राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन :

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता, अन्तर्राष्ट्रिय सद्भाव र समर्थनका लागि अपिल

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई शुक्रबार नेपालको तर्फबाट सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन लागिपरेको बताउनुभएको हो । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै पक्षसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । ‘नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिरहेको छ । प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु,’ उहाँले भन्नुभयो । सत्यनिरूपण तथा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि संघीय संसद्मा दर्ता भएको जानकारी गराउँदै पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

विधेयकमा व्यापक परामर्श प्रक्रियामार्फत विकसित हुने, पीडित केन्द्रित दृष्टिकोण लिने र पीडितको अधिकारको रूपमा परिपूरणलाई मान्यता दिने उहाँले बताउनुभयो । ‘संक्रमणकालीन न्यायको प्रक्रियामा मानव अधिकारको गम्भीर उल्लंघनका लागि कुनै पनि आममाफी हुनेछैन । शान्ति, न्याय र मेलमिलापको माध्यमबाट देशमा दिगो शान्ति स्थापना गर्नु र समाजमा सद्भाव कायम गर्नु मुख्य उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘म अन्तर्राष्ट्रिय समुदायलाई हाम्रो शान्ति प्रक्रियाको अन्तिम चरणको निष्कर्षमा सद्भाव र समर्थनका लागि अपिल गर्दछु । सफल द्वन्द्व रूपान्तरणको यो दुर्लभ उदाहरणलाई उचित रूपमा मान्यता दिन चाहन्छु ।’

अन्तर्राष्ट्रिय सहयोगका लागि आहृवान
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले दुई चरणको स्थानीय, प्रादेशिक, संघीय संरचनाको निर्वाचन सम्पन्न भएर महिला, युवा, दलित र अल्पसंख्यकहरूको सहभागितालाई सरकारी निकायमा सामेल गराउन सफल भएको बताउनुभयो । नेपालले दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको उहाँले सभालाई जानकारी गराउनुभयो । ‘हामीहरूले सन् २०२६ मा मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारी गरेका छौँ, यसमा हामी प्रतिबद्ध भएर लागिपरेका छौँ,’ सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘हामीहरूले अहिले सुव्यवस्थित तरिकाले स्तरोन्नतिको रणनीतिलाई अन्तिम रूप दिइरहेका छौँ । हामीहरूले दिगो विकासलाई हामीहरूको विकासको केन्द्र र प्राथमिकतामा राखेका छौँ । तर, महामारी, जलवायु परिवर्तन, भूराजनीतिक टकरावले हामीहरूको दिगो विकासको रणनीतिलाई गम्भीर चुनौती दिएको छ । अन्तर्राष्ट्रिय सहयोगको आहृवान गरिरहेका छौँ, हामीहरूलाई प्रत्यक्ष वैदेशिक लगानी, निर्यात वृद्धि, प्रविधिको रूपान्तरण, प्राविधिक सहयोगजस्ता विषय आवश्यक छ भनेर भनिरहेका छौँ ।’

अन्यायपूर्वक तरिकाले जलवायु परिवर्तनको असरको सामना गर्नुपरेको गुनासो
विश्वभर जलवायु परिवर्तनले संकटको घडी आइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले मानवताका लागि ठूलो दुर्घटना निम्त्याइरहेको बताउनुभयो । ‘अहिले हाम्रोजस्तो हिमाल भएका देशहरूले गम्भीर संकटको सामना गर्नुपरेको छ, करिब दुई अर्ब जनसंख्याको पानीको स्रोतका रूपमा रहेको हिमालयहरू जलवायु परिवर्तनले हिउँ पग्लिएर जाने प्रवृत्ति दिएको छ,’ उहाँले भन्नुभयो, ‘यसले हामीहरूको हिमाललाई मात्र संकट उत्पन्न गराएको छैन, लाखौँ मानिसहरूको जीवनलाई संकटमा पारेको छ, यो एउटा गम्भीर अवस्था हो ।’

उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पेरिस सम्झौताअनुसार काम गर्न सकियोस् भन्ने कामना गर्नुभयो । ‘हामीहरूको ४५ प्रतिशत भूभाग जंगल छ, १५ प्रतिशत भूभाग उच्च हिमशृंखला रहेको छ । पर्यावरणीय संरक्षणका लागि महत्वपूर्ण योगदान दिएको छ तर, अन्यायपूर्वक तरिकाले जलवायु परिवर्तनको असरको सामना गर्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘यस प्रकारको मिसम्याचलाई कुनै प्रकारको राहतले सम्बोधन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । नेपालले २०४५ मा शून्य कार्बन उत्सर्जनमा लैजान महत्वकांक्षी योजना अगाडि सारेको छ । भूमि, वनजंगलको संरक्षण र पानीको स्रोत कायम गर्दै हरित अर्थ व्यवस्थालाई कायम राख्न हामी प्रयत्नशील छौँ । हामीहरू स्वच्छ ऊर्जा हरेक नागरिकलाई प्रदान गर्न प्रतिबद्ध रहेका छौँ ।’

शान्ति, समृद्धि र प्रगतिलाई साझा लक्ष्य बनाएर अघि बढ्न विश्व समुदायलाई आग्रह
प्रधानमन्त्री प्रचण्डले देशभित्र र देश–देशबीचको द्वन्द्व बढ्दै गएको कुरा निकै दुःखद रहेको टिप्पणी गर्नुभयो । लिबिया, सिरिया र यमनका जनता लामो समयदेखि जारी संकटको चपेटामा परेको बताउँदै उनीहरूको पीडाको अन्त्य हुनुपर्ने प्रचण्डले बताउनुभयो । प्यालेस्टिनी जनता लामो समयदेखि जारी द्वन्द्वको अन्त्यका लागि शान्तिका हकदार रहेको बताउँदै नेपालले इजरायल र प्यालेस्टाइनसँगको यूएन प्रस्तावका आधारमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय सीमानामा शान्तिपूर्ण रूपमा बस्दै दुई देशबीचको द्वन्द्व समाधानका लागि आफ्नो समर्थन रहेको दोहोर्‍याउनुभयो । ‘नेपालले कुनै पनि देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ताविरुद्ध बल प्रयोग वा धम्कीको विरोध गर्दछ । लिबिया, सिरिया र यमनका जनता लामो समयदेखि जारी संकटको चपेटामा परेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूको पीडाको अन्त्य हुनुपर्छ ।’

भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद, शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति र सुरक्षा कायम गर्न चुनौती थपिएको बताउँदै उहाँले संयुक्त राष्ट्रसंघको बडापत्रमाथि नै गम्भीर समस्या उत्पन्न भएको टिप्प्णी गर्नुभयो । विश्व समुदायलाई विद्यमान कोर्स परिवर्तन गरेर सबैको साझा लक्ष्य शान्ति, समृद्धि र प्रगति बनाएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

सामूहिक विनाशका हतियारहरूको प्रसारले विश्वको शान्ति र सुरक्षालाई खतरामा पारेको उहाँको भनाइ थियो । नेपालले आतंकवादको सबै रूप र अभिव्यक्तिको निन्दा गर्ने उहाँले बताउनुभयो । ‘आणविक हतियारको निरन्तर भण्डारण, बढ्दो हतियार प्रसार र निरन्तर बढ्दो सैन्य खर्च चिन्ताजनक छ । नेपालले जैविक, रासायनिक, आणविक र रेडियोलोजिकल हतियारलगायत आमविनाशका सबै हतियारको पूर्ण र सामयिक निशस्त्रीकरणको आहृवान दोहो¥याउँछ,’ उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति बाइडेनसँग भेटघाट
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने अमेरिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र बाइडेलबीच रात्रिभोजमा भेटघाट भएको हो । भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहालसमेत सहभागी हुनुहुन्थ्यो । यो औपचारिक भेटवार्ता भने होइन । संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै चीन प्रस्थान
प्रधानमन्त्री प्रचण्ड शुक्रबार चीन प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड शुक्रबार चीनको हाङ्जाओ प्रस्थान गर्नुभएको हो । उहाँ न्युयोर्कबाट सिधै हाङ्जाओ प्रस्थान गर्नुभएको हो । एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन प्रचण्ड हाङ्जाओ जानुभएको हो । असोज ६ गते शनिबारदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्दै हुनुहुन्छ । उहाँले बेइजिङको पनि भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा हाङ्जाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते न्युयोर्क जानुभएको थियो । चीन भ्रमण सकेर प्रचण्ड असोज १३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?