नीतिगत समस्याका कारण हरियो वन नेपालको धन बन्न सकेन, दिनेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल फर्निचर तथा फर्निसिङ संघ

लेखनाथ पोखरेल
Read Time = 12 mins

विगतमा विलासिताका रूपमा लिइने फर्निचर तथा फर्निसिङ पछिल्लो समय सबै वर्ग र समुदायका लागि अत्यावश्यक बन्दै गएको छ । तर, सम्पन्नदेखि विपन्न वर्गलाई समेत नभइनहुने फर्निचरजन्य सामग्रीमा भने नेपाल अझै आत्मर्निभर बन्न सकेको छैन । कच्चा पदार्थको सहज उपलब्धता नहुँदा फर्निचरजन्य सामग्रीमा आत्मनिर्भर बन्न नसकेको हो । ‘हरियो वन नेपालको धन’ भनिए पनि नीतिगत अंकुशका कारण हरियो वन, नेपालको धन बन्न नसकेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । काष्ठजन्य फर्निचरका लागि स्वदेशमै पर्याप्त काठ उपलब्ध रहे पनि नीतिगत समस्याका कारण व्यवसायीले सहज र सर्वसुलभरूपमा उपयोग गर्न नपाउँदा फर्निचरजन्य सामग्रीका लागि अर्बौंको काठ विदेशबाट आयात हुने गरेको छ । अर्थतन्त्र कमजोर अवस्थामा रहेका बेला स्वदेशी मुद्रा बाहिरिनबाट रोक्नुपर्नेमा सरकारले वन नियमावलीमा निजी क्षेत्रलाई निषेध गर्दा फर्निचरका साथै काठसमेत आयात हुने गरेको संघका अध्यक्ष अग्रवाल बताउनुहुन्छ ।
के हामी आत्मनिर्भर छौँ ? भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ, काठमाडौंले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डमा फर्निचर तथा फर्निसिङजन्य सामग्रीको मेला(फर्नेक्स २०२३) गर्दैछ । दशैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडको पूर्वसन्ध्यामा हुन लागेको मेलाले फर्निचर तथा फर्निसिङजन्य सामग्रीको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । व्यावसायिक कारोबारमात्र नभई फर्निचर तथा फर्निसिङजन्य क्षेत्रका समस्या समाधानको पहलका लागि मेला उपयुक्त माध्यम हुनसक्ने आयोजकको अपेक्षा रहेको छ । सोही विषयमा केन्द्रित रही संघका अध्यक्ष दिनेशकुमार अग्रवालसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानीः

फर्निचर तथा फर्निसिङ व्यवसायको अवस्था कस्तो छ ?
आर्थिक मन्दीका कारण अन्य व्यवसाय जस्तै फर्निचर तथा फर्निसिङ व्यवसाय पनि प्रभावित बनेको छ । आर्थिक मन्दीको असरका कारण सरकारले पनि सरकारी निकायमा नयाँ फर्निचर तथा फर्निसिङ खरिदमा रोक लगाएको छ । समग्रमा भन्नुपर्दा अहिले व्यवसायको अवस्था त्यति राम्रो पनि छैन, साह्रै नराम्रो पनि छैन ।

कोरोनाअघिको अवस्थामा आउन सकेको छैन ?
कोरोनाअघिकै अवस्थामा आउन सकेको त छैन, क्रमिकरूपमा सुधार हुँदैछ, हिँड्न सक्ने अवस्थामा छ, दौडिन सक्ने अवस्थामा पुगेको छैन ।

नेपालीहरूको महत्वपूर्ण चाड दशैँ, तिहार र छठ नजिकिँदै छ, चहलपहल बढ्नुपर्ने होइन र ?
अहिले विगत वर्षहरू जस्तो चहलपहल छैन । अधिकांश मानिसको खर्च गर्न सक्ने क्षमता घटेको छ, महँगी बढेको छ, आम्दानी राम्रो छैन । धेरै मानिसहरू विदेश पलायन भइरहेको अवस्था पनि रहेको छ । सरकारले पनि भएको बजेट खर्च गर्न सकिरहेको छैन ।

 फर्निचर तथा फर्निसिङ क्षेत्रमा स्वदेशी उत्पादन र आयातको अवस्था के छ ?
पछिल्लो समय फर्निसिङ क्षेत्र आत्मनिर्भरोन्मुुख अवस्थामा पुगेको छ । कुल मागको झण्डै ७० देखि ८० प्रतिशत स्वदेशी उत्पादनले बजार लिएको छ । विगतमा फर्निसिङजन्य वस्तु शतप्रतिशत आयात हुने गरेको थियो । तर, अहिले कार्पेट, म्याट्रेसलगायत स्वदेशमै उत्पादन हुन्छ । फर्निचरतर्फ पनि प्लाष्टिकजन्य फर्निचर, स्टिलजन्य फर्निचर यहीँ उत्पादन हुने गरेको छ । उत्पादनमात्रै नभई स्वदेशी उत्पादन गुणस्तरीय पनि छन् । तर, दुःखको कुरा, काष्ठजन्य फर्निचर भने अझै पनि आयात हुने गरेको छ । कच्चा पदार्थ, दक्ष कामदारको अभावका कारण यस्तो अवस्था आएको हो । फर्निचरका लागि आवश्यक कच्चा पदार्थ काठ जंगलमा त्यत्तिकै कुहिएर गइरहेको छ तर फनिर्चर उद्योगीले सहज र सुलभरूपमा पाउन सकेका छैनन् । नीतिगत समस्या छ, सोही काष्ठजन्य फर्निचरमात्र नभई काठ र काष्ठजन्य कच्चा पदार्थसमेत आयात हुने गरेको छ । खासगरी धेरैजसो अफिसियल र मोडुलर फर्निचर र फर्निचरजन्य वस्तु आयात हुने गरेको हो । त्यस्ता फर्निचर धेरैजसो चीन र भारतबाट आयात हुने गरेका छन् । घरायसी प्रयोजनका फर्निचर भने यहीँ उत्पादन हुने गरेको छ । समग्र भन्नुुपर्दा मागको करिब ४० प्रतिशत फर्निचर आयात हुने गरेको छ ।

