भव्य रूपमा मनाइयो इन्द्रजात्रा

राष्ट्रपति पौडेलद्वारा केही दूरी पैदल हिँडेर अवलोकन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी बिहीबार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदलै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गएर जात्रा अवलोकन गर्नुभएको हो । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म जानुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो । बिहीबार तल्लो टोलमा रथयात्रा चलाइएको गुठी संस्थान काठमाडौं शाखाले जनाएको छ । शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने र असोज १५ गते महिलाले मात्र रथ तानी नानिचा यात्रा चलाइनेछ । यसैदिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुने छ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि एक हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिंगोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिंगो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिंगोका लागि रूख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रूख कटान, लिंगो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको इतिहास पाइन्छ । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुनेगर्छ । यस पर्वका अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?