले नेपालमा विस्तारै धार्मिक एवं सामाजिक सद्भावमा खलल पुग्न गई ठूलो मानवीय क्षति हुने टड्कारो रूपमा देखिएको छ जसलाई टार्न यहाँ गतिशील नेतृत्व यो देशले खोजिरहेको छ । यसै पनि नेपालमा विश्वका सबै खाले शक्तिहरूको चलखेल भइरहेको छ कसले कस्तो भित्री रणनीति लिएका छन् त्यो हामीले आकलन गर्न सकिरहेका छैनौं । यस्तो अवस्थामा आन्तरिक र बाहृय सन्तुलन कायम गर्न सकेनौं भने पक्कै पनि हामी संकटको दलदलमा फस्ने छौं । यो सम्पूर्ण परिस्थितिको जिम्मेवार सरकार हुन्छ । काम गर्दा पाइलैपिच्छे समस्या आउँदै गर्छन् र त्यस्ता समस्यालाई यथोचित समयमा समाधान गर्दै जानु राज्य र अलि–अलि समुदायको पनि जिम्मेवारी हो ।

समुदायको साथ पाएन भने राज्यले एक्लै गर्न कठिन हुन्छ । यसर्थ राज्यले समुदायलाई विश्वासमा लिएर काम गर्ने वातावरण सिर्जना गर्नु अर्को दायित्व हो । त्यो अवस्था यहाँ देखिइसकेको छ जसका कारण समस्या थप बल्झिँदै जाने अवस्था विद्यमान देखिन्छ । त्यसैले अब कत्ति पनि ढिला नगरी देयर एण्ड देन देशमा उत्पन्न धार्मिक सामाजिक द्वन्द्वलाई समाधानतर्फ लाग्नुको विकल्प देखिँदैन । समयको मूल विषयको गहिराइमा पुगेर समाधानको उपाय खोजिनुपर्छ भन्ने लाग्छ । वर्तमान विवादको मूल जड के हो भन्ने गहिराइमा नपुगी समाधान खोज्नु अँध्यारोमा छामछुम गरेर उज्यालो खोजे जस्तोमात्रै हो ।

पञ्चायतकालमा यस्ता जातीय तथा धार्मिक विवाद निकै कम सुनिन्थे त्यो पनि खुलेर होइन । किनकि, त्यस समयमा मानिसका मौलिक हकअधिकारमाथि प्रतिबन्ध थियो । त्यसैले केही मुठ्ठीभरका मानिस जसले मानवअधिकार तथा मौलिक हकको महत्व बुझेका हुन्थे । त्यसैले सीमित मानिसले विस्तारै भूमिगत संगठन गरेको पाइन्थ्यो जुन कुरा आजको केही युवा पुस्तालाई मात्रै जानकारी थियो जो जिज्ञासु हुन्थे । नत्र पञ्चायतकालको ३० वर्षे कालरात्रि कति निरंकुश र कठोर तानाशाही व्यवस्था कसरी लादिएको थियो भन्ने जानकारीसमेत नहुनेको संख्या निकै कम हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

किनकि यो पुस्ता आफ्नो निजी जीवन उज्ज्वल भविष्यका लागि विश्वको कुन मुलुकमा अवसर छ त्यसका लागि उनीहरू तड्पिरहेका हुन्छन् । इतिहासका पाना पल्टाएर हेर्ने न उनीहरूमा रुचि छ न समय नै । त्यसैले पनि विगतका ती निरंकुशतन्त्रका अवशेषको पछि लाग्ने थिएनन् । स्कुल, कलेज र विश्वविद्यालयले पनि इतिहासलाई उच्च–प्राथमिकतामा नराख्नुले पनि युवाहरू इतिहासप्रति अरुचि हुनसक्ने एउटा कारण हुन सक्छ । किनभने, यो समय विज्ञान तथा प्रविधिको युग हो । सारा संसार त्यसैले पिटेको छ युवाहरूको त कुरै छाडौं ।

त्यसैले राष्ट्रियताको साँघुरो घेराबाट आजको नयाँ पुस्ता फुत्कन खोज्छ । बसुधैव कुटुम्बकम भन्ने सबैले बुझिसकेका छन् भन्ने पनि शासक वर्गमा हेक्का रहनुपर्छ । अब अन्त्यमा एकछिन वर्तमान समस्याको जरो खोतल्नतिर लागौं । नेपाल एउटा सुन्दर शान्त देश हो । नेपाल धार्मिक, सामाजिक, भाषिक, सांस्कृतिक आदि विविधतामा अडेको देश हो । एउटै धर्मभित्र पनि विभिन्न सम्प्रदाय पाइन्छन् । कसैकसैले अलि बढाइचढाइ आफ्नो धर्म सबैभन्दा महान् भनाउन खोज्छन् । त्यो पनि एउटा समस्याको जड हो ।

सबै धर्म, भाषा र जातिलाई समान व्यवहारमा कञ्जुस्याइँ गर्नु अर्को कारण हो । जे होस् मंगोलहरूको मागप्रति विशेष गरेर नेकपा माओवादी केन्द्र नरम देखिँदा स्वभावैले जातीयता पक्षधर उत्साहित हुँदा अरू धर्मावलम्बी र जातीय समूह आक्रोशित हुनु स्वाभाविक हो । त्यसैको परिणाम आज हिन्दु ब्राहृमण र इसाईबीच टकराव हुँदै गएको छ । यसलाई ठीक समयमा सुझाइएन भने देश दुर्घटना उन्मुख हुनसक्ने अवस्थालाई नकार्न सकिँदैन ।

यस परिस्थितिले निर्माण गरेको जातीय एवम् सामाजिक सद्भाव बिथोलिन पुग्यो भने निश्चित रूपमा देश कहालिलाग्दो अन्धकारतर्फ धकेलिनेछ । यस अवस्थामा पुर्पुरामा हात राखेर बस्नुबाहेक अरू के नै रहनेछ र ? यसर्थ यथासम्भव जातीय तथा धार्मिक असहिष्णुताको ज्वालालाई निस्तेज पार्नतिर लाग्नु बुद्विमानी ठहरिनेछ । नत्र देश दुर्घटना उन्मुख हुनबाट रोक्ने सक्ने तागत देखिँदैन, त्यो मुस्किल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?