नेपाल चीन सम्बन्धबारे प्रचण्ड र सी जिन्पिङबीच के कुराकानी भयो ?

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । एशियाली खेलकुदको उद्घाटनका दिन शनिवार नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भएको संवादमा ‘एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउनेु’ विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक निकट छिमेकीका रूपमा नेपाल बढ्दो व्यापार, लगानी, सम्पर्क सञ्जाल र सामाजिक आर्थिक सहकार्यबाट लाभ लिन इच्छुक रहेको जनाइएको छ।

विज्ञप्तिमा राष्ट्रपति सी जिन्पिङले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको एवं नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक विकासमा चीनले सघाउने प्रतिबद्ता जनाएको उल्लेख छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सीलाई उद्धृत गर्दै लेखेको छ, ‘दुई पक्षले सधैँ एक अर्कालाई आपसी अहम् स्वार्थ र मुख्य चासोलाई बुझ्नुका साथै त्यसमा सहयोग गर्नुपर्छ एवं द्विपक्षीय सम्बन्धको राजनीतिक जगलाई निरन्तर अडिग राख्नुपर्छ।’

प्रचण्डले ताइवान र तिब्बत चिनियाँ भूभागको अक्षुण्ण अङ्ग रहेको र नेपालले कुनै शक्तिलाई चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर पार्नेगरी आफ्नो भूमि प्रयोग गर्न नदिने बताएको सिन्ह्वाको समाचारमा उल्लेख छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले एक्स (पहिले ट्विटर भनिने) मार्फत् लेखेकी छन्, ‘चीन र नेपालले दुई भिन्न आकारका देशहरूबीचको समानता र आपसी लाभको सहकार्यको एउटा राम्रो उदहारण पेस गरेका छन्।’

एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेकोु प्रधानमन्त्रीले उल्लेख गरेको समाचार संस्था राससले जनाएको छ। नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रधानमन्त्री प्रचण्डले प्रष्ट पारेको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रचण्ड अमेरिकाबाटै ६ असोजमा चीन पुगेका हुन्। उनी त्यहाँ १३ असोजसम्म रहनेछन्। शनिवार सी र प्रचण्डबीच प्रतिनिधिमण्डल तह र एक्लाएक्लै भेटवार्ता भएको थियो। सोमवार बेइजिङमै चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रचण्डको प्रतिनिधिमण्डलस्तरमा कुराकानी हुने कार्यक्रम रहेको छ। त्यसक्रममा विभिन्न द्विपक्षीय मुद्दामा छलफल हुने बताइएको छ।

प्रचण्डले बेइजिङमै त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीसँग समेत भेट्ने कार्यक्रम छ। औपचारिक भ्रमणका क्रममा छलफल र सहमति हुने एजेन्डाबारे नेपालको परराष्ट्र मन्त्रालयले केही खुलाएको छैन।

तर प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्ने क्रममा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सहमति हुने विश्वास गरेकोू बताएका थिए। प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले ऊर्जा, व्यापार सन्धि पुनरवलोकन, लगानी, उत्तरी नाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि लगायतका विषयमा छलफल हुने बताएका छन्।

चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भू-भाग बेवास्ता गरिएको भन्दै त्यो विषयले समेत कुनै न कुनै रूपमा प्रवेश पाउन सक्ने परराष्ट्रमन्त्री एनपी साउदले यसअघि बताएका थिए। बीबीसी नेपालीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?