फर्निचर क्षेत्रमा जनशक्तिको अवस्था के छ ?
कच्चा पदार्थसँगै दक्ष जनशक्ति पनि अभाव छ । जसका कारण बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । नेपाली कामदार दिगो नभएका कारण यस्तो अवस्था आएको हो । नेपाली कामदारमा केही वर्ष काम गर्ने, काम सिक्ने अनि विदेश जाने प्रवृत्ति देखिएको छ । स्वदेशमै केही गरौँ भन्ने भावना देखिँदैन ।

यस व्यवसायमा कति व्यवसायी संलग्न छन् ?
देशभर १२ हजारभन्दा बढी व्यवसायी रहेका छन् । हामो महासंघअन्तर्गत ३२ जिल्ला संघहरू रहेका छन् । हाम्रो संघमा पनि झण्डै आठ सयदेखि नौ सय व्यवसायी आबद्ध रहेका छन् । सोही कारण पनि हामीले यस वर्षको मेलामा स्टल संख्या पनि बढाएका छौँ । मेलामा एक सयभन्दा बढी कम्पनीले सहभागिता जनाएका छन् ।

फर्निचर व्यवसायको प्रवद्र्धनका लागि सरकारले के गर्नुपर्ला ?
सबैभन्दा महत्वपूर्ण कुरा त नीतिगत सहजीकरण हुनुपर्‍यो । दक्ष कामदारका लागि तालिम केन्द्र र कच्चा पदार्थ सहज र सर्वसुलभ हुनुप¥यो । अहिलेको नीतिले फर्निचरको कच्चा पदार्थ काठ फर्निचर उद्योगीले सिधै सरकारसँग खरिद गर्न निषेध गरेको छ । सःमिलहरूमार्फत् खरिद गर्नुपर्ने हुन्छ । जसका कारण लागत मूल्य बढी पर्न जान्छ र आयातित फर्निचरसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन । त्यसैले हाम्रा नीति नियमहरू धेरै पुराना छन्, तिनलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्ने आवश्यकता छ । अहिले फर्निचर तथा फर्निसिङजन्य वस्तु अत्यावश्यक बनिसकेको छ । दैनिक जीवनमा २४ सै घण्टा फर्निचर तथा फर्निसिङ प्रयोग भइरहेको हुन्छ । दिउँसो कार्यालयमा रहँदा फर्निचर तथा फर्निसिङ प्रयोग भएको हुन्छ भने राती सुत्न पनि खाट, पलङहरू प्रयोग भएको हुन्छ । तर, सरकारले फर्निचर तथा फर्निसिङलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको छैन ।

फर्नेक्स एक्स्पोबारेमा बताइदिनुस् न ?
फर्निचर तथा फर्निसिङ व्यवसाय चलायमान बनाउने उद्देश्यका साथ हामीले विगत वर्षहरू जस्तै यस वर्ष पनि एक्स्पो आयोजना गरेका छौँ । एक्स्पो भनेको उद्योगी, व्यवसायी र उपभोक्ताको जमघटस्थल पनि भएकाले एक्स्पोबाट दुवै लाभान्वित हुनसक्ने अपेक्षा गरिएको छ । यस वर्ष हल ‘ए’, हल ‘बी’ र हल ‘सी’ भनेर तीनवटा स्टलको व्यवस्था गरिएको छ । हल ‘ए’ मा ४९ स्टल, हल ‘बी’ मा १० र हल ‘सी’ मा ३२ देखि ३४ स्टल र ओपन मार्टसमेत रहेको छ । एक्स्पोले फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक व्यक्तिलाई साझा प्लेटफर्म प्रदान गर्ने भएकाले एक्स्पोबाट सबै सरोकारवाला पक्ष लाभान्वित हुने विश्वास लिएका छौँ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । एक्स्पोमा विभिन्न कम्पनीका अफर र डोर प्राइजहरू पनि रहेका छन् ।

एक्स्पोमा अन्य संघ संस्थाहरूले संघसँग सहकार्य गरेका छन् कि ?
फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीलाई समेटेर बृहत् र भव्यरूपमा आयोजना हुन लागेको एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी एक्स्पोको इन एसोसिएसन विथमा प्रेष्टिज कार्पेट रहेको छ भने पावर्ड बाईमा फर्निचर हब प्रालि रहेको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ, डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रिज, सरावगी ओभरसिज आदिको पनि साथ रहेको छ भने एक्स्पो व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ ।

काठमाडौं बाहिर चाहिँ फर्नेक्स एक्स्पोको योजना छैन ?
भविष्यमा बाहिर पनि फर्नेक्स हुनसक्छ । महासंघले त्यसतर्फ पहल गरिरहेको होला । यो मेला चाहिँ हाम्रो नेपाल फर्निचर तथा फर्निसिङ संघ, काठमाडौंको नेतृत्वमा भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?