प्रधानमन्त्री दाहाल ल्हासामा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्हासामा रहेको ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिरको अवलोकन भ्रमण गर्नुभएको छ । समुद्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारको प्रधानमन्त्री दाहालले बुधबार अवलोकन भ्रमण गर्नुभएको हो । पोताला दरबार क्यास्टल शैलीमा निर्माण गरिएको तिब्बतकै सबैभन्दा ठूलो र पुरानो दरबार हो । साथै यो दरबार विश्वमै समुद्री सतहबाट सबैभन्दा माथि निर्माण भएको दरबार पनि हो । पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री दाहाललाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी, प्रधानमन्त्री प्रचण्डले पोताला दरबारको नजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन भ्रमण गर्नुभयो । यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौँ शताब्दीको मध्य समयतिर बनाएका थिए । यो मन्दिर बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थलका रूपमा रहेका छन् । मन्दिरको भ्रमण गर्दा प्रधानमन्त्री दाहाललाई त्यहाँका अधिकारीहरूले मन्दिरका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले गर्नुभएको दुवै ठाउँको भ्रमणका क्रममा चीन भ्रमण दलमा संलग्न भ्रमण दलका सदस्यहरू पनि सहभागी रहेका थिए ।

‘चीन भ्रमण आशा गरेभन्दा धेरै सफल’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताउनुभएको छ । तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूताबासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताउनुभएको हो । राष्ट्रिपति सी चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका साना साना नाकाहरू पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरू खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरू छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचका सबै नाकाहरू खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अघिल्लोपटक आफूले ल्हासाको भ्रमण गर्दा नेपाली महाबाणिज्यदूताबासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न महावाणिज्यदूत र दूताबासका सबै कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले नेपाल चीनबीच भएका सहमति तथा सम्झौताहरू कार्यान्ययनका लागि सक्रिय रहन महाबाणिज्यदूत ढकाललाई विशेष निर्देशन दिनुभयो ।

कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्व, महावाणिज्य दूताबासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायतका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा भ्रमण दलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँका साथमा उहाँको भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू हुनुहुन्छ ।

यसअघि, प्रधानमन्त्री दाहाल मंगलबार बेइजिङबाट छिङछोङ सहर जानुभएको थियो । छिङछोङमा रहँदा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामबारे जानकारी लिनुभएको थियो ।
गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार मंगलबार दिउँसो १२ बजे ल्हासा आइपुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?