केनको हृयाट्रिकमा म्युनिखको जित

Read Time = 3 mins

लण्डन । इंग्लिस फरवार्ड हृयारी केनको हृयाट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शानदार जित हात पारेको छ । केनको हृयाट्रिकमा म्युनिखले बोचुमलाई ७-० ले पराजित गरेको हो । केनले हृयाट्रिकसहित दुई असिस्ट पनि गर्नुभयो । केनले १३औँ, ५४औँ र ८८औँ मिनेटमा हृयाट्रिक पूरा गर्नुभयो । केनले बुन्डेसलिगामा पाँच खेलमा सात गोल गरिसक्नुभएको छ ।

साबिक विजेतासमेत रहेको बायर्नका लागि शनिबार पहिलो गोल चापो मोटिङले चौथो मिनेटमा गर्नुभएको थियो । डि लिटले २९औँ, लिरो सानेले ३८औँ र मेथिस टेलले ८१औँ मिनेटमा गोल गर्नुभयो । बुन्डेसलिगामा चार जित र एक बराबरीसहित १३ अंकका साथ बायर्न लिगको शीर्षस्थानमा छ । त्यति नै खेलमा तीन अंक जोडेको बोचुम १४औँ स्थानमा छ ।

यस्तै, म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौँ जित निकालेको छ । सिटीले नटिंघम फरेस्टलाई २-० ले हराएको हो । सिटीको जितमा फिल फोडेन र एर्लिङ हाल्याण्डले एक-एक गोल गर्नुभयो ।

सातौँ मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो । १४औँ मिनेटमा हाल्याण्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ४६औँ मिनेटमा रोड्रीले रातो कार्डको सामना गरेपछि सिटी १० खेलाडीमा सीमित भयो । जारी लिगमा शतप्रतिशत नतिजा निकालेको सिटी १८ अंकसहित शीर्ष स्थानमा यथावत् छ । ६ खेलमा ७ अंक जोडेको नटिंगम ११औँ स्थानमा छ ।

अन्य खेलमा लुटन टाउन र उल्भ्सले १-१ तथा क्रिस्टल प्यालेस र फुलहमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?