सुप ११ र सुर्मादेवी च्याम्पियन

हिमालय टाइम्स
Read Time = 4 mins

धनगढी । कैलालीको कैलारी गाउँपालिका-४ के गाउँमा भएको २४औँ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले जितेको छ भने महिलातर्फको उपाधि सुर्मादेवी युवा क्लबले हात पारेको छ ।

न्यु युवा सुन्दर शक्ति युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा भएको महिला तथा पुरुष फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा सिआउर सेभेन फुटबल क्लबलाई १-० हराउँदै सुप ११ ले उपाधि जितेको हो ।

उपाधि जिताउने निर्णायक गोल सुप ११ का लागि भरत टमाटाले गर्नुभयो । उपाधिसँगै सुप ११ ले नगद एक लाखसहित ट्रफी पाएको छ भने उपविजेता सिआउर सेभेनले नगद पचास हजारसहित ट्रफी प्राप्त गरेको छ । पुरुषतर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी बन्दा सुप ११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सुप ११ कै आकाश बुढा उत्कृष्ट गोलरक्षक हुनुभयो ।

महिलातर्फको उपाधि सुर्मादेवी युवा क्लबले जितेको छ । फाइनलमा सुर्मादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाइब्रेकरमा किराना लगाउँदै उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ को बराबरी खेलेका थिए । सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुन मगरले गोल गर्नुभएको थियो ।

टाइब्रेकरमा सुर्मादेवीले पटेलालाई ३-१ ले हराउँदै उपाधि जित्यो । सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गर्नुभयो भने विर्सना चौधरी र धना बोहोराको प्रहार गोलमा परिणत हुन सकेन ।

यस्तै, पटेलाका लागि कमला विष्टको प्रहारमात्रै गोल भयो । ममता पुन मगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सक्नुभएन । महिलातर्फको विजेता भएसँगै सुर्मादेवीले नगद २५ हजारसहित ट्रफी पाउँदा उपविजेता पटेलाले नगद १५ हजारसहित ट्रफी पाएको छ । महिलातर्फ सुर्मादेवीकी विर्सना चौधरी सर्वोकृष्ट खेलाडी बन्दा सुर्मादेवीकै गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुन मगर सर्वाधिक गोलकर्ता बन्नुभयो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तिर्थराज पन्तलगायतले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो । विसं २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ति युवा क्लबले अटवारी र तीजका अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको क्लबका अध्यक्ष वृक्षलाल चौधरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?