शीतलहरले जनजीवन कष्टकर

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । पाँच दिनदेखि बढेको चिसो र शीतलहरले बारा जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखिको हुस्सु र सँगै चल्ने शीतलहरले मानिसहरूलाई हिँड्डुल गर्न समस्या भएको हो । बाक्लो हुस्सुका कारण सवारीसाधनहरूलाई समेत आवतजावतमा समस्या भएको छ । एक्कासी बाक्लो हुस्सु लागेपछि सवारीसाधन चलाउन चालकहरूलाई समस्या भएको हो । मानिसहरू शीतलहर चलेको बेलामा जाडोबाट बच्नका लागि आगो तापेर बस्ने गरेका छन् ।

चिसोका कारण हिँड्डुल गर्न अप्ठ्यारो भइरहेकाले घरबाट समेत निस्कन गाह्रो भएको स्थानीय श्यामप्रसाद साहले बताउनुभयो । चिसोका कारण किनमेल गर्न मानिसहरू आउन छाडेकाले व्यापार व्यवसायसमेत चौपट भएको साहले जानकारी दिनुभयो । चिसोले सम्पन्नभन्दा विपन्न नागरिकहरू सबैभन्दा बढी प्रभावित बनेको विक्रम मली डोमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीजस्ता अति विपन्न समुदायलाई आर्थिक अभावका कारण चिसोबाट बच्न समस्या भइरहेको छ । आफ्नो जिउज्यान ढाक्नलाई समेत न्यानो लुगाको अभावका कारण दिनभरि आगो नै तापेर जीवन जोगाउनुपरेकोे छ ।’ बिहान-बेलुकाको खाना जोहो गर्नसमेत समस्या भएको उहाँले बताउनुभयो ।

दम, रुघाखोकी, डाइरिया, निमोनिया, ज्वरोलगायतका रोगहरू चिसोका कारण बढ्दै गएको तथा कलैया अस्पतालमा चिसोका रोगीहरूको चाप बढेको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिलकुमार जैसवालले बताउनुभयो । यस्तो बेलामा न्यानो कपडा लगाउन, बाहिर बढी हिँड्डुल नगर्न मेसु जैसवालले आग्रह गर्नुभयो । बाहिर हिँड्नै परे न्यानो कपडा र मास्क प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

चिसोले विशेष गरी बालबालिका, रोगी र वृद्धवृद्धालाई बढी असर गर्ने हुनाले शरीरलाई न्यानो बनाइराख्न आगो ताप्ने, तातो पानी खाने तथा झोल पदार्थहरू खान उहाँले सल्लाह दिनुभयो । चिसोबाट बच्न कलैया उपमहानगरपालिकाले शुक्रबारदेखि सामूहिक आगोको व्यवस्था गरेको छ । सर्वसाधारणको बढी भिड हुने कलैया अस्पताल, भरतचोक, देवकोटाचोकलगायतका स्थानहरूमा आगो ताप्ने व्यवस्था गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बताउनुभयो । चिसो अहिले पनि जस्ताको त्यस्तै रहेकाले दोस्रो चरणको दाउरा वितरण कार्य एक-दुई दिनभित्रै हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?