प्रधानमन्त्रीको चीन भ्रमण : शीर्ष तहमा द्विपक्षीय वार्ता, रणनीतिक साझेदारीका विषयमा छलफल

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ दिने राष्ट्रपति सीको विश्वास

डिबी शर्मा
Read Time = 13 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको नेतृत्व चीन पुगेको नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो । चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको थियो ।

भेटमा चिनियाँ राष्ट्रपतिले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुद बनाउने प्रतिबद्धता जनाएको ग्लोबल टाइम्सले जनाएको छ । समाचारमा जनाइएअनुसार प्रचण्डको भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई नयाँ उचाइ दिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । उहाँले विकासलाई प्रवद्र्धन गर्ने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ निर्माणमा दुई देशबीचको सहयोगको दृढ समर्थनप्रति प्रशंसा गर्नुभयो ।

प्रचण्ड शनिबार नै एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको भोजमासमेत प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको थियो । एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ ।

यसअघि चीनको हाङ्चाउ सहरको हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभएको थियो । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छनसोङ पनि स्वागत गर्न विमानस्थल पुग्नुभएको थियो । संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड शुक्रबार न्युयोर्कबाट चीन प्रस्थान गर्नुभएको थियो ।

बिआरआईबारे भएन प्रगति
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको द्विपक्षीय वार्तामा दुई देशबीच रणनीतिक साझेदारीका विषयमा कुराकानी भएको छ । हाङ्जाओ सहरमा दुई पक्षका प्रतिनिधिमण्डलसहित भएको भेटवार्तामा नेपाल-चीन रणनीतिक साझेदारीबारे छलफल भएको हो । स्रोतका अनुसार छलफलमा चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनबारे छलफल भए पनि ठोस प्रगति भने हुन सकेन । नेपाली पक्षले कार्यान्वयनका लागि गृहकार्य नपुगेको जनाएको छ । बिआरआई कार्यान्वयन सम्झौताबारे आगामी दिनमा कुरा हुनसक्ने स्रोतको दाबी छ । चिनियाँ विदेश मन्त्रालयले द्विपक्षीय वार्तापछि चीन र नेपालले भूगोलमा साना-ठूला भए पनि समानता र पारस्परिक लाभमा आधारित सहयोगको राम्रो उदाहरण स्थापित गरेको उल्लेख गरेको छ ।

सोमबार चिनियाँ समकक्षीलाई भेट्ने
प्रधानमन्त्री प्रचण्ड हाङ्जाओबाट चीनको राजधानी सहर बेइजिङ पुग्नुहुने छ । बेइजिङमा सेप्टेम्बर २५ अर्थात् सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुहुने छ । भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी, चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधनसमेत उहाँले गर्नुहुने छ ।

सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरू पनि चीन पुगेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गर्नुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किनुहुने छ ।

खुल्यो नयाँ बन्दरगाह
चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् । कोरोला नाकानजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको संख्या तीन पुगेको छ । नेपाल-चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुद्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिएको हो । चिनियाँ पत्रकार शेन शिवेइकाअनुसार नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको हो । तिब्बतको राजधानी लासाबाट ९३५ किलोमिटर दूरीमा रहेको लिजी बन्दरगाह सिगात्से प्रान्तको झोङ्बा काउण्टीमा अवस्थित छ भने काठमाडौंबाट ४९९ किलोमिटरको दूरीमा छ । यो नेपालतर्फको माथिल्लो मुस्ताङ नजिकको कोरला नाकानजिकै पर्छ । यो नाकाबाट नेपाली र तिब्बतीबीच खाद्यान्न, नुन र भेडा-च्यांग्राको व्यापार हुँदै आएको छ । यो नाका जोड्ने गरी नेपालतर्फको सडकमार्ग यसअघि नै सम्पन्न भइसकेको छ । लिजी बन्दरगाहको निर्माण सन् २०१७ मा सुरु भएको थियो । चिनियाँ अधिकारीहरूका अनुसार यसको निर्माण लागत ५४.७ मिलियन अमेरिकी डलर छ । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका दौरान यो बन्दरगाह सञ्चालनको सम्झौता तय भएको थियो ।

पोखरा विमानस्थलबारे चीनसँग उच्चस्तरीय छलफल हुन्छ : पर्यटमन्त्री
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्नेबारे मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताउनुभएको छ । शनिबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री किराँतीले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताउनुभयो । चीन र भुटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । ‘पोखरामा दुईवटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न सहरबाट काठमाडौं आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।’

प्रधानमन्त्री चीन पुगेकै दिन भारत भ्रमणका उपलब्धि सार्वजनिक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा रहेका बेला भारतीय दूतावासले भारत भ्रमणका उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री चीन पुगेकै दिन काठमाडौंस्थित भारतीय दूतावासले भारत भ्रमणका उपलब्धि सार्वजनिक गरेको हो । प्रचण्ड चीन गएकै बेला राजदूतावासले भारत भ्रमणका उपलब्धि सार्वजनिक गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड शनिबार नै चीन पुग्नुभएको हो । दूतावासले सामाजिक सञ्जालमा शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै भ्रमणपछि महत्वपूर्ण आयोजनाहरूको प्रगति विवरण सार्वजनिक गरेको हो । भ्रमणका क्रममा १० वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्‍याउने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ । भारततर्फ थप १८० मेगावाट बिजुली निर्यात स्वीकृत भएको भन्दै नेपालले अब भारततर्फ ६३१ मेगावाट ऊर्जा निर्यात गर्नसक्ने दूतावासले जनाएको छ ।

ऊर्जा निर्यातका लागि १३२ केभी टनकपुर-महेन्द्रनगर प्रशारण लाइन थप भएको दूतावासले जनाएको छ । ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौँ,’ प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर राख्दै दूतावासले भनेको छ ।

राजदूतावासले कुर्था-बिजलपुरा रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाबिहार पुनर्निर्माण, बूढानीलकण्ठ धर्मशाला पुनर्निर्माणलगायत विषयहरूलाई पनि उपलब्धिका रूपमा सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला भारतले रणनीतिक रूपमा भारत भ्रमणका उपलब्धि सार्वजनिक भएको कतिपय कूटनीतिज्ञको तर्क छ । प्रचण्डको चीन भ्रमणलाई छायामा पार्न पनि भारतले उपलब्धि सार्वजनिक गरेको हुनसक्ने उनीहरूको विश्लेषण छ ।

प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्नुभएको थियो । पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?