सुदूरपश्चिमको राजधानी : आशा र आश्वासनमै बिते ५ वर्ष

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 11 mins

कैलाली । कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको ५ वर्ष पुरा भएको छ । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभा बैठकको दुईतिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्वर २ र ४ मा राख्ने निर्णय गरेको थियो । २०७५ साउन १४ गते सुदूरपश्चिम प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी तोक्न र नाम प्रस्ताव गर्न तत्कालीन नेकपा प्रमुख सचेतक तारा लामा तामाङ संयोजक रहेको ५ सदस्यीय विशेष सुझाव समिति बनाएको थियो ।

समितिको सदस्यमा बलदेव रेग्मी, चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, श्यामलाल राना थारू सदस्य हुनुहुन्थ्यो । समितिको सुझावका आधारमा प्रदेशसभाले राजधानी तोकेको थियो । राजधानी तोकिएपछि प्रदेश सरकारले जग्गाको भोगाधिकारका लागि २०७५ माघ २० गते संघीय सरकारलाई पत्राचार गरेको थियो ।

जङ्गल मासेर राजधानी बनाउन लागिएको भन्दै वातावरण संरक्षणका नाममा सर्वोच्चमा रिट दायर गरिएको थियो । प्रदेश राजधानी तेघरीमा बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दायर भएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो । तर, अदालतले अन्तरिम आदेश भने जारी गरेको थिएन ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी बनाउन आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ७४ लाख र आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ७२ लाख बजेट विनियोजन गरेको थियो । तर राजधानी बनाउने कार्य अगाडि बढ्न सकेन । तत्कालीन त्रिलोचन्द भट्ट नेतृत्वको प्रदेश सरकारले ५ वर्षे कार्यकालमा राजधानी घोषणा गर्ने बाहेक कुनै काम गर्न सकेनन् । ५ वर्षमा राजधानीका सबै संरचना बनिसक्नु पर्नेमा हालसम्म सरकारले उक्त क्षेत्रको भोगाधिकारसम्म पाउन सकेको छैन ।

प्रदेश राजधानी गोदावरीमा राख्ने निर्णय गरेको पहिलो प्रदेशसभाको कार्यकाल सकिएर हाल दोस्रो प्रदेशसभा सदस्य निर्वाचित भएर आइसकेका छन् । देश संघीयतामा गएपछि दोस्रो संघीय र प्रदेशसभा निर्वाचनमा पनि जोडतोडका साथ उठाइएको राजधानीको मुद्दा पनि हाल सेलाउन थालेको छ । निर्वाचनताका राजधानी तोकिएको क्षेत्रका राजनीतिक दलहरूले राजधानी बनाउने विषयलाई मुख्य चुनावी नारा नै बनाएका थिए । तर, निर्वाचन सम्पन्न भएको ८ महिना बितिसक्दा पनि राजधानी बनाउने विषयमा कुनै प्रगति भएको देखिएको छैन ।
राजधानी तोकिएको क्षेत्र कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेका वीरबहादुर बलायरले चुनावी प्रचारका क्रममा आफू निर्वाचित भएर गठबन्धनको सरकार बनेमा ६ महिना भित्रै गोदावरीमा राजधानी बन्ने प्रक्रिया अगाडि बढ्ने बताउनु भएको थियो । त्यसअघि सुदूरपश्चिमको राजधानी हावामा छ भन्ने अभिव्यक्तिका कारण निकै चर्चामा रहेका उहाँले कैलालीबाट निर्वाचन लड्नु पूर्व आफ्नो अभिव्यक्तिको बचाउ गर्दै निर्वाचित भएपछि हावामा भएको राजधानी जमिनमा बनाउने बताउनु भएको थियो ।

२०७९ को निर्वाचनमा राजधानी बनाउने एजेण्डालाई जोडतोडका साथ उठाइए पनि बोलेका कुरा कार्यान्वयन गर्न भने कुनै काम गरेको देखिदैन । २०७९ माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले पदभार सम्हालेको ७ महिना बितिसक्दा पनि राजधानी निर्माण गर्ने कुनै काम भएको छैन । उल्टै उहाँले गोदावरीमा राजधानी बनाउनेभन्दा पनि सार्ने बहस छेडेपछि राजधानी बन्ने विषय झन अन्योलमा परेको छ । केही दिन अघि मुख्यमन्त्री कमलबहादुर शाहले डडेल्धुरा पुगेर राजधानीको विकल्प खोज्न सकिने अभिव्यक्ति दिनु भएको थियो । उहाँले भन्नु भएको थिया ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौ ।’

