विश्व सांस्कृतिक उत्सवमा नेपालको सहभागिता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिकाको वासिंगटन डिसीस्थित मेट्रो एरियामा सेप्टेम्बर २९ देखि सुरु भएको विश्व सांस्कृतिक उत्सव २०२३ मा एक सय ८० राष्ट्रबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिसम्बन्धी प्रस्तुति गर्दैछन् । संसारभरका विभिन्न संस्कृतिलाई एकै ठाउँमा ल्याई एकै सूत्रमा बाँध्ने जमर्को आर्ट अफ लिभिङका संस्थापक तथा आध्यात्मिक गुरु रविशंकरले गर्नुभएको हो ।

हालसम्म पाँच लाखभन्दा बढी सहभागीले कार्यक्रममा सरिक भई संसारभर छरिएका सांस्कृतिक विविधताको महत्वमाथि ऐक्यबद्धता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न राष्ट्रले आफ्नो देशको भेषभूषा, नृत्य, संगीत तथा परिकारको प्रस्तुति दिनेछन् । विश्वभरका एक सय ८० राष्ट्रबाट १७ हजार कलाकारका ६१ नृत्य प्रस्तुत हुँदैछन् ।

आयोजकका अनुसार नेपालबाट विभिन्न समुदायका सात मौलिक नृत्यका लागि १३ देखि ६० वर्षसम्मका एक सय ५० कलाकार सहभागी भएका छन् । नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेशबहादुर प्रधान तथा निभा माथेमा प्रधानले गर्नुभएको छ । प्रधान दम्पती आर्ट अफ लिभिङको सक्रिय आजीवन सदस्यका साथै दया फाउण्डेसनमा पनि आबद्ध हुनुहुन्छ । नेपालको ‘विश्व सांस्कृतिक उत्सव २०२३’ मा सहभागिता नेपाललाई विश्वमा चिनाउन सहयोगी हुने दया फाउण्डेसनका संस्थापक सदस्य राजेशबहादुर प्रधानले बताउनुभयो ।

कार्यक्रमलाई संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन र नेपालका सांसद तथा उद्योगी विनोद चौधरीले सम्बोधन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?