भाषाको जननी भाषा संस्कृत भाषा : कुलपति राई

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । संस्कृत दिवस समारोह काठमाडौंमा मंगलबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ । समारोह नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको अनुसन्धान व्यवस्थापन समिति र भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई समुपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा मुख्य वक्ताका रूपमा चिन्मय विश्वविद्यालयका पूर्वकुलपति तथा चिनणमय इन्टरनेशनल संस्थाकी निर्देशक प्राध्यापक गौरी माहुलीकरको विशेष समुपस्थिति रहेको थियो ।

उक्त समारोह उद्घाटन सत्र र कार्यपत्र गरी दुईभागमा विभाजन गरी सम्पन्न गरिएको थियो । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावासकी निर्देशक आशावरी वापटले स्वागत मन्तव्यक्त राख्नु भएको थियो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संस्कृत दिवसका अवसरमा सबै भाषाको जननी भाषाका रूपमा संस्कृत भाषा उच्च रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘मनको भाषा नै पछि वाणीमा विकास भएको हुनसक्ने, सबै भाषाको प्राचीनता कथ्यरूपमा सिद्ध हुनसक्ने भए पनि संस्कृतभाषा लेख्यरूपमा सुरक्षित हुन सकेकाले प्राचीन हो ।’ संस्कृत भाषामा पौरस्त्य दर्शन, साहित्य, कला आदि भएकाले संस्कृत सर्वदा जीवन्त हुने, सर्वदैव अमर रहनेछ भन्दै उहाँले सबै भाषाको जननी संस्कृत रहेको स्मरण गराउनुभयो ।

सन्तान पाएपछि मातृसत्ता हट्नै पर्दो रहेछ माकुराको जस्तै प्रकृति विज्ञान संस्कृतमा किन घटेन त ? भन्दै साहित्य कला, दर्शन, जीवनपद्धति, संस्कृति सुरक्षित भएकाले संस्कृत सर्वदैव जीवन्त र अमर रहने उहाँको बुझई छ । सबैले आ-आफ्ना भाषाप्रति उत्तिकै माया गरौं, हामी सबैले सहअस्तित्वलाई बोध गर्दै अघि बढौं भन्ने कुलपति राईले आग्रह गर्नुभएको थियो ।

कालिदास जयन्ती तथा संस्कृत दिवसका अवसरमा प्राडा.काशीनाथ न्यौपानेद्वारा कालिदास (उपमा) का विषयमा विशेष चर्चा गर्दै सबैले संस्कृतमै बोलचाल गर्न सकिने धारण राख्नुभएको थियो । हनुमान र रावणसमेत संस्कृत बोल्छन् राम र सीतासमेत संस्कृत बोलेका थिए भन्नु हुँदै न्यौपानेले अतस् संस्कृतभाषा देवभाषा, राक्षसभाषा, नारीभाषा, पशुभाषा भएकाले सबैको साझा भाषाका रूपमा संस्कृतभाषा सिद्ध भएको उहाँको विचार थियो ।

विशिष्ट अतिथि चिन्मय इन्टरनेशनल फाउण्डेशनका एकेडेमिक डाइरेक्टर तथा चिन्मय विश्वविद्यालय केरलाकी पूर्वकुलपति प्राध्यापक (गौरी माहुलीकरले संस्कृत दिवस कार्यक्रममा समुपस्थित भई सहभागी हुन पाएकामा गौरवान्वित भएको भन्दै देवतामा कालिदासको (देवतात्मा) काव्यकलाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कालिदासको काव्यवैभव तथा काव्यकलाको महत्व प्रतिपादन गर्नु भएको थयो ।

