सुमो चालक आचार्यको शङ्कास्पद अवस्थामा शव फेला

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो ।

चालक आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभएको छ । “आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ”, उहाँले भन्नुभयो, “आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।”

बुधबार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताउनुभयो । “मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन् । उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ”, उहाँले भन्नुभयो, “घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।”

दुई छोराका बुबा सुमो चालक आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौँबाट घटनास्थल आउँदै गरेको जनाइएको छ । घटनास्थलको प्रमाण सुरक्षित राख्न आचार्यको शव वरिपरि प्रहरीले घेरा हालेर राखेको छ ।
रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?