सोह्रश्राद्ध कृष्णपक्षमा नै मनाउनुको मूल उद्देश्य ….?

डा. नारायणप्रसाद निरौला
Read Time = 15 mins

आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्मका दिनहरूलाई पितृपक्ष भनिन्छ । पितृको पर्व विशेष भएकाले यो समयमा पार्वण श्राद्ध गरिन्छ । सोह्रवटा तिथिका श्राद्ध गरिने भएकाले यो समयलाई सोह्रश्राद्धका नामले पनि सम्बोधन गरिन्छ । हाम्रा हरेक उत्सवका पर्वहरू पितृको पूजापश्चात् हुने गर्दछन् । दशैँ-तिहार चाड मनाउनुपूर्व पितृलाई श्रद्धाभाव व्यक्त गर्नुपर्दछ । विशेषगरी पितृप्रति श्रद्धा भाव व्यक्त गर्दा कृष्णपक्ष, कृष्णपक्षमा पनि औँसी तिथिलाई विशेष रूपमा लिइन्छ । कृष्णपक्षलाई नै पितृका निम्ति विशेष रूपमा लिनुको पनि विशेष कारण पाइन्छ ।

एक चान्द्रमहिनामा दुई पक्ष हुन्छन् : कृष्ण र शुक्लपक्ष । कृष्णपक्षको अर्थ अँध्यारो समय र शुक्लपक्षको अर्थ उज्याले समय भन्ने हुन्छ । अर्थात् शुक्लपक्षमा चन्द्रमाको उज्यालो भाग बढ्दै जान्छ र औँसी तिथिका दिन पूर्णत रात अन्धकारमय रहन्छ । आकाशमा चन्द्र्रमाको दर्श गर्न सकिँदैन । यसैले रातमा उज्यालो बढ्ने पक्ष शुक्ल हो भने अँध्यारो बढ्दै जाने पक्षकृष्ण हो । यसरी अँध्यारो पक्षमा किन पितृप्रति श्राद्धा भाव व्यक्त गरिन्छ अर्थात् कृष्णपक्षमा सोह्रश्राद्ध किन गरिएको होला भन्ने प्रश्न पनि जाग्न सक्छ । यसका लागि पितृ को हुन् ? काहाँ बस्छन् ? यसका साथै पितृलोकको व्यवस्था के कस्तो छ भन्ने जान्नु आवश्यक हुन्छ ।

जसरी हामी प्रात उठेर नित्यकर्म सकी भोजन ग्रहण गर्दछौँ त्यसैगरी पितृ पनि उठेर दिनभरिका कार्य गर्ने समय भनेको कृष्णपक्ष हो । अर्थात् हाम्रो कृष्णपक्षका १५ दिन पितृका निम्ति एक दिन (सूर्योदयदेखि सूर्यास्तसम्म) हुने गर्दछ । 

शास्त्रमा पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भागमा बताइएको छ । हामीले देखिने चन्द्रमाको बिम्ब लगभग आधामात्र हो । आधा भाग माथिपट्टि हुन्छ । यसैले चन्द्रलोक (पितृलोकमा) मा हाम्रा १५ दिन सूर्य देखिन्छन् र हाम्रा १५ दिन सूर्य अस्त हुन्छन् । हाम्रो एक महिना बराबर पितृलोकमा एक अहोरात्र (दिनरात) हुन्छ । हाम्रो कृष्ण पक्ष हुँदा दिन र शुक्लपक्ष हुँदा पितृलोकमा रात पर्ने गर्दछ । जसरी हामी प्रात उठेर नित्यकर्म सकी भोजन ग्रहण गर्दछौँ त्यसैगरी पितृ पनि उठेर दिनभरिका कार्य गर्ने समय भनेको कृष्णपक्ष हो । अर्थात् हाम्रो कृष्णपक्षका १५ दिन पितृका निम्ति एक दिन (सूर्योदयदेखि सूर्यास्तसम्म) हुने गर्दछ ।

पितृको १२ घण्टा बित्दा हम्रा १५ दिन व्यतीत हुने गर्दछन् । यसैले कृष्णपक्षमा पितृप्रति श्रद्धाभाव उत्तम रहने शास्त्रको निर्णय भएको हो । पर्वअन्तर्गतको कृष्णपक्ष भएकाले सोह्रश्राद्धका दिन पनि कृष्णपक्षमा रहेका हुन् । ‘नभस्यापरे पक्षे यत्र कन्यां व्रजेद्रविः । स महालयसंज्ञः स्याद् गजच्छायाहृवयस्तथा ।।’ (आख्यान चन्द्रिका) अर्थात् आश्विन कृष्णपक्षलाई महालय भनिन्छ । यस अवसरमा महालय (पार्व वा सोह्रश्राद्ध) श्राद्ध गर्ने वैदिक विधान छ ।

पितृ भनेका को हुन् ?
‘पा रक्षणे’ धातुमा ‘तृच्’ प्रत्यय (पा+तृच्=पितृ) लागेर पिता शब्दको निर्माण हुन्छ । जसको अर्थ रक्षा गर्ने वाला रक्षक वा संरक्षक भन्ने हुन्छ । वंशका रक्षक नै पितृ हुन् । ‘वसुरुद्रादितिसुताः पितरः श्राद्धदेवताः ।’ (याज्ञवल्क्यस्मृति) अर्थात् वसु, रुद्र र आदित्य स्वरूप भएका बुबादि खाल र मावली हजुरबुबादि खाललाई श्राद्धका देवता पितृ भनेर मानिएको छ । हामी पितृकै अंश रूप हौँ । पितृबीज नै हामी भएकाले पनि पितृप्रतिको हाम्रो सम्बन्ध बीजकीय रूपमा अन्तर्भाव रहेको हुन्छ ।

जव देहान्त्य हुन्छ त्यसपछि प्राणवायुले यो शरीरलाई त्याग्दछ । देहान्त्यसँगै शरीर पृथ्वी, जल, तेज, वायु र आकाशमा मिल्छ अथवा मिलाउनु पर्दछ दाह संस्कारादि कार्य गरिन्छ । स्मृति चेत पनि नासिएर जान्छ । केवल कर्मअनुसारको आत्मा रूपमात्र रहन्छ । जब औध्वदेहिक कर्म गरिन्छ अनि उक्त आत्माले एक हातबरावरको सूक्ष्म शरीर प्राप्त गरी पितृलोकको यात्रामा अगाडि बढ्छन् । विदेहात्मा वर्षदिनसम्म यात्रा गरेर पितृलोकमा पुग्नछन् । वार्षिक कर्मको फलस्वरूप एक हातको सूक्ष्म शरीरलाई त्याग गरी उक्त आत्माले वायुरूप एक अंगुलको अर्को शरीर प्राप्त गरेर मनुष्यपितृका रूपमा रही आर्जन गरेको कर्मको फल भोग गर्छन् भनेर यसरी बताइएको छ :
‘ततः संवत्सरस्यान्ते प्रत्यासन्ने यमालये । बहुभीतिपुरे गत्वा हस्तमात्रं समुत्सृजेत् ।
अङ्गुष्ठमात्रो वायुश्च कर्मभोगाय खेचरः ।।’ (गरुडपुरण, सारोद्धार, २।८२–८३)
अर्थात् पुत्रादिले प्रदान गरेका वस्तु प्राप्त गरी तृप्त भई पितृको लोकमा कर्मभोग अनुसार पितृ विचरण गर्दछन् । यसरी विचरण गर्ने पितृलाई हाम्रा अँखाले देख्न सक्दैनन् । अर्थात् ती पितृको सूक्ष्म वायुरूपी शरीर रहने भएकाले पनि यी हाम्रा चर्मचक्षुले देख्न नसकेका हुन् ।

पितृलोकको व्यवस्था :
यसरी चन्द्रलोकको माथिल्लो भागमा रहने पितृका दुई श्रेणी पाइन्छन् : १. दिव्य पितर २. मनुष्य पितर । दिव्य पितृ त्यो समूहको नाम हो जसले मनुष्यको कर्म अनुसार देहान्त्यपश्चात् के गति हुन्छ यसको निर्णय गर्दछन् । दिव्यपितृ एक न्याय परिषद् जस्तै हो । यसका न्यायाधीश यमराज हुन् । कव्यवाडनल, सोम, अर्यमा र यम यी चार दिव्यपितृका मुख्य गण हुन् । अर्यमालाई पितृका प्रधान मानिन्छ भने यमराजलाई न्यायाधीश ।

चन्द्रमाको पृष्ठभागमा रहनेवाला पितृगण १५ दिन सूर्यलाई दर्शन गर्दछन् अर्थात् चन्द्रमाको पृष्ठमा १५ दिनको दिन तथा १५ दिनको रात हुन्छ । तर, भूपृष्ठवासीले आआफ्ना दिनमान अनुसार सूर्यको अवलोकन गर्छन् । यसैले हरेक औँसीमा पितृप्रति श्रद्धा-भक्तिभाव व्यक्त गर्नू भनिएको हो ।

यी चार दिव्यपितृका अलावा प्रत्येक वर्गबाट सुनुवाई गर्नेवाला प्रतिनिधि देवता विशेष रहन्छन् । जस्तो कि अग्निष्वाता देवताका प्रतिनिधि, सोमपा साध्यका प्रतिनिधि, बर्हिषद गन्धर्व, राक्षस, किन्नर, सुपर्ण तथा यक्षका प्रतिनिधि हुन् । अर्यमालाई पितृका देवता मानिन्छ । पितृको कुल परम्पराको लेखा जोखा एवं व्यवस्थापन अर्यमाद्वारा हुने गर्दछ । को कुन कुलको भन्ने सम्पूर्ण वृत्तान्त अर्यमाले राख्दछन् । उनको निवासस्थान उत्तराफाल्गुनी नक्षत्र लोक भनेर बताइएको छ । यसरी सम्पूर्ण गणको समूहलाई पितर भनिएको छ ।
पितृलोक चन्द्रमाको माथिल्लो भागमा अवस्थित छ ।
विधूध्र्वभागे पितरोवसन्तः स्वाधः सुधादीधितमामनन्ति ।
पश्यन्ति तेद्रर्कं निजमस्तकोध्र्वे दर्शे यतोद्रस्माद्द्युदलं तदैषाम् ।। भार्धान्तरत्वान्न विधोरधःस्थं तस्मान्निशीथः खलु पौर्णमास्याम् ।
कृष्णे रविः पक्षदलेद्रभ्युदेति शुक्लेद्रस्तमेत्यर्थत एव सिद्धम् ।। (सिद्धान्तशिरोमणि, गोलाध्यायः, त्रिप्रश्नवासना, श्लो.१३–१४)अर्थात् चन्द्रमाको माथिल्लो भागमा पितृगणको निवासस्थान रहेको छ । त्यहाँ रहेका पितृले आफ्नो शिरमाथि पृथ्वीलाई देख्दछन् जसरी पृथ्वीवासीले चन्द्रमालाई देख्दछन् ।

यसैगरी उक्त स्थानबाट पितृले सूर्यलाई मध्यसमयमा आफ्नो शिरमाथि देख्दछन् जसरी मध्याह्नमा पृथ्वीलोकका हामीले देख्दछौं । पितृलाई औँसीमा झलमल्ल दिन हुन्छ भने पूर्णिममा पूर्णतः अन्धकारमयी रात । पितृपक्ष कृष्णपक्षमै रहनुको कारण पनि यही नै हो । पृथ्वीवासीलाई कृृष्णपक्ष हुँदा पितृनिवासस्थान (चन्द्रमाको माथिल्लो भाग) मा झलमल्ल दिन हुन्छ । हाम्रो शुुक्लपक्षमा पितृहरूको रात हुन्छ । जब कृष्ण पक्ष लाग्छ अनि पितृहरू जागा हुन्छन् र पृथ्वीवासीले अर्पण गरेका तोय(जल) पिण्डादि वस्तु प्राप्त प्राप्त गरी तृप्त हुन्छन् ।

ज्योतिषको सर्वप्राचीन ग्रन्थ सूर्यसिद्धान्तमा पितृ अहोरात्रको व्यवस्था यसरी उल्लेख गरिएको छ ः ‘त्रिंशता तिथिभिर्मासचन्द्रः पित्र्यमहः स्मृतम् । निशा च मासपक्षान्तौ तयोर्मध्ये विभागतः ।।’ (सूर्यसिद्धान्त, १४।१४) अर्थात् ३० तिथिको एक चान्द्रमास हुन्छ । यही एक महिना पितृको एक अहोरात्र (दिनरात) हुन्छ । पितृका निम्ति मासान्त अर्थात् औँसीमा मध्यदिन र पूर्णिमामा मध्यरात्रि हुन्छ । यसैगरी पितृको दिनरात्रि व्यवस्थाका बारेमा पनि सूर्य सिद्धान्तमा यसरी उल्लेख गरिएको छ : ‘पितरः शशिगः पक्षं स्वदिनं च नरा भुवि ।।’ (सूर्यसिद्धान्त, १४।७४) अर्थात् चन्द्रमाको पृष्ठभागमा रहनेवाला पितृगण १५ दिन सूर्यलाई दर्शन गर्दछन् अर्थात् चन्द्रमाको पृष्ठमा १५ दिनको दिन तथा १५ दिनको रात हुन्छ । तर, भूपृष्ठवासीले आआफ्ना दिनमान अनुसार सूर्यको अवलोकन गर्छन् ।

यसैले हरेक औँसीमा पितृप्रति श्रद्धाभभक्तिभाव व्यक्त गर्नू भनिएको हो । हरेक औँसीमा सिदा दानादि कार्य गर्नुको तात्पर्य पनि यही नै हो । पितृको भोजन गर्ने समयमा जल पिण्ड दान गर्‍यौँ भने पितृ तृप्त (खुशी) हु्न्छन् । पितृखुशी भए सन्ततिलाई आशीर्वाद दिन्छन् । यसरी श्रद्धापूर्वक पितृको अर्चना गर्नाले हामीमा तेजको वृद्धि हुन्छ । हामी शक्ति सम्पन्न हुन्छौ । हामी सबैलको कल्यण हुन्छ । सोह्रश्राद्ध गर्नुको पनि यही नै तात्पर्य हो । आश्विन कृष्णपक्षमा पितृगण यो लोकमा विचरण गर्ने भएकाले तोय पिण्ड दान गर्नुपर्ने वैदिक मान्यता छ । पितृले भोजन गर्ने समय भनेको कृष्णपक्ष हो ।

पर्व विशेषमा पितृलाई सर्वप्रथम श्रद्धा भाव व्यक्त गर्नुपर्दछ । यसैले यो समयको श्राद्धलाई पार्वण पनि भनिन्छ । जसरी हामी रातमा आराम गर्दछौँ त्यसैगरी पितृलोकमा पितृ पनि रातको समयमा विश्रम गर्ने गर्दछन् । पितृको जागा रहने समय कृष्णपक्ष हो । यसैले पितृ जागा रहेको समय (कृष्णपक्ष) मा अर्पण गरिएका वस्तु पितृलाई तृप्तिदायी हुन्छन् । यसैले कृष्णपक्षमा सोह्रश्राद्ध गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?