त्यसैगरी प्रथमसत्रका अन्तमा सभाध्यक्ष प्राध्यापक डा.शान्तिकृष्ण अधिकारीज्यूले संस्कृतमा निहित ज्ञानलाई अनुसन्धान गर्दै पस्कँदै जानु हामी संस्कृत विश्वविद्यालयका सबै गुरु तथा विद्यार्थीको दायित्व रहेको भन्दै संस्कृतले संस्कृतमा निहित ज्ञानलाई अनुसन्धान गर्दै पस्कँदै जानु हामी संस्कृत विश्वविद्यालयका सबै गुरु तथा विद्यार्थीको दायित्व भएको बताउनु भयो । उहाँले सम्पूर्ण विश्वब्रहृमाण्डको शान्तिकामना गर्ने संस्कृतको सेवामा हामी सबै समर्पित बन्न आग्रह गर्दै प्रथमसत्र समापन गर्नुभएको थियो ।

द्वितीयसत्रको सभापति (वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा.भागवत ढकाल हुनुहुन्थ्यो । उक्त समारोहमा प्राडा.जीवन अधिकारीले आदर्श प्रयोगको दृष्टान्त महाकवि कालिदास शीर्षकमा संस्कृत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा ने.सं.वि.प्राध्यापक संघ केन्दीय समितिका अध्यक्ष प्राध्यापक शम्भुराज गौतमले कालिदास जयन्ती तथा संस्कृत दिवसका अवसरमा ज्ञानवर्धक कार्यक्रम समायोजना गर्ने आयोजकप्रति धन्यवाद दिँदै शुभकामना प्रदान गर्नु भएको थियो ।
त्यस्तै विभागका तर्फबाट प्राडा. धनेश्वर नेपालले ज्ञानविज्ञानको विशाल भण्डार संस्कृतमा रहेकाले नयाँ पुस्तासँग जोड्दै लैजानुपर्ने आवश्यकता दर्शाउँदै शुभकामना दिनुभएको थियो । सो सभामा जयतु संस्कृतका महासचिव प्राडा.नवराज कट्टेलज्यूले संस्कृत विद्याको समुन्ननतिका लागि सबै संस्कृतका विद्वान् क्रियाशील तथा सिर्जनशील हुनुपर्ने भन्दै सबैमा संस्कृत समुपासकमा जयतु संस्कृतम् संस्थाका तर्फबाट शुभकामना व्यक्त दिनु भएको थियो ।

त्यसैगरी सभाका विशिष्टातिथि वाल्मीकि विद्यापीठका प्राचार्यचर डा.गणेशप्रसाद घिमिरेले संस्कृतको उन्नति र प्रगतिका लागि पुनः जाग्नुपर्ने जागरणको सन्देशयुक्त विचार राख्नु भएको थियो । दोस्रो सत्रका सभापति वाल्मीकि विद्यापीठका प्राचार्य डा.भागवत ढकालले कालिदास जयन्तीका अवसरमा कालिदासको अद्भूत कलावैशिष्ट्यको परिचर्चा गर्दै संस्कृत दिवसका अवसरमा सबैमा सुसंस्कृत जीवनचर्याका लागि प्रार्थनासहित दोस्रो सत्र समापन भएको थियो ।

तेस्रो सत्र कार्यक्रमको सभाध्यक्षता डा.काशीनाथ न्यौपानेले गर्नुभयो भने कार्यपत्र प्रस्तुतका रूपमा प्राध्यापक प्रियम्वदाम्बा काफ्ले र प्राध्यापक प्रमोदवर्धन कौडिन्न्यायन रहनु चएको थियो । संस्कृत साहित्यमा महिलाको वैदुष्य प्रतिपादन शीर्षक कार्यपत्र डा.काफ्लेले प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी डा.प्रमोदवर्धन कौडिन्न्यायनले नेपालका संस्कृतविद्वानका विगत ५० वर्षमा प्रकाशित ग्रन्थहरूको संक्षिप्त पर्यालोचन शीर्षकमा संस्कृत भाषानिबद्ध कार्यपत्रको प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन तथा उद्घोषण डा.प्रेमप्रसाद न्यौपानेले गर्नु भएको थियो । सभाको समापन तृतीयसत्रका सभापति न्यौपानेले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?