सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सिआइबिलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उहाँले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको हो ।

उहाँले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पु¥याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सिआइबिलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराईमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु । बरु अनुरोध नै गरेको छु । कतिपय कस्तो हुँदो रहेछ भने यताबाट देख्दाखेरी राजनीतिक तवरबाट पनि कमजोरी गरियो कि भनेजस्तो लाग्छ । हामीलाई के लाग्छ भने कतिपय त प्रधानमन्त्रीले बाहिरै भनिदिनु भयो, होइन राजनीतिक नेतृत्वलाई फसाउन खोजेको त होइन यत्रो आउँदाखेरी पनि नगर्ने प्रहरी प्रशासन भनेजस्तो कुरो पनि यहाँ चर्चा चल्यो । दृढतापूर्वक हामीले भनेका छौँ तपाईहरु जहाँसम्म जानुपर्छ जानुस् । तथ्य, प्रमाणले जे देख्नुहुन्छ त्यहाँसम्म जानुस् भनेका छौैँ । अहिलेपनि हामी त्यसमा दृढ छौँ । सिआबिले अनुसन्धान खुला पनि राखेको छ । कतिपय हामीलाई पनि अलि पहिले नै स्टेप चालेको भए हुन्थ्यो भन्ने हामी राजनीतिक नेतृत्वलाई लाग्दालाग्दै पनि सिआइबिले आफ्नो प्रक्रिया अन्तर्गत अगाडी बढाउने सन्दर्भमा व्यवसायिक रुपमा केही कुरा भनिराखेको छ । त्यो आफ्नो ठाउँमा छ । तर म दृढतापूर्वक भन्न चाहन्छु, सिआइबि वा कुनैपनि प्रहरी संरचनालाई, संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन । बरु तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्न अगाडी बढाउ भनेर हामीले कडा निर्देशन दिएका छौँ । त्यसै अनुसार घटनाक्रम अगाडी बढ्छ आइन्दा पनि ।’

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको बताउनु भयो । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो । त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताउनु भयो । उहाँले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । मन्त्रि श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभएपनि सांसदहरुले मन्त्रि श्रेष्ठलाई बोलाउन माग गरेपति समिति सभापतिले उहाँलाई बोलाउनुभएको थियो । उहाँले समिति बैठकमा मन्त्रिलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने बताउनु भयो । उहाँले मन्त्रि भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सभापतिज्युले मलाई के भन्नुभयो भने यहाँ त बैठक नै चल्न दिन्न भन्नुभयो, तपाई नआइकन भन्नुभयो । मैले हार्दिकतापूर्वक, सदासहायता देखाएर मात्रै म आएको हो । म संसदलाई सम्मान गर्छु । संसदीय समितिलाई सम्मान गर्छु । तर लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली पनि त हुँदो हो । यसो त गर्न मिल्दैन नि । कुनै पद्धति, प्रणालीमा चल्नुप-यो । त्यसकारण म यसमा सविनयतापूर्वक सबैले यो मूल्यको त पालना गरौँ । यस्तै आएको बेलामा प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिदिनु न समितिमा आइहाल्छु नि । कुनै एउटा लोकतन्त्रको मूल्य, मान्यता हुन्छ नि त । मन्त्रि भएको कारणले गर्दा उठ्, आइज्, त कहाँ छस् भनेर हुन्छ र ?’

उहाँले गृह मन्त्रालय देशभरका कारागार सुधार्ने काममा लागेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?