सुदूरपश्चिममा ‘हाइप्रोफाइल’ को नाममा ठगी, एक जना प्रहरी नियन्त्रणमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिम प्रदेशमा विभिन्न मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि ठगी गर्ने कालिकोट शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रीको ‘पीए’ हुँ भनेर पैसा मागेको अडियो सुदूरपश्चिम भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई प्राप्त भएपछि मन्त्री देउवाको सचिवालयबाटै प्रहरीमा उजुरी दर्ता गराइ ठगी गर्ने अम्मरलाई तत्काल पक्राउ गर्न प्रहरीलाई जाहेरी दिइएको थियो । अम्मरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनी प्रदेशका विभिन्न जिल्लाका कृषि कार्यालयमा काम गर्ने कर्मचारीलाई फोन गरी पैसा माग्ने गरेका थिए ।

उनीविरुद्ध कर्णाली प्रदेश प्रहरीमा समेत ठगी गरेको उजुरी परेको कैलाली प्रहरीले जनाएको छ । यसअघि सेजुवालले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालयका कर्मचारीबाट रकम उठाउने गरेको समाचार प्रकाशित भएको थियो । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाका प्रमुख स्वकीय सचिव रमेशकुमार चन्दले कैलाली प्रहरीमा पैसा माग्न प्रयोग भएको मोवाइल नम्बरसहित ती व्यक्तिलाई पक्राउ गर्न भदौ १० गते जाहेरी दिनुभएको थियो ।

चन्दले प्रहरीमा सेजुवालले गरेको कुराकानीको अडियोसमेत पेस गरेका गर्नुभएको थियो । भौतिक पूर्वाधार मन्त्रालयको निरन्तरको ताकेतापछि सेजुवाललाई प्रहरीले नेपालगञ्जको एक होटेलबाट पक्राउ गरेर धनगढी ल्याएको हो । यस्तै फोन गरेर सेजुवालले असुली धन्दा मच्चाएका थिए । पीडित कैलालीको जानकी गाउँपालिका ५ अमौरास्थित आधारभूत स्वास्थ्य केन्द्र अमौराका अहेब कृष्ण प्रसाद चौधरीलगायत दिएको उजुरीको आधारमा प्रहरी अनुसन्धान बढाएको थियो । कल डिटेल अनुसार सेजुवाल रहेको लोकेसन कैलाली जिल्ला बाहिर देखाएको थियो । जसकारण प्रहरीलाई पक्राउ गर्न चुनौती थपिएको थियो ।

सेजुवालले डोटी र डडेल्धुराका विभिन्न व्यक्ति पहिचान गरेर म केही घण्टामा पुग्दै छु रकम तयार गर्नू भनेर फोनबाटै भन्ने गरेका थिए । त्यसपछि रकम दिन सहमत भए इसेवाबाट पैसा माग्ने गरेका थिए । उनले पैसा माग्न मोबाइल नम्बर ९८५११७३३१८ प्रयोग गर्दै आएका थिए । सेजुवालले कम्तीमा दुई हजारदेखि बढीमा तीस हजारसम्म पठाउनू भनेर फोन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

कैलाली प्रहरीले जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान जारी रहेकाले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए कार्यालयमा जाहेरी दिन आग्रह समेत गरेको छ । अहिले उनका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी देवेन्द्र पालले जानकारी दिनुभयो । उनले कैलालीमा बसोबास गर्ने अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?