दुई तिहाइले घोषणा गरेको विषय ५ बर्ष सम्म अन्योलमा पर्दा जनतामा भने निराशा देखिएको छ । अत्तरियाका युवा व्यवसायी प्रमोद अधिकारीले नेताहरूको व्यक्तिगत स्वार्थका कारण राजधानी बन्नमा ढिलाई भएको बताउनु भयो । नेताहरूले कुन ठाउँमा राजधानी बनाउँदा आफूलाई भोलिका दिनमा चुनाव जित्न सहज हुन्छ भनेर राजधानीलाई चुनावी हतियार बनाउँदा अन्योलता सृजना भएको उहाँले बताउनुभयो ।

उहाँले गोदावरीमा राजधानी बन्ने सम्भावना कम हुँदै गएपनि यस क्षेत्रमा राजधानी बन्दा नै सबै क्षेत्रका जनतालाई सहज हुने बताउनु भयो ।
राजधानी तोक्न र नाम प्रस्ताव गर्न गठित समितिकी सदस्य चुनकुमारी चौधरीले राजधानी निर्माणका लागि गरिनुपर्ने एक्सरसाइज नै नपुगेको बताउनु भयो । ‘राजधानी बनाउनका लागि मुख्यमन्त्रीज्यु को पहल नै पुगेन’ उहाँले भन्नुभयो, ‘संघीय मन्त्रालयमा कागजात थन्किएको छ भनिन्छ । तर, ति फाइल अगाडि बढाउन पहल गरेको देखिँदैन । मुख्यमन्त्रीज्युले चाहने हो भने ति फाइल अगाडि बढाउन सकिन्छ ।’ उहाँले इच्छाशक्ति र एक्सरसाइज कम भएर राजधानी निर्माणको काम अगाडि बढ्न नसकेको बताउनु भयो ।

प्रदेशसभा सदस्य तुलसी देवकोटाले गोदावरीमा राजधानी बन्नुपर्छ भनेर आफूले निरन्तर आवाज उठाइरहेको बताउनु भयो । उहाँले राजधानी तोकिएकै ठाउँमा बन्नुपर्नेमा आफू प्रतिवद्ध रहेको बताउनु भयो । ‘यस क्षेत्रमा निर्वाचन लड्दा पनि सुदूरपश्चिमको राजधानी घोषणा भएकै ठाउँमा बन्नुपर्छ भनेर बोलेका हौ’ उहाँले भन्नुभयो, ‘अहिले पनि हामी सदनमा यो विषय उठाएका छौ । अझै पनि यो आवाज निरन्तर उठाइरहने छौ ।’ उहाँले नेताहरूले अझै पनि राजधानीका बारेमा स्पष्ट बोल्न नसक्दा केही ढिलाई हुन गएको बताउनु भयो ।

नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताउनु भयो । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने भन्दै दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै पूूर्व उद्योगमन्त्री समेत रहेका भट्टले राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताउनु भयो ।

मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत भट्टको थियो। ‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो । यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भन्नुभयो, ‘उहाँ हिजोको संसदले पारित गरेको निर्णयको विपरीत बोल्नुभएको छ। कांग्रेसको आफ्नो चरित्र देखाउनु भएको छ ।’ भट्टले अहिलेको सरकार र संसद अघिल्लोकै निरन्तरता भएकाले यसअघि भएका निर्णयको अपनत्व लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।
प्रतिनिधिसभा निर्वाचनका बेला आफ्ना प्रतिस्पर्धी रहेका प्रतिनिधिसभा सदस्य बिरबहादुर बलायरले ६ महिनाभित्र राजधानी निर्माण गर्छु भनेर मतदातालाई आश्वासन दिएपनि अहिले आफूले बोलेको कुरा र जनताको चाहाना विपरीत गएको आरोप समेत उहाँले लगाउनु भयो ।

सबैतिर जनता र जनघनत्व बढी हुुन्छ त्यस क्षेत्रलाई नै राजधानी बनाउने अभ्यास रहेको पनि उहाँको भनाइ थियो। तत्कालीन अवस्थामा आफू पनि संघीय सरकारमा प्रतिनिधित्व गर्ने समयमा प्रदेश सरकारले समयमै जग्गाको भोगाधिकारको प्रक्रिया अघि नबढाउँदा काम गर्न नसकिएको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?