‘भारत र क्यानडाबीच साझा आधार खोज्नुपर्छ’

Read Time = 4 mins

ओटावा । क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई दृष्टिगत गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ । सिबीसी न्यूजमा प्रसारित एक साक्षात्कारमा ब्लेयरले भन्नुभएको छ, ‘म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकहरूलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ उनीहरूले साथीहरू बनाउनका लागि साझा आधार फेला पार्नेछन् । ब्लेयरले कूटनीतिक विवादले भारतीय-क्यानाडेली नागरिकमा पार्ने प्रभावबारे आफू जानकार रहेको बताउनुभयो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले गत साता क्यानडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली काण्डमा भारतको संलग्नता रहेको आरोप लगाएपछि तनाव चर्किएको छ । गत जुन १८ मा क्यानाडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।

क्यानडाले भारतलाई निज्जरको मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । टुडोले भारतद्वारा आतंकवादी घोषित निज्जरको हत्यामा नयाँ दिल्लीको कथित संलग्नताबारे ओटावाले ‘भारतसँग रचनात्मक रूपमा काम गर्न’ चाहेको बताएको छ ।

क्यानडाका रक्षामन्त्री ब्लेयरले भन्नुभयो, ‘मैले जारी अनुसन्धानमा यति धेरै जोड दिएको छु कि यसका कारण हामीले विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं, हामी र भारत सरकारले सत्य जान्न सक्छौं, तथ्यहरू प्राप्त गर्न सक्छौं र त्यसपछि यसलाई उचित तरिकाले समाधान गर्न सँगै काम गर्न सक्छौं । म कुनै पनि तरिकाले अनुसन्धानको अखण्डतामा आँच आउने कुनै पनि कुरा भन्न गइरहेको छैन, यो धेरै महत्वपूर्ण छ’,उहाँले भन्नुभयो ।

यसैबीच भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘आतंकवादी, अतिवादी र संगठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र ‘बढ्दो प्रतिष्ठा’ को रूपमा पनि क्यानडालाई उल्लेख गरेको छ ।

ब्लेयरले सिबीसीका प्रमुख राजनीतिक संवाददाता रोजमेरी बार्टनसँग भन्नुभयो, ‘हामीले हाम्रा सहयोगी र भारतलाई एउटामात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरून् किनभने यसको परिणाम धेरै महत्वपूर्ण छ । सिबीसी न्यूजका अनुसार ब्लेयरले क्यानडाले आफ्ना सहयोगी मुलुकबाट के-कस्तो गुप्तचर सूचना प्राप्त गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने अस्वीकार गर्नुभयो । रासस÷एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?