गाउँदा गाउँदै र अभियन गर्दै अस्ताए रकस्टार रोबिन

Read Time = 3 mins

काठमाडौं । नेपाली चर्चित रकगायक तथा अभिनेता रोविन तामाङको लाइभ स्वर हामीमाझ गुञ्जिने छैन र उहाँको अब अभिनय देख्न पाइने छैन । मंगलबार राति आफ्ना सबै फ्यान र आफन्त साथै शुभचिन्तकलाई स्तब्ध पार्दै सदाका लागि बिदा हुनुभएको छ । लाइभ प्रस्तुति दिएर नेपाली सांगीतिक क्षेत्र आफूलाई स्थापित गर्नुभएका उहाँ अब कुनै स्टेजमा देखिनुहुने छैन ।

लाइभ प्रस्तुति गर्दै रक गाउँदै गरेको भेटिनुहुने छैन । उहाँलाई सम्झाइरहने गीत हामीबीच छाडेर जानुभएको छ । मंगलबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उहाँको निधन भएको हो । रोविन घरको कोठाभित्र मृत भेटिनुभएको थियो ।
रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको हो । उहाँका बुबा बेलायती सैनिक हुनुहुन्थ्यो । बुबाको जागिरसँगै रोबिनको बाल्यकाल कहिले सिंगापुर, कहिले हङकङ, कहिले बु्रनाई त कहिले बेलायतमा बित्यो । उहाँ कुशल खेलाडी पनि हुनुहुन्थ्यो । किक बक्सिङ र फुटबललगायतमा विशेष रुचि थियो ।

रोविनले थुप्रै चर्चित गीत गाउनुका साथै चलचित्रमा समेत अभिनय गर्नुभएको छ । उहाँ पछिल्लो समय चलचित्र ‘छड्के’मा देखिनुभएको थियो । उहाँका ‘चिसो चिसो हावामा’ ‘जति माया लाए पनि’ ‘भुलमा भुलियो’ लगायत गीत चर्चित छन् । चलचित्र ‘छड्के’ बाहेक उहाँले ‘मुखौटा’, ‘जय परशुराम’, ‘चिसो एस्ट्रे’लगायत चलचित्रमा अभिनय गर्नुभएको छ । रक गायकका रूपमा उहाँका सिनियरदेखि पछिल्लो पुस्तासमेत फ्यान छन् ।

उहाँको अन्त्येष्टि छोरी फ्रान्सबाट आएपछि मात्रै गरिने भएको छ । परिवारका अनुसार छोरी आएपछि रोविनको स्वायम्भूनाथ परिसरमा अन्त्येष्टि तयारी भएको छ । उहाँको निधनमा शुभचिन्तक, संगीतकर्मी, अभिनेता, फ्यानदेखि विभिन्न व्यक्तित्वले श्रद्धासुमन व्यक्त गरिरहेका छन् । नेपाली कांग्रेसले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै श्रद्धासुमन अर्पण गरेको छ । उहाँको निधनबाट नेपाली ‘रक-पप’ संगीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?