स्याङ्जाको अर्जुनचौपारीमा ७ जनामा स्क्रब टाइफस पोजेटिभ

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको वडा नं. ६ स्थित दरौं माध्यमिक विद्यालयका विद्यार्थीहरूमा स्क्रब टाइफसको समस्या देखिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीमा बुधबार पठनपाठन भइरहेको समयमा एक्कासी उच्च ज्वरो आउने, सास र्फेर्न गाह्रो हुने, टाउको दुख्ने र वान्ता हुने लक्षण देखिएपछि बुधबार नै अर्जुनचौपारीको स्वास्थ्य चौकीमा परीक्षण गरी प्राथमिक उपचार गरिएको थियो ।

एकैपटक ४८ जना विद्यार्थीमा समस्या देखिएपछि बिहीबारदेखि विद्यालय बन्द गरिएको छ । उक्त लक्षण देखिएका मध्ये अलि बढी भएका ४ जना विद्यार्थीलाई उपचारार्थ बुधबार नै जिल्ला अस्पताल स्याङ्जामा पुर्याइएको थियो ।

सुरूमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई देखिएको थियो भने पछि ६ कक्षासम्मका विद्यार्थी पनि बिरामी भएका थिए ।
आज पनि बिहानै एम्बुलेन्समा दुई पटक गरी करिब २७ जना बिरामी विद्यार्थीलाई स्याङ्जा अस्पतालमा पठाइएको शिक्षक दुर्गाबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार सन्चो हुने क्रम र बिरामी हुने क्रम बढीरहेको छ । हिजो सामान्य रहेका विद्यार्थी आज बिरामी भएको उहाँले बताउनुभयो ।

रोग नियन्त्रणका लागि जिल्ला अस्पताल स्याङ्जाले विशेष स्वास्थ्यकर्मीको एक टोलीलाई आज रोग प्रभावित क्षेत्रमा पठाएको थियो । रोग नियन्त्रण गर्न स्थानीय स्वास्थ्य चौकी र अस्पतालबाट खटिएको टोलीले विद्यालय र अभिभावक बस्ने दरौ गाउँमा स्वास्थ्य परिक्षण अभियान संचालन गरेको अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिनुभयो ।

‘स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा आएका २७ जना बिरामीहरूमध्ये ७ जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ ।’ अस्पताल प्रमुख अधिकारीले भन्नुभयो ।

बिरामी भएर अस्पताल आएका २७ जनामै घाँटीमा सङक्रमण देखिएको थियो । सबै बिरामीको डेंगु, मलेरिया, कोभिड लगायत विभिन्न परीक्षण गरिएको तर त्यस्तो केही पनि नदेखिएको उहाँले बताउनुभयो ।

महामारी हो कि होइन भन्ने पुष्टि गर्नका लागि परीक्षणका रिपोर्ट प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय सरूवा रोग तथा महामारी शाखामा पठाइएको बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?