गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्री सुरु गरेको छ ।

सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्रीमा ल्याएको हो ।

बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभएको हो ।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको १ हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ ।सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको गत १९ जेठमा